कोशीका मुख्यमन्त्री कार्कीको उपलब्धि : ७५० हेक्टर जमिनमा सिँचाइ सुविधा

हिमाल प्रेस ५ वैशाख २०८० १८:३५
4
SHARES
कोशीका मुख्यमन्त्री कार्कीको उपलब्धि : ७५० हेक्टर जमिनमा सिँचाइ सुविधा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा प्रदेश सरकारबाट १०० दिनमा भएगरेका कामबारे जानकारी गराउँदै। तस्बिर : मनोज दाहाल/रासस

इटहरी- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले आफ्नो कार्यकाल सुरु भएपछि १ सय दिनको उपलब्धि सार्वजनिक गरेका छन्। मंगलबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले सय दिनको उपलब्धि सार्वजनिक गरेका हुन्।

कार्कीको उपलब्धिमा मन्त्रालय संख्या १३ बाट घटाएर ९ मा पुर्‍याइनु मुख्य उपलब्धि रहेको छ। त्यस्तै मन्त्रालयहरूको संगठन तथा व्यवस्थापन कार्य सम्पन्न गरिएको, प्रशासनिक खर्चमा मितव्ययिता कायम गर्न तथा सेवा प्रवाह र विकास व्यवस्थापनमा प्रभावकारिता ल्याउन उच्चस्तरीय प्रशासन सुधार कार्यदल गठन भएको पनि उनले आफ्नो उपलब्धिमा राखेका छन्।

प्रदेशको नामकरण भएको लगायतका विषय पनि उनले आफ्नो उपलब्धिमा उल्लेख गरेका छन्। त्यस्तै प्रदेशको नाम कोशी राखिएको, प्रदेश समन्वय परिषद्ले पूर्णता पाएको प्रदेश सरकारको सेवा प्रवाह र विकास व्यवस्थापनसम्बन्धी स्थितिपत्र २०७९ तर्जुमा गरिएको उनको उपलब्धि छ।

त्यस्तै आर्थिक क्षेत्रमा प्रदेशअन्तर्गतका सबै मन्त्रालय, आयोग र सचिवालय कार्यालयहरूको चालू खर्चको २५ प्रतिशत खर्च कटौती गरी स्रोत व्यवस्थापनको प्रयास गरिएको पनि उनको उपलब्धि छ। त्यस्तै प्रदेशको आन्तरिक राजस्व सम्भाव्यता अध्ययन प्रतिवेदन सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्वसम्बन्धी अध्ययन प्रतिवेदन प्राप्त भएकोलगायत विषय उनका उपलब्धि छन्।

सय दिनमा ७५० हेक्टर क्षेत्रफल जमिनमा सिंचाइ सेवा पुर्‍याएको, करिब ६० वटा नदी नियन्त्रण योजनाहरूको निर्माण गरेको उनको उपलब्धिमा उल्लेख छ। त्यस्तै साना सिंचाइ कार्यक्रममार्फत क्रमागत करिब ५० वटा योजना सम्पन्न गरिएका उनले उल्लेख गरेका छन्।

त्यस्तै प्रदेशभरमा १५ वटा खानेपानी आयोजना सम्पन्न गरेको र ३२ वटा आयोजना स्किम सम्पन्न भई प्रदेश भित्रका करिब २५ हजार नागरिकलाई पर्याप्त, सफा र सुरक्षित खानेपानी सुविधा पुर्‍याएको उनको दाबी छ।

प्रकाशित: ५ वैशाख २०८० १८:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − eleven =