प्रचण्डलाई भारत भ्रमण गराउनकै लागि साउद परराष्ट्रमा!

हिमाल प्रेस ३ वैशाख २०८० १९:४७
44
SHARES
प्रचण्डलाई भारत भ्रमण गराउनकै लागि साउद परराष्ट्रमा! मन्त्रालयमा आइतबार पदबहाली गरेपछि पत्रकारसँग कुराकानी गर्दै परराष्ट्रमन्त्री एनपी साउद।

काठमाडौँ– नवनियुक्त परराष्ट्रमन्त्री एनपी (नारायणप्रकाश) साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणको तयारी गर्न आफू परराष्ट्रमन्त्री नियुक्त भएको बताएका छन्। पद तथा गोपनीयताको शपथपछि आइतबार मन्त्रालयमा पदबहाली गर्दै साउदले आफ्नो प्राथमिकता प्रधानमन्त्रीको भारत भ्रमणका गृहकार्य गराउनु रहेको बताएका हुन्।

उनले भने, ‘प्रधानमन्त्रीको भारत भ्रमणका लागि तयारी गर्न मन्त्री आवश्यक रहेकाले मेरो निर्णय भएको हुन सक्छ। अब प्रधानमन्त्रीको भारत भ्रमणको गृहकार्य अघि बढाउनेछु।’ कांग्रेसबाट आइतबार उनी मात्र सरकारमा गएका हुन्। त्यसैले उनले आफ्नो नियुक्तिलाई प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको तयारी रहेको प्रस्ट पारेका हुन्।

तपाईंको नियुक्ति प्रधानमन्त्रीको भारत भ्रमणको तयारीकै लागि हो भनिन्छ नि भन्ने जिज्ञासामा उनले भने, ‘यो पनि एउटा कारण होला। भारत भ्रमणको गृहकार्यका लागि पनि म अब छलफल गर्छु। परराष्ट्रमन्त्री भएपछि त्यसको जिम्मेवारी स्वतः मेरोमा आउने हुनाले त्यसमा म लागिपर्नेछु।’ मन्त्री साउदले प्रधानमन्त्रीको भारत भ्रमण छिट्टै हुने बताए।

मन्त्री साउदले नेपाल शान्तिको पक्षधर मुलुक भएकाले सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्ने प्रतिबद्धता जनाए। उनले भने, ‘हामी शान्तिका पक्षधर हौँ र हामीले सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्नुपर्छ। विश्वका सबै मुलुकसँग नेपालको शान्तिपूर्ण र सौहार्द सम्बन्ध छ। त्यसलाई पहिचान बनाएर अघि बढ्नेछु।’  उनले आगामी दिनमा विश्वभरका मुलुक र छिमेकीसँग सम्बन्ध घनिष्ठ बनाउन प्रयास गर्ने बताए।

साउद परराष्ट्र मन्त्रालयमा नयाँ हुन्। त्यसैले अहिलेको जिम्मेवारीलाई यअसघिको भन्दा फरक ढंगले लिनुपर्ने जानकारहरू बताउँछन्। परराष्ट्र मन्त्रालयका एक पूर्वसचिव भन्छन्, ‘परराष्ट्रका अधिकांश कर्मचारीको ध्येय मन्त्री खुसी पार्ने र नियुक्ति लिने ध्याउन्नामा हुन्छन्। यसलाई राम्रोसँग बुझेर चल्न सकेमा साउद सफल हुन सक्छन्। आफैँ विदेश भ्रमणको लोभमा परे भने समस्यामा पर्ने निश्चित छ।’

नवनियुक्त मन्त्रीहरू प्रायः महिनौँसम्म ब्रिफिङमा व्यस्त हुने प्रवृत्ति छ। ती पूर्वसचिव भन्छन्, ‘दिनहुँ ब्रिफिङ सुुन्नु भन्दा मन्त्रालयका सबै महाशाखाका सहसचिवलाई एकै ठाउँमा राखेर सबैको कुरा पालैपालो सुन्दा राम्रो हुन्छ।’ महाशाखाका गतिविधि पनि त्यहीँबाट लिन र ‘क्रस चेक’ का लागि उपसचिवहरूसँग सोध्ने सकिने ती पूर्वसचिवको सुझाव छ।

आमनागरिकलाई सहज हुने भन्दा पनि व्यक्तिगत फाइदामा केन्द्रित हुने गरेको आरोप परराष्ट्रका कर्मचारीमाथि लाग्ने गरेको छ। परराष्ट्रका कर्मचारीले आईकाओको मान्यता भन्दै नागरिकता नम्बर राख्ने स्थानमा राष्ट्रिय परिचयपत्रको नम्बर राख्ने व्यवस्था गरेको स्पष्ट छ। यस्तै परराष्ट्रका उच्च अधिकारीहरू विदेश भ्रमण भनेपछि हुरुक्क हुन्छन्। केही साताअघि लिस्वनमा पासपोर्टको आवेदन जम्मा गर्न परराष्ट्र एक उच्च अधिकारी आफैँ पुग्नु यसको एउटा उदाहरण हो।

कञ्चनपुर–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित साउद पार्टीभित्र सभापति शेरबहादुर देउवा निकट माननिन्छन्। कांग्रेस केन्द्रीय सदस्य रहेका साउदलाई सभापति देउवाले दाहाल नेतृत्वको मन्त्रिपरिषद्‌मा पार्टीबाट पाँचौँ मन्त्रीका रूपमा पठाएका हुन्। कांग्रेसले अझै चार मन्त्री मागिरहेकाले सरकारले पूर्णता पाउन सकेको छैन।

वाक्कलामा निपुण मानिने साउद त्रिभुवन विश्वविद्यालयबाट मानविकीमा स्नातक हुन्। उनले भारतको इलाहाबाद बोर्डबाट इन्टरमिडियट गरेका छन्। नेपाल विद्यार्थी संघबाट विद्यार्थी राजनीतिमा सक्रिय साउद उक्त संगठनको अध्यक्षसम्म भएका थिए। साउद यसअघि शिक्षा तथा खेलकुद राज्यमन्त्री र सिँचाइमन्त्री भएका थिए। २०५१ सालको मध्यावधि निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित साउद पहिलो संविधानसभामा संविधानसभा सदस्य हुन्।

पहिलो निर्णय ‘सन्देहपूर्ण’

मन्त्री साउदले पहिलो निर्णय भारतको राजधानी नयाँदिल्लीबाट नेपाल हर्ने एक मुलुक थपिदिएका छन्। उनले नयाँदिल्लीबाट नेपाल मामिला हेर्न पेरुलाई सहमति दिने निर्णय गरेका हुन्। दिल्लीबाट ८० भन्दा बढी मुलुकले नेपाल मामिला हेर्छन्। दूतावास यहाँ राखेर कन्सुलर सेवा भारतबाट दिइरहेको अवस्था छ। कूटनीतिक क्षेत्रका जानकारअनुसार काठमाडौँलाई होइन, दिल्लीलाई कूटनीतिक हब बनाउन सक्रिय परराष्ट्रका कर्मचारीहरूले यस्तो निर्णय गराएका हुन सक्छन्।

एक पूर्वराजदूतले भने, ‘कतिपय मुलुकलाई सहमति नदिएर राख्न पनि सकिन्छ। हुन त कूटनीतिक सम्बन्ध भएको मुलुकलाई कहीँ न कहीँबाट नेपाल मामिला हेर्ने जिम्मेवारी रहन्छ। तर मन्त्री भएकै दिन साउदबाट किन यस्तो निर्णय भयो सन्देह उब्जिएको छ।’

प्रकाशित: ३ वैशाख २०८० १९:४७

प्रतिक्रिया

One thought on “प्रचण्डलाई भारत भ्रमण गराउनकै लागि साउद परराष्ट्रमा!

  1. पेरुभन्दा पनि कतिपय युरोप, अस्ट्रेलिया, क्यानाडाका मुलुकले काठमाडौंबाट नभई दिल्लीबाट कन्सुलर सेवा दिनु बनेको नेपालीप्रति हेपाहा हुनु र नेपालीलाई दुख दिनु हो। यतातर्फ साउदको ध्यान जानुपर्ने हो र जाओस्। तर, माथिका मिसन लिएर आएका हुन् भने गैल साउद पानीमेॅ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 11 =