पोखरामा ब्रिजकोर्स सञ्‍चालन गर्न नपाइने

हिमाल प्रेस २५ चैत २०७९ २१:४६
8
SHARES
पोखरामा ब्रिजकोर्स सञ्‍चालन गर्न नपाइने

पोखरा– पोखरा महानगरपालिका क्षेत्रमा ब्रिज कोर्स नाममा मोटो रकम असुली हुँदै आएको गुनासोपछि ब्रिज कोर्स खारेज गरिएको छ। नगर शिक्षा परिषद् र नगर शिक्षा समितिको संयुक्त बैठकले ब्रिज कोर्स खारेज गर्नेदेखि विद्यालय हाताभित्र पाठ्यपुस्तक तथा अन्य शैक्षिक सामग्री बिक्रीमा रोक लगाउने निर्णय गरेको हो।

एसईई दिएर बसेका बसेका विद्यार्थीलाई उच्च शिक्षा प्रवेशमा सहज बनाउन विभिन्न शैक्षिक संस्थाले ब्रिज कोर्सको नाममा मोटो रकम असुलेको जनगुनासो आएपछि पोखरा महानगरपालिकाले विद्यालय शिक्षा व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न निर्देशन जारी गरेको हो।

कक्षा ११ को विद्यार्थी भर्नासँग सम्बन्धित कुनै पनि ब्रिज कोर्स सञ्चालन गर्न निषेध गरिएको निर्देशनमा उल्लेख छ।

यस्तै शिक्षा नियमावलीमा उल्लेखित शीर्षकबाहेक एउटै विद्यालयमा अध्ययन गर्दा अध्ययन अवधिभर भर्ना शुल्कवापत एक पटकमात्र २ महिनाको शुल्कभन्दा बढी लिन नपाइने व्यवस्था पालना गर्न विद्यालयलाई सचेत गराइएको छ।

जुन विद्यालयमा विद्यार्थी अध्ययन गरिरहेका छन्, सो विद्यालयको माथिल्लो कक्षामा पढ्न चाहे विद्यालयले अनिवार्य भर्ना गर्नुपर्ने छ। आगामी शैक्षिक सत्रको पढाइ १० वैशाखदेखि सुरु गर्ने निर्णय पनि महानगरले गरेको छ।

विद्यालयको बससेवा अवधि लामो भएको जनगुनासो आएकाले आगामी शैक्षिक सत्रबाट कक्षा सुरु हुनुभन्दा डेढ घण्टा अगाडिमात्र बस सञ्चालन गर्न महानगरले निर्देशन गरेको छ। विद्यालय क्षेत्रको १ सय मिटर दुरीभित्र सुर्ती तथा मदिराजन्य वस्तु बिक्री वितरणमा पनि निषेध गरिएको पोखरा महानगरले जनाएको छ।

प्रकाशित: २५ चैत २०७९ २१:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 5 =