देशको समृद्धिका लागि चरित्रवान नेतृत्व आवश्यक : उपप्रधानमन्त्री श्रेष्ठ

हिमाल प्रेस १ वैशाख २०८० १९:५६
4
SHARES
देशको समृद्धिका लागि चरित्रवान नेतृत्व आवश्यक : उपप्रधानमन्त्री श्रेष्ठ फाइल तस्बिर।

काठमाडौँ– उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक रूपान्तरण र समृद्धिका लागि चरित्रवान नेतृत्वको आवश्यक हुने बताएका छन्। प्रर्दशनीमार्गस्थित राष्ट्रियसभागृहमा शुक्रबार आयोजित धम्मवती गुरुमा विशेष सामूहिक धम्मपूजामा बोल्दै उनले यस्तो बताएका हुन्।

चरित्रवान व्यक्तिलाई राजनीतिमा स्थापित गर्न सकेमात्र जनताले प्रणाली र व्यवस्था परिवर्तनको महसुस गर्न सक्ने बताए। ‘राजनैतिक प्रणाली र व्यवस्था परिवर्तनले मात्र पुग्दैन। आजको प्रदूषित राजनीतिलाई सफा गर्न जरुरी छ,’ उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘चरित्रवान, स्वच्छ र निस्वार्थ व्यक्तिलाई राजनीतिमा स्थापित गरेर र राजनीतिलाई सफा गरेर मात्र समाजको रूपान्तरण र समृद्ध नेपाल बनाउन सक्छौं।’

नेतृत्वको चरित्र निर्माणका लागि बौद्धशिक्षा महत्त्वपूर्ण हुने बताउँदै उनले गृह मन्त्रालयअन्तर्गत ध्यानको शिविर नियमित रूपमा सञ्चालन गर्ने तयारी गरेको जानकारी दिए। उनले भिक्षुणी धम्मवती गुरुमाको धार्मिक तथा सामाजिक योगदान प्रशंसनीय भएको बताउँदै भने, ‘उनको योगदानका आधारमा उन नेपालको अन्तर्राष्ट्रिय धर्मदूत हुनुहुन्छ।’

धम्मपूजा कार्यक्रममा काठमाडौँ महानगरपालिकाको उपमेयर सुनिता डंगोलले धम्मवती गुरुमाको बुद्धधर्मको प्रचारप्रसार र सामाजिक क्षेत्रमा योगदानबारे चर्चा गरिन्। ‘झण्डै २० वर्षअघि मैले उनको शिष्य बन्ने अवसर पाएको थिएँ। म राजनीतिमा प्रवेश गर्नुको प्रेरणा पनि उन नै हो,’ उनले भनिन्।

विक्रम संवत् १९९१ मा ललितपुरमा जन्मिएका भिक्षुणी धम्मवतीको रूपमा बौद्धज्ञान बाँड्दै आएकी छन्। धम्मवती गुरुमाले नेपालमा बौद्ध शिक्षाबारे सबैलाई जानकार गराउनुपर्नेमा जोड दिइन्। कार्यक्रममा धर्मकीर्ति विहार संरक्षण कोषले ‘धम्मवती धम्म प्रशिक्षण परियोजना’को धोषणा गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − nine =