बसन्त चौधरीको बाल कवितासंग्रह ‘आहाना’ विमोचित

हिमाल प्रेस २७ चैत २०७९ ११:५३
14
SHARES
बसन्त चौधरीको बाल कवितासंग्रह ‘आहाना’ विमोचित

काठमाडौँ- कवि तथा गीतकार बसन्त चौधरीको बाल कवितासंग्रह ‘आहाना’ सार्वजनिक भएको छ। आफ्नी नातिनी आहाना शाक्य (चौधरी)को जन्मदिनको दिन पारेर चौधरीले बाल कविता संग्रह सार्वजनिक गरेका हुन्। आइतबार ललितपुरको खुमलटारस्थित प्रिमियमर इन्टरनेसनल स्कुलको सभाहलमा आयोजित एक समारोहमा ‘आहाना’को विमोचन गरिएको हो।

यसअघि चौधरीका २० भन्दा बढी कविता तथा गीतका संग्रह प्रकाशित भइसकेका छन्। दर्जनौँ नेपाली गीतका सर्जकसमेत रहेका उनको यो पहिलो बाल कवितासंग्रह हो। कार्यक्रममा कवि चौधरी, उनी पुत्री मेघा चौधरी, नातिनी आहाना शाक्य (चौधरी) तथा आहानाका पिता पारस शाक्य र अन्य बालबालिकाले ‘आहाना’को सामूहिक लोकार्पण गरेका थिए।

रंगिन कलेवरमा प्रकाशन गरिएको बाल कवितासंग्रह नेपाली र अंग्रेजी दुवै भाषामा उपलब्ध छ। ‘कोपिला किताब’ले प्रकाशन गरेको सो किताबमा ५६ वटा बाल कविता समेटिएका छन्। प्रत्येक कवितासँगै कलाकार भानु भट्टराईले तयार पारेको आकर्षक चित्रांकनसमेत छ। विमोचन समारोहमा कवि बसन्त चौधरीले आफू निकै खुसी भएको बताए। ‘यस्तो लागिरहेछ कि बसन्तको आगमन फेरि भएको छ, मन प्रफुल्लित छ,’ उनले भने।

नातिनीसँग बिताएका क्षण तथा नातिनीजस्तै भएर लेखिएका कवितालाई संग्रहको रूप दिएको उनले बताए। ‘कविता संग्रह ‘आहाना’ मा आफ्नी नातिनीको प्रतिविम्ब देखिरहेको छु,’ उनले भने। बाल साहित्य आफ्नो नियमित विधा नभए पनि यो पहिलो प्रयास रहेको उनले कार्यक्रममा उल्लेख गरे। उनले भने, ‘विदेश भ्रमण गर्दा त्यहाँ बाल साहित्यले हासिल गरेको उचाइ देख्दा डाह लाग्छ। नेपालमा के कारणले बाल साहित्यमा पछाडि परेको छ, त्यो बुझ्न सकिरहेको छैन।’

बालबालिकालाई रचनात्मक कुरा कविता र गीतबाट सिकाउन सकिए त्यसले निकै ठूलो परिवर्तन गर्ने चौधरीको भनाइ छ। ‘विश्वभर शिक्षामा परिवर्तन भइरहँदा नेपालमा पनि हुनुपर्ने र सिकाइको माध्यमको रूपमा कविता र गीतलाई पनि समावेश गरिनुपर्छ,’ उनले भने। कार्यक्रममा बालबालिकाहरूले कवितासंग्रहका केही कविता वाचन पनि गरेका थिए।

प्रकाशित: २७ चैत २०७९ ११:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + six =