विदेशमा रहेका ५९ हजार श्रमिक सामाजिक सुरक्षामा आबद्ध

हिमाल प्रेस ७ वैशाख २०८० १४:३८
4
SHARES
विदेशमा रहेका ५९ हजार श्रमिक सामाजिक सुरक्षामा आबद्ध

काठमाडौँ- विदेशमा रहेका करिब ५९ हजार श्रमिक सामाजिक सुरक्षा योजनामा आबद्ध भएका छन्। योजना शुभारम्भ भएको एक महिनामै ५८ हजार नौ सय ८६ जना योजनामा आबद्ध भएका हुन्। कोषका सहप्रवक्ता रोहित रेग्मीले मुलुकभित्रै औपचारिक क्षेत्रका करिब चार लाख पाँच हजार उक्त कोषमा आबद्ध छन्।

सरकारले गत चैत ८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा समेट्न थालेको हो। वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत कोषमा आबद्ध गर्दै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने लक्ष्यअनुसार सुरु गरिएको हो।

सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आबद्धता अनिवार्य गरेको छ। विदेश जाने श्रमिकले श्रम स्वीकृति लिने क्रममा सामाजिक सुरक्षा योजनामा आबद्ध हुनुपर्ने व्यवस्था गरिएको छ। त्यस्तै श्रम स्वीकृतिको नवीकरणका क्रममा वैदेशिक रोजगारीमा रहेका श्रमिक पनि कोषमा अनिवार्य दर्ता हुनुपर्छ।

गत चैतमा मात्रै वैदेशिक रोजगारीका लागि ६१ हजार ४ सय ७८ नेपालीले श्रम स्वीकृति लिएका वैदेशिक रोजगार विभागले जानकारी दिएको छ। हाल दैनिक करिब २ हजार जनाले श्रम स्वीकृति लिने गरेका छन्। श्रम स्वीकृति लिनेले कोषमा एक महिनाको योगदान रकम जम्मा गर्नुपर्ने व्यवस्था छ। वैदेशिक क्षेत्रका श्रमिकबाट मात्रै ८ करोड ५० लाख रुपैयाँ भन्दाबढी योगदान रकम संकलन भएको सहप्रवक्ता रेग्मीले जानकारी दिए।

वैदेशिक रोजगारीमा जाने श्रमिकले छ महिनाको योगदान रकम जम्मा गर्दा १० प्रतिशत छुट पाउने कोषले जानकारी दिएको छ। विदेशमा रहेका श्रमिकले कोषको वेबसाइटबाट सूचीकरण गरी योगदान रकम जम्मा गर्न सक्नेछन्। कोषमा नियमित योगदान गर्ने वैदेशिक क्षेत्रका श्रमिकले दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजनाबाट लाभ लिन सक्नेछन्।

स्वीकृत कार्यविधिबमोजिम वैदेशिक रोजगारीमा रहेका वा विदेशमा स्वरोजगार रहेका श्रमिकले कम्तीमा आधारभूत पारिश्रमिकको २१.३३ प्रतिशत रकम अर्थात् न्यूनतम २ हजार मासिक र अधिकतम त्यसको तीन गुणासम्म कोषमा योगदान गरी सुविधामा सहभागी हुन सक्नेछन्। रासस

प्रकाशित: ७ वैशाख २०८० १४:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 11 =