आलु गाउँमा आलु महोत्सव

हिमाल प्रेस ४ वैशाख २०८० ९:५५
6
SHARES
आलु गाउँमा आलु महोत्सव तस्बिर स्रोत : अनिसा बरालको फेसबुकबाट।

पोखरा- आलु गाउँको नामले परिचित हेमजा आलु महोत्सव पाँच करोड बराबरको कारोबार गर्दै सम्पन्न भएको छ। गत चैत २६ गतेदेखि सुरुआत भएको ११ औँ संस्करणको राष्ट्रिय हेमजा महोत्सवमा ८० टन आलु बिक्री हुँदा पाँच करोडको कारोबार भएको हो।

हेमजाको आलु छिटो पाक्ने, विषादी कम प्रयोग हुने तथा स्वादिष्ट रहेकाले त्यहाँ उत्पादित आलुको माग उच्च हुने गरेको महोत्सवको कृषक परिचालन उपसमितिका संयोजक जयराम तिमिल्सिनाले जानकारी दिए। आइतबार सम्पन्न महोत्सव समापन समारोहमा कृषक सम्मान, कृषक परिचयपत्र वितरण, कृषि एम्बुलेन्स प्रदर्शनीलगायत विभिन्न पुरस्कार वितरण गरिएको छ।

पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाको समन्वयमा विभिन्न वडाका उत्कृष्ट २४ किसानलाई सम्मानपत्रसहित नगदले सम्मान गरिएको हो। त्यस्तै हेमजाका किसान देवीरमण पौडेल, अमृत पौडेल, वीरबहादुर कार्की, सुनिता श्रेष्ठ, शीलशोभा नेपाली र निरज तिमिल्सिना साथै शिक्षासेवीद्वय चर्तुरमान श्रेष्ठ र टासी फुनचोक पनि सम्मानित भए। त्यस्तै सो अवसरमा शाखाले किसान परिचयपत्र पनि वितरण गरिएको थियो।

सो अवसरमा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले क्लबले सराहनीय कार्य गरेको चर्चा गर्दै आगामी वर्षदेखि आलु महोत्सवलाई रातो किताबमा नै व्यवस्था गरी रकम विनियोजन गर्ने प्रतिबद्धता जनाए।

पोखरा–२५ हेमजाका वडाध्यक्ष एवं महानगरपालिकाका प्रवक्ता मोतिलाल तिम्सिनाले आलु महोत्सवको चर्चा देश विदेशमा हुने गरेकोमा खुसी व्यक्त गर्दै योसँगै हेमजाको इज्जत बढेको स्पष्ट पारे।

कृषि अनुसन्धान निर्देशनालय लुम्लेका निर्देशक डा. कालिकाप्रसाद उपाध्यायले हेमजामा लगाइने एमएस् ४२ जातको आलु उन्मोचनमा निर्देशनालयको भूमिका महत्त्वपूर्ण रहेको स्मरण गर्दै आलु उत्पादन गर्ने क्षेत्र घट्दै जानु दुःखद् भएको औँल्याए।

महोत्सवमा आलु ८० टन बिक्री भएको छ। हेमजाको आलु छिटो पाक्ने, विषादी कम प्रयोग हुने तथा स्वादिष्ट रहेकाले त्यहाँ उत्पादित आलुको माग उच्च हुने गरेको कृषक परिचालन उपसमितिका संयोजक जयराम तिमिल्सिनाले जानकारी दिए।

महोत्सवअन्तर्गत आलु तथा ताजा तरकारीको बृहत् प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन तथा प्रशिक्षण, माटो, बोट बिरुवाको परीक्षण तथा रोगको निदान, कृषिसम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, विभिन्न कृषिउपज, बीउविजन तथा अन्य कृषियन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कारलगायतका कार्यक्रम गरिएको हो।

मूल समारोह समितिका अध्यक्ष सुविन श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सांस्कृतिक उपसमिति संयोजक दानबहादुर थापाले स्वागत तथा महासचिव वसन्तकुमार श्रेष्ठ तथा उद्घोषक नेत्रपाणि बास्तोलाले कार्यक्रम सञ्चालन गरे।

प्रकाशित: ४ वैशाख २०८० ९:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =