नेपाली सेनाद्वारा गोरखा-जितगढी पदयात्रा सुरु

हिमाल प्रेस २९ चैत २०७९ २२:२५
8
SHARES
नेपाली सेनाद्वारा गोरखा-जितगढी पदयात्रा सुरु

काठमाडौँ– नेपाली सेनाले ऐतिहासिक महत्त्वको गोरखा-जितगढी पदयात्रा सुरु गरेको छ। गढी, किल्ला, युद्धस्थल, पदमार्गलगायतका धरोहरहरूको संरक्षण‚सम्वर्द्धन र प्रवर्द्धन गर्ने तथा नेपालको सैनिक इतिहासको जगेर्ना गर्ने उद्देश्यका साथ पदयात्रा बुधबार पश्चिम पृतनापति उपरथी दिपक बानियाले शुभारम्भ गरेका हुन्।

पदयात्रामा नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनामा सबै भन्दा पहिले खडा भएका ५ वटा स्थायी कम्पनी तथा जितगढी लडाइँमा सहभागी गुरुबक्स गुल्मको झण्डासहित गोरखा जिल्लामा तैनाथ रिपुमर्दन गणबाट ऐतिहासिक पोशाक तथा परम्परागत बाजागाजासहितको टोली सहभागी छन्।

पदयात्राका क्रममा गोरखाबाट सहभागी फौजले तनहुँ जिल्लामा तैनाथ फौजलाई गोरखाको सतीघाटमा, तनहुँ जिल्लामा तैनाथ फौजले पाल्पा जिल्लामा तैनाथ फौजलाई तनहुँको केलादीघाटमा र पाल्पा जिल्लामा तैनाथ फौजले रुपन्देही जिल्लामा तैनाथ फौजलाई पाल्पाको नुवाकोटगढीमा झण्डाहरू हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ। पदयात्रा गोरखा दरबारदेखि रुपन्देहीको जितगढीसम्म करिब २०७ कि.मि. को दूरीमा आयोजना हुनेछ।

गोरखा नगरपालिका ६ स्थित गोरखा दरबारबाट सुरु भएको पदयात्रा गोरखा, तनहुँ, स्यांगजा, पाल्पा हुँदै वैशाख ०७ गते रुपन्देही, बुटवलस्थित जितगढी पुगेर समापन हुने सेनाले जनाएको छ। सोही दिन नेपाली सेनाद्वारा मर्मत भइरहेको जितगढीको प्रतिमा बुटवल उप-महानगरपालिकालाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ।

पदयात्रा सुभारम्भका अवसरमा आयोजित कार्यक्रममा गोरखा जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख, गोरखा नगरपालिकाका मेयर र उपमेयर, रथीवृन्द, प्रमुख जिल्ला अधिकारी, जनप्रतिनिधि, नेपाली सेनाका अधिकृत, जिल्लास्थित सुरक्षा निकाय एवम् सरकारी कार्यालयका पदाधिकारी, विभिन्न संघ-संस्थाका प्रतिनिधि, सञ्‍चारकर्मीहरू उपस्थित थिए।

प्रकाशित: २९ चैत २०७९ २२:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + two =