जारीबारे उपेन्द्र सुब्बा भन्छन्- बनाउँदा बनाउँदै के-के बनाएँ थाहा छैन

हिमाल प्रेस ६ वैशाख २०८० १९:५६
42
SHARES
जारीबारे उपेन्द्र सुब्बा भन्छन्- बनाउँदा बनाउँदै के-के बनाएँ थाहा छैन

काठमाडौँ– नेपाली चलचित्र जारी प्रदर्शनमा आएको हप्ता दिन बित्नै लाग्दा चलचित्र निर्माण टिमले पत्रकार सम्मेलन गरेको छ। बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गरेको हो। फिल्मका निर्देशक, कलाकारहरूले जारी प्रर्दशनमा आएपछिका दर्शकसँगका प्रतिक्रियाहरू सुनाएका हुन्। कार्यक्रममा बोल्दै अभिनेता दयाहाङ राईले चलचित्र प्रदर्शनपछि दर्शकहरूबाट राम्रो प्रतिक्रिया पाइरहेको बताए।

लिम्बू संस्कृतिसँग सम्बन्धित चलचित्र भएकाले काम गर्न केही कठिनाइ भए पनि आफू लिम्बू संस्कृतिसँग धेरै नजिक हुँदा सहज लागेको उनको भनाइ छ। अभिनेत्री मिरुना मगरले अन्य चलचित्रमा अभिनय मात्रै हुने भए पनि जारीमा भने पात्रअनुसार भिजेर अभिनय गर्न पाएको बताइन्।

आफूले चलचित्रमा अभिनय गर्दा पात्रको विषयवस्तुलाई महसुस गरेर काम गरेकाले राम्रो प्रतिक्रिया पाइरहेको उनको भनाइ छ। ‘मैले काम गरेका चरित्रमध्ये जारी भिन्न थियो। यसको स्क्रिप्ट पढ्दा नै मैले धेरै नै भिन्न पाएको थिएँ। मलाई स्क्रिप्ट पढ्नेबित्तिकै काम गरेकोजस्तो फिल हुन्छ होला भन्ने लागेको थियो। मैले यो चरित्रमा वास्तविक अभिनय गर्ने प्रयास गरेको छु,’ उनले भनिन्।

निर्देशक उपेन्द्र सुब्बाले नेपाली समाजमा सबैभन्दा स्वतन्त्र रूपमा जीवन जिउने महिलाहरू लिम्बू समुदायमै रहे पनि उनीहरूको स्वतन्त्रता घरका मान्छेले कहाँ गइस् भनेर नसोध्नु मात्रै होइन भन्ने कथावस्तु देखाउन खोजेको बताए।

महिलाहरूले पैतृक सम्पत्ति उपभोग गर्न नपाउन्जेलसम्म अन्य स्वतन्त्रताको अर्थ रहँदैन भन्ने यथार्थलाई चलचित्रमा देखाउन खोजेको उनले जनाए।

‘नेपाली समाजमा खुला समाज भनेको लिम्बूहरूको हो। लिम्बूहरूले नै बढी स्वतन्त्रता उपभोग गरिरहेका छन् भन्ने गरिन्छ। यहाँभित्र महिलाहरूको हक बढी हुन्छ भन्ने कथन छ। यो एक किसिमले स्वीकार्य हो, मलाई यत्तिले मात्रै पुग्दैन भनेर लागेको हो। कहाँ हो छारी कहाँ गइस् भनेर मात्रै स्वतन्त्रता होइन, अरू पनि धेरै कुरा छन् भन्ने लाग्यो। जबसम्म छोरीमा पैतृक सम्पत्तिको हक लाग्दैन तबसम्म अरू स्वतन्त्रता फिक्का रहन्छन् भन्ने सोचेर नै जारी बनाउने सोच निकालेँ। बनाउँदा बनाउँदै के के बनाएँ नै थाहा छैन। हरेक समाजका महिला सबल र सक्षम रहुन् भन्ने चाहन्छु,’ उनले भने।

कविसमेत रहेका सुब्बा निर्देशित चलचित्रमा अभिनेता राईसँगै मिरुना मगर, विजय बराल, कमलमणि नेपाल, रेखा लिम्बूलगायतले अभिनय गरेका छन्। जारी नयाँ वर्ष ०८० को अवसर पारेर देशभर प्रदर्शनमा आएको हो।

प्रकाशित: ६ वैशाख २०८० १९:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two − one =