फुर्सदिला प्रचण्ड भारत जान उत्साहित, मोदीको व्यस्तताले तिथि भेट्नै कठिन

हिमाल प्रेस ९ वैशाख २०८० २०:२७
70
SHARES
फुर्सदिला प्रचण्ड भारत जान उत्साहित, मोदीको व्यस्तताले तिथि भेट्नै कठिन

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण वैशाख अन्तिममा मात्र सम्भव हुने जानकारी भारतीय पक्षले दिएको छ। उनी वैशाख ३१ वा जेठ १ गते भारत जान सक्ने गरी गृहकार्य भइरहेको काठमाडौँस्थत भारतीय दूतावासका एक अधिकारीले दिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको वैशाख अन्तिमदेखि जेठ सुरुका दिनमा मात्र फुर्सद मिल्ने जानकारी नेपाली पक्षलाई गराइएको छ।

पुस १० गते प्रधानमन्त्रीमा नियुक्त प्रचण्डले भारत भ्रमण गर्ने चर्चा हुन थालेको तीन महिना बितिसकेको छ। तर अझैसम्म भ्रमणको टुंगो नलागेकाे छैन। भारत भ्रमणका लागि नेपाली पक्षको तीव्र  आका‌ंक्षा रहे पनि  भारतीय पक्ष पर्ख र हेरको नीतिमा रहेको ती अधिकारीले बताए। प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणकै लागि भनेर पररराष्ट्रमन्त्री मात्र नियुक्ति गराएर भए पनि प्रक्रिया अघि बढाएका छन्।

पछिल्लो समय भारतका प्रधानमन्त्री मोदी र विदेशमन्त्री एस जयशंकर निकै व्यस्त छन्। उनीहरूको व्यस्तताकै बीचमा नेपालका तर्फबाट हुने भ्रमणको तय गर्न लागिएको हो।

प्रधानमन्त्री भएपछि दाहालले आफ्नो विदेश भ्रमण भारतबाटै हुने भनिसकेकाले उनी भारतलाई अविश्वास गर्दै अन्य मुलुक जान पनि सकेका छैनन्। उनी प्रधानमन्त्री बनेको चार महिना भइसकेको छ। यसबीचमा न मन्त्रिपरिषद्ले पूर्णता पाएको छ, न त विदेश भ्रमणको तयारी। भारतका कारण उनी अन्य मुलुकsf भ्रमणमा पनि जान पाएका छैनन्। भारतपछि बेलायत भ्रमणमा जाने योजना प्रचण्डको छ।

यति बेला भारतको कर्नाटक राज्यमा वैशाख २७ मा विधानसभा चुनाव हुँदैछ। सोही निर्वाचनका कारण मोदी व्यस्त छन्। मोदीको व्यस्ताले समय मिलाउन कठिन भएको जानकारी दिल्लीस्थित नेपाली दूतावासले सरकारलाई गराको छ। विदेशमन्त्री जयशंकर भने अमेरिका भ्रमणमा छन्। ल्याटिन अमेरिकी मुलुकमा व्यापक भेटघाटको कार्यतालिका बनाएर उनी त्यसतर्फ गएका हुन्।

जयशंकर वैशाख तेस्रो साता अर्थात् १९ गते मात्र नयाँदिल्ली फर्कने कार्यक्रम छ। दुई दिनपछि उनी गोवामा हुने संघाई सहयोग संगठनको विदेशमन्त्रीहरूको बैठकमा सहभागी हुनेछन्। अनि उनी पनि कर्नाटकको चुनावमा व्यस्त रहने बताइएको छ।

कर्नाटकमा कांग्रेस आईको प्रभुत्व बढेकाले मोदीले त्यहाँको निर्वाचनलाई निकै महत्त्व दिएका छन्। अहिले त्यहाँ भारतीय जनता पार्टी ‘बीजेपी’को सरकार छ। बीजेपी निर्वाचनमा चुके त्यहाँ कांग्रेस अघि बढ्नेछ। निर्वाचनअघि मोदी एक दिन पनि कर्नाटक नछोड्ने पक्षमा रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

भारतका प्रधानमन्त्री र विदेशमन्त्रीको कार्यव्यस्ततालाई मिलाएर मात्रै नेपालका तर्फबाट भ्रमण हुने चलन छ। यसबारे  भारतीय दूतावासले सरकारलाई स्पष्ट पारिसकेको छ।

‘प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्न भारत तयार छ। तर तिथि तय गर्ने सन्दर्भमा हामीले दुवैतर्फको कार्यव्यस्ततालाई ख्याल गरेर तयारी गर्ने छौँ,’ दूतावास स्रोतले भन्यो।

उपनिर्वाचनपछि सरकारलाई पूर्णता दिएर प्रचण्ड भारत जाने मुडमा छन्। यसअघि उनले नयाँ वर्षमा नै भारत भ्रमणमा जान खोजेका थिए। तर उनको त्यो भ्रमणको तालिका नै मिलेन।

उनले भारत जाने पहिला भनेको कारण चीन भ्रमण त्यागे। बेलायतका राजा चार्ल्सकाे अभिषेकमा पनि जान पाएनन्। उनले कतार भ्रमण पनि छोडेका थिए। तर अझै भारत भ्रमण टुंगो नलाग्दा र गठबन्धन दलहरूको सरकारले पूर्णता नपाउनुले पनि उनी निराश देखिएका छन्।

प्रचण्डले राष्ट्रपति निर्वाचनमा खेल्ने भूमिकालाई भारतले हेर्न खोजेको थियो। त्यो समयमा भारतीय विदेशसचिव विनयमोहन क्वात्राले नेपाल भ्रमण पनि गरे। राष्ट्रपतिको निर्वाचनलगत्तै प्रचण्डको भारत भ्रमण हुने छनक देखिएको थियो। तिथि तय नभए पनि प्रधानमन्त्री भारत भ्रमणमा उत्साहित देखिएको उनी निकट एक नेताले बताए।

यो पनि:

चैतभित्रै भारत भ्रमणमा जान्छु : प्रचण्ड

प्रकाशित: ९ वैशाख २०८० २०:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − eight =