बाँकेमा संकटमा परेका ३० वन्यजन्तुको उद्धार

हिमाल प्रेस ५ वैशाख २०८० १३:३२
8
SHARES
बाँकेमा संकटमा परेका ३० वन्यजन्तुको उद्धार उद्धार गरिएको अजिंगर।

बाँके- बाँके डिभिजन वन कार्यालयले चालु आर्थिक वर्षको हालसम्म स‌ंकटमा परेका ३० वन्यजन्तुलाई उद्धार गरेको छ।

आर्थिक वर्ष २०७९/८० को माघकसम्म घाइते, टुहुरा, बाटो बिराएर गाउँबस्ती पुगेका र संकटमा परेका ३० वन्यजन्तुलाई उद्धार गरिएको कार्यालयका योजना अधिकृत गणेश खड्काले बताए। उद्धार गरिएका वन्यजन्तुलाई सुरक्षित स्थानमा छोडिएको उनको भनाइ छ।

योजना अधिकृत गणेश खड्काका अनुसार उद्धार गरिएकामा सबैभन्दा बढी २० सर्पलाई उद्धार गरिएको छ। तीमध्ये १० गोमन सर्प, दुई रसेल भाइपर, एक करेत र एक धामन सर्प छन्।

यस्तै ६ वटा अजिंगरलाई पनि उद्धार गरिएको थियो। ती अजिंगरमध्ये तीनवटा कम्दी वन क्षेत्र, दुई वटा डुडुवाकै हजरत सामुदायिक वन र एउटालाई बाँके राष्ट्रिय निकुञ्जमा छोडिएको थियो।

वन कार्यालयका अनुसार बाँकेको बैजानाथ गाउँपालिकाको टिटिहिरिया, नेपालगञ्ज–१९ को बनियागाउँ, खजुरा र डुडुवा गाउँपालिकाको कम्दीबाट चार गोहीलाई उद्धार गरिएकामा तीन वटालाई बाँकेको राप्ती नदीमा र एउटालाई बबई नदीमा छोडिएको थियो।

उद्धार गरिएको एउटा चितुवाको बच्चाको मृत्यु भएको थियो भने घाइते रातो अमासी बाँदरलाई ढकेरी वन क्षेत्रमा छाडिएको थियो। अन्य वन्यजन्तुलाई बाँके र बर्दियाका सुरक्षित क्षेत्रमा छाडिएको योजना अधिकृत खड्काले बताए। उक्त कार्यालयले अघिल्लो आर्थिक वर्षमा पनि ३० संकटमा परेका वन्यजन्तुलाई उद्धार गरेको थियो।

प्रकाशित: ५ वैशाख २०८० १३:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + twelve =