सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्ति अभाव हुँदा सूचना प्रवाहमा चुनौती : मन्त्री शर्मा

हिमाल प्रेस २६ चैत २०७९ १९:२९
10
SHARES
सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्ति अभाव हुँदा सूचना प्रवाहमा चुनौती : मन्त्री शर्मा

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी निकायका लागि दक्ष जनशक्ति उत्पादन र व्यवस्थापनमा ध्यान दिनुपर्ने बताएकी छन्। उच्चस्तरीय कार्यदलले तयार पारेको सरकारी एकीकृत डाटा केन्द्रबाट प्रवाह हुने सेवा सम्बन्धमा विस्तृत अध्ययन प्रतिवेदन आइतबार ग्रहण गर्दै उनले यस्तो बताएकी हुन्।

सरकारी कार्यालयहरूमा दक्ष जनशक्ति भित्र्याउन समस्या भइरहेकाले जनशक्ति व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने अवस्था आएको उनको भनाइ छ।

‘हामीसँग उपकरण छ तर दक्ष जनशक्ति छैन। यसले गर्दा ठूलो समस्या सिर्जना भएको छ। सरकारी निकायमा सूचना प्रविधिमा दक्ष जनशक्ति कसरी भित्र्याउने र भएको जनशक्तिलाई कसरी दक्ष बनाउने भन्ने चुनौती देखिएका छन्। यसमा हामीले प्राथमिकताका साथ गृहकार्य गर्नुपर्ने छ,’ उनले भनिन्।

सूचना प्रविधि निरन्तर बदलिरहने क्षेत्र भएकाले यसमा कार्यरत जनशक्तिलाई नियमित तालिम प्रशिक्षणमार्फत बदलिँदो प्रविधिसँग अपडेट गराउनुपर्नेमा मन्त्री शर्माको जोड छ। भौतिक सुरक्षाजस्तै साइबर सुरक्षा पनि अनिवार्य पक्ष बन्न गएकाले सरकारले साइबर सुरक्षा कार्यक्रम सबै निकायमा लागु गरेर लैजाने योजना बनाएको उनले जानकारी दिइन्।

मन्त्री शर्माले प्रतिवेदनमा आएका विषयवस्तुलाई सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटमा समेट्ने प्रतिबद्धतासमेत व्यक्त गरिन्। साइबर सुरक्षा धेरै नै महत्त्वपूर्ण भए पनि नेपाल यसमा पछाडि रहेको स्वीकार्दै उनले आफूले पद सम्हालेदेखि यसलाई महत्त्वका साथ लिएको उनले बताइन्।

मुलुक सञ्चालनका लागि राजस्व संकलनदेखि राष्ट्रियताको रक्षा गर्नेसम्मका काममा सूचना प्रविधि महत्त्वपूर्ण रहेको र यसको सुरक्षा प्राथमिक एजेन्डा भएकाले गत फागुन १५ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार गठन गरिएको उच्चस्तरीय कार्यदले २६ दिनमै प्रतिवेदन दिएको छ।

मन्त्रालयका सचिव कृष्ण राउतले साइबर सुरक्षा र सेवा प्रवाहलाई सहज बनाउन संरचनात्मक परिवर्तन आवश्यक रहेको बताउँदै प्रतिवेदनलाई योजनाबद्ध रूपमा कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे।

सेवा प्रवाहको माध्यम विद्युतीय भएकाले साइबर सुरक्षामा जोड दिनुपर्ने अवस्था आएको उनले स्पष्ट पारे। उच्चस्तरीय समितिका संयोजक जुद्ध गुरुङले तत्कालीन र दीर्घकालीन रूपमा लागु गर्नेगरी प्रतिवेदनमा राय सुझाव दिइएको बताए।

समितिलाई साइबर सुरक्षाका क्षेत्रमा नीतिगत, कानुनी, संरचनागत र प्रक्रियागत सुझावसहित प्रतिवेदन तयार पार्ने कार्यादेश दिइएको थियो। सूचना प्रविधि विज्ञ गुरुङको संयोजकत्वमा रहेको कार्यदलको सदस्यमा विज्ञहरू बाबुराम दवाडी, सरोज लामिछाने, मोना न्याछो, प्रकाश रायमाझी र विजय गौतम छन्।

कार्यदल सदस्यमा नेपाल प्रहरी र नेपाली सेनाका विज्ञहरू सदस्यका रूपमा र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रतिनिधिका रूपमा सहसचिव अनिलकुमार दत्त छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − thirteen =