भक्तपुरमा पर्यटक आगमनबाट ९ महिनामा १३ करोड राजस्व संकलन

हिमाल प्रेस ९ वैशाख २०८० २०:४०
2
SHARE
भक्तपुरमा पर्यटक आगमनबाट ९ महिनामा १३ करोड राजस्व संकलन

भक्तपुर- कोरोना भाइरस संक्रमणको महामारीपछि सुस्ताएको पर्यटकको आगमन पछिल्लो समय बढ्न थालेको छ। पछिल्लो एक वर्षमा भक्तपुर आउने पर्यटकको संख्या बढेपछि पर्यटन व्यवसायमा आशा पलाएको छ।

भक्तपुर नगरपालिका क्षेत्रमा ऐतिहासिक सम्पदाको अवलोकनका लागि मात्र चालु आर्थिक वर्ष २०७९/८० को ९ महिनामा एक लाख १६ हजार ८ सय १२ विदेशी पर्यटक आएका छन्। साउनदेखि चैतसम्म भक्तपुर अवलोकनमा आउने पर्यटक बढ्दै गएको र सो अवधिमा १ लाखभन्दा बढी पर्यटक आएपछि पर्यटन व्यवसायमा आशा पलाएको भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले बताए। ‘चालु आवको चैतसम्म भक्तपुरमा ६७ हजार ७ सय जना गैरसार्क राष्ट्रका र ४९ हजार १ सय १२ जना चीनसहितका सार्क राष्ट्रका पर्यटकको आगमन भएको छ,’ उनले भने।

गत आव २०७८/७९ को सोही अवधिमा भक्तपुर नगर क्षेत्रका सम्पदाको आवलोकनका लागि सार्क राष्ट्रबाहेकका देशबाट ११ हजार ४ सय ४० र सार्क राष्ट्र तथा चीनबाट ११ हजार ७ सय २७ गरी कुल २३ हजार १ सय ६७ पर्यटकको आगमन भएको थियो।

गत आवको समीक्षा अवधिको तुलनामा चालु आवको सोही अवधिमा गैरसार्क राष्ट्रबाट ५६ हजार २ सय ६० र चीनसहितका सार्क राष्ट्रबाट ३७ हजार ३ सय ८५ गरी कुल ९३ हजार ६ सय ४५ पर्यटकको आगमन भएको छ। यस अवधिमा भक्तपुर नगरपालिकाले गत वर्षको ९ महिनामा भन्दा ११ करोड १४ लाख ३१ हजार ५ सय रुपैयाँ बढी पर्यटन शुल्क संकलन गरेको छ।

गत आव २०७८/७९ को साउनदेखि चैतसम्म नगरपालिकाले कुल दुई करोड ३० लाख २३ हजार ५ सय पर्यटन शुल्क संकलन गरेकामा चालु आवको ९ महिनामा नगरपालिकाले गैरसार्कका पर्यटकबाट १० करोड ९८ लाख ९९ हजार रुपैयाँ र सार्क राष्ट्र तथा चीनका पर्यटकबाट २ करोड ४५ लाख ५६ हजार रुपैयाँ गरी कुल १३ करोड ४४ लाख ५५ हजार रुपैयाँ पर्यटन शुल्क संकलन गरेको छ।

भक्तपुर नगरमा हाल दैनिक ५ देखि ६ सयको हाराहारीमा विदेशी पर्यटक आउने गरेका छन्। भक्तपुर घुम्न प्रायः भारत, चीन, अमेरिका, जापान, कोरिया र युरोपेली मुलुकका पर्यटक आउने गरेका छन्।

भक्तपुर अहिले आन्तरिक र बाह्य पर्यटकको आकर्षणको केन्द्र भएको छ। पर्यटकको चहलपहल बढेसँगै यहाँका विभिन्न पेसा व्यवसायीमा पनि आर्थिक गतिविधि बढ्न थालेको छ । रासस

प्रकाशित: ९ वैशाख २०८० २०:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + thirteen =