नेपाल प्रहरीमा बजेट अभाव : असारसम्म तलब नपाउने सम्भावना

हिमाल प्रेस ७ वैशाख २०८० १४:३७
13.2k
SHARES
नेपाल प्रहरीमा बजेट अभाव : असारसम्म तलब नपाउने सम्भावना

काठमाडौँ- बजेट अभावका कारण नेपाल प्रहरीको नियमित तलब रोकिने देखिएको छ। आवश्यकताअनुसारको बजेट नआउँदा प्रहरीले वैशाखदेखि असारसम्म (तीन महिना)को तलब नियमित नपाउने देखिएको हो।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी दीपेन्द्र जिसीले चालु आर्थिक वर्षमा बढेको प्रहरीको रकम बराबरको बजेट निकासा नहुँदा तलब नियमिततामा असर पर्ने देखिएको बताए।उनका अनुसार बजेट आइसकेपछि प्रहरीको विभिन्न नयाँ पदहरू कायम भएको र सोहीअनुसार तलब पनि नयाँ मापन भएकोले बजेट अभाव भएको हो।

‘पहिलो त बढेको तलब बराबरको रकम निकासा नहुँदा समस्या भयो,’ उनले हिमालप्रेससँग भने, ‘अर्को कारण बजेट आइसकेपछि नेपाल प्रहरीमा सहायक हवल्दार, वरिष्ठ सई जस्ता धेरै पदहरू पनि थपियो। यहीअनुसार बढुवा पनि भयो। बढुवा भएकाहरूको तलब पनि बढ्यो। यसले गर्दा पनि बजेट अपुग भएको हो।’

प्रहरीका अनुसार वैशाखदेखि असारसम्मको तलब एकैसाथ (वैशाख, जेठ र असार) साउनमा खुवाउने सम्भावना छ। तलब खुवाउन भएको अप्ठ्यारोबारे प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई जानकारी गराइसकेको जिसी बताउँछन्।

‘गृहले पनि अर्थ मन्त्रालयलाई भनिसकेको सूचना पाइएको छ,’ उनले भने, ‘मागअनुसारकै बजेट प्राप्त भए तलब खुवाउन कुनै समस्या देखिँदैन। अहिलेकै अवस्थामा भने समस्या छ।’

अहिले नेपाल प्रहरीमा ७९ हजार ५ सय दरबन्दी छ। तर दरबन्दीअनुसार प्रहरीको संख्या छैन।

अहिले प्रहरीमा ७७ हजारमात्रै कार्यरत छन्। नेपाल प्रहरीमा २१ हजार ४ सय ८० देखि ६६ हजार ८ सय ६० रुपैयाँसम्म तलब खाने प्रहरी छन्। ६६ हजार ८ सय ६० रुपैयाँ तलब आईजीपीको हो।

प्रकाशित: ७ वैशाख २०८० १४:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 2 =