अर्गानिक कथा भन्ने प्रयासमा ‘जारी’

ललित मगर ९ वैशाख २०८० ८:४७
200
SHARES
अर्गानिक कथा भन्ने प्रयासमा ‘जारी’

भनिन्छ, ‘एउटा राम्रो सिनेमा हेर्नु भनेको विश्वविद्यालयमा पढ्नुजस्तै हो।’ यही सोचका साथ नेपाली कथानक चलचित्र जारी हेर्न गइयो। त्यसमाथि लिम्बू संस्कार, परम्परा, रीतिरिवाज, चालचलन, उनीहरूको विश्वासपद्धति, रहनसहनलाई नजिकैबाट बुझ्ने, अनुभव गर्ने, दृश्यावलोकन गर्ने कुराले मनमा बेग्लै खालको उत्साह थियो।

‘जारी’ भन्नासाथ केही नभए पनि अहिलेको पुस्ताले कम्तीमा हाम्रो समुदायमा ‘डिभोर्स’को पुरानो संस्करण भन्ने थाहा पायो। यूकेमा हुर्किएकी नायिका मिरुना मगरलाई लिम्बू संस्कृति, जारी र नेपाली परिवेशबारे त्यति थाहा थिएन।

फिल्ममा भने उनकोे मेहनत देखिएको छ। अहिलेसम्मकै उत्कृष्ट अभिनय गरेकी छन्। उसो त यस सिनेमामा नयाँ-पुराना सबै कलाकारको अभिनय दमदार छ। तर अझै पनि कताकता दयाहाङ राई ‘कबड्डी कबड्डी’का ‘काजी’को धङधङीबाट बाहिर आइसकेका छैनन्।

अभिनेता विजय बराल किन बाहुनजस्तो देखिन्छन् भन्ने कुरा उनको ब्याक स्टोरीले बताउँछ। तर मिरुनाको बुबा सुन दन्ते बूढा पनि आर्यन अनुहारकै जस्तो देखिन्छन्। त्यसमाथि सुन दन्ते बूढाले विजयलाई ‘नानी त बाहुनजस्तै देखिन्छौ नि!’ भन्दै प्रश्न उठाउनु फिटिक्कै सुहाउँदैन।

‘जारी’ सुन्दर ‘पिरियोडिक’ फिल्म बन्न सक्थ्यो। तर चुक्यो। फिल्ममा देखाइएको समय कहिलेको हो स्पष्ट छैन। विषयवस्तु राम्रो उठान गरे तापनि कथा छरपस्ट छ। यति हुँदाहुँदै पनि एउटा अर्गानिक कथा भन्ने प्रयास आफैँमा उत्कृष्ट हो। सिनेमामा कैद ढिकी कुटेको, घर लिपेको अझ घरमा भएको तेल पेल्ने कोल, चर्खे पिङ, मेलाजात्रा आदि दृश्यले दर्शकलाई ‘नोस्टाल्जिक’ बनाउँछ।

मैले बुझेसम्म जनजाति समुदाय त्यसमाथि विशेषगरी लिम्बू साथीले बताएअनुसार लिम्बू समुदाय भनेको मातृसत्तात्मक हुन्छ। जहाँ महिलालाई अग्राधिकार दिइन्छ। हरेक निर्णयमा महिलाको सक्रिय र बलियो उपस्थिति रहन्छ। यो कुरालाई निर्देशकले किन आफ्नो सिनेमामा महत्त्व दिएनन् होला? त्यति हुँदाहुँदै मिरुनालाई श्रीमान् आफैँ रोज्न पाउने अधिकार दिनुले लिम्बू संस्कारभित्र लोकतान्त्रिक अभ्यास परापूर्वकालदेखि नै थियो भन्ने बुझाउँछ।

सिनेमामा कथा, पात्र, परिवेशको ‘सेटअप’ राम्रोसँग गरिएको छैन। एक्कासि दया र मिरुना ‘बाझी’ भनेको बहानामा झगडा गर्छन्। मिरुना सम्बन्ध तोडेर माइतीघर जान्छिन्। त्यतै मेलामा उनले अर्को केटासँग धान नाच्ने क्रममा वचनमा हार्छिन्। कथा मिरुना र दयाको झगडा वरिपरि घुम्छ जो ‘जारी’सम्म पुग्छ।

फिल्मको विषयवस्तुअनुसार मुख्य पात्र को हो? भन्नेमा निर्देशक अलमलिएका छन्। कथाको सेटअप एकदमै फितलो छ। तर भन्न खोजिएको कुरालाई भने केही हदसम्म राम्रो मान्न सकिन्छ। कथाको सेटअप राम्रो नभएकाले सुरुसुरुमा फिल्मसँग जोडिन नसके पनि बिस्तारै सिनेमाको जादु चल्न थाल्छ। अनि दर्शक फिल्मको कथासँगै बग्दै जान्छ।

मिरुना र उनकी सासूको सम्बन्ध सुरुमा खासै राम्रो नभए पनि पछि कसरी मिल्न गयो भन्ने कुरा स्पष्ट छैन। दया र मिरुनाको बिहे कसरी भयो धाननाच नाचेर मेलामा या मागेर कुन संस्कारमा भयो त्यो पनि स्पष्ट छैन। यी र यस्ता कुरामा ख्याल गरिएको छैन। यसलाई नारीप्रधान फिल्म भन्न सकिँदैन। किनकि फिल्ममा ‘जारी’बाहेक अरू कुनै कुरामा महिला स्वतन्त्रता समावेश छैन।

कविता लेख्नु, कथा लेख्नु, उपन्यास लेख्नु र सिनेमाको लागि कथा, पटकथा लेख्नु नितान्त फरक कुरा हुन्। कथाको विषयवस्तु उठान, लेखन, चरित्रचित्रण राम्रो भए तापनि सिनेमामा लेखिनुपर्ने, भनिनुपर्ने जसरी भनिएको छैन।

सिनेमा अहिलेको भन्दा पनि अझै प्रभावकारी, चाखलाग्दो बन्न सक्थ्यो। लेखक/निर्देशक उपेन्द्र सुब्बाले राम्रो र अर्गानिक विषय उठान गर्न खोजेका छन्। तर लेखन-निर्देशन दुवैमा आफैँले लोभ गर्दा सिनेमा दर्शकको लागि राम्रो बने पनि अन्तर्राष्ट्रिय स्तरको दृश्यभाषा निर्माण गर्नबाट चुकेका छन्।

समग्रमा भन्नुपर्दा सिनेमा हेरुन्जेल रमाइलो छ, पैसा असुल उपर हुन्छ। विषयवस्तु सिनेमाका लागि एकदमै नयाँ छ। नेपाल, यहाँको परिवेश, सांस्कृतिक विविधता बुझ्न एकपटक जारी हेर्न सिफारिस गरियो भने खेर जाने छैन।
(ललित फिल्म एडुकेटर हुन्।)

प्रकाशित: ९ वैशाख २०८० ८:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 7 =