आठ रात नौ दिनसम्म मनाइने बिस्काः जात्रा सुरु [फोटोफिचर]

दिपेश श्रेष्ठ २७ चैत २०७९ १८:०४
52
SHARES
आठ रात नौ दिनसम्म मनाइने बिस्काः जात्रा सुरु [फोटोफिचर]

भक्तपुर– आठ रात नौ दिनसम्म भव्य रूपमा मनाइने भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक महत्त्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्रा सोमबारदेखि सुरु भएको छ। तौमढीस्थित भैरवको रथमा पूजा गर्न बिहानैदेखि घुइँचो लागेको छ।

बिहान ५ बजेदेखि सर्वसाधारणका लागि भैरवको रथमा पूजा खुला गरेर जात्राको शुभारम्भ भएको गुठी संस्थान कार्यालयकी प्रमुख खिमा वलीले जानकारी दिइन्।

पूजा गर्दै भैरवको रथमा भैरवनाथ र बेताल विराजमान गराई हनुमानढोकाबाट ल्याएको खड्ग, तरबार र निशान राखेपछि विधिपूर्वक रथ तानेर जात्रा सुरु भएको हो। विगत वर्षमा अपराह्न ५ बजेपछि रथ तान्न सुरु गरी राति अबेरसम्म टौमढीबाट रथलाई माथि र तल तानेर गःहिटी पुर्‍याउने चलन थियो। यस वर्ष भने भैरवनाथको रथ अपराह्न ५ बजेसम्म गःहिटीमा पुर्‍याइ पहिलो दिनको जात्रा सम्पन्न गर्ने तयारी छ।

रथमा जुसी बजु, कर्माचार्य, तलेजुको मूल पुजारी, गुठी नाइके, भैरव नाइके, कर्मी नाइके, चौगुठीलगायत तोकिएका आवश्यक व्यक्तिबाहेक अन्य व्यक्ति चढ्न नदिने वलीले बताइन्।

सोमबारको जात्रा सम्पन्न भएपछि चैत ३० गते ल्यासिंखेलमा गुठी पूजासहित सबै प्रक्रिया पूरा गरी अपराह्न ५ बजे लिंगो उठाइने जात्रा हुनेछ। वैशाख १ गते अपराह्न ५ बजेभित्र लिंगो ढाल्ने र वैशाख ५ गते अपराह्न ५ बजेसम्म रथ तानीसकेर जात्रा सम्पन्न गर्ने गरी तयारी गरिएको गुठीले जनाएको छ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले बिस्केट जात्रामा हुल दंगा हुन नदिन र शान्तिपूर्ण रूपमा जात्रा सम्पन्न गराउन आवश्यक तयारी गरिएको बताए।

प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीका अनुसार जात्राका लागि झण्डै ७ सय सुरक्षाकर्मी खटाइएको छ।

प्रकाशित: २७ चैत २०७९ १८:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 5 =