म्युजिक भिडियो : चल्तीका कलाकारले ओगटेपछि छायामा मोडल

सुस्मिता बजगाईं २५ चैत २०७९ १४:५२
92
SHARES
म्युजिक भिडियो : चल्तीका कलाकारले ओगटेपछि छायामा मोडल

काठमाडौँ– ठूलो पर्दाका फिल्ममा ख्याति कमाएका कलाकार पछिल्लो समय म्युजिक भिडियोमा व्यस्त हुन थालेका छन्। म्युजिक भिडियोमा उनीहरूको उपस्थिति बाक्लै देखिन्छ। कलाकारहरू फिल्म सुटिङमा व्यस्त हुँदा पनि समय निकालेर म्युजिक भिडियो काम गर्न थालेका हुन्।

म्युजिक भिडियोमा रमाउनेमा महानायक राजेश हमाल, दयाहाङ राई, केकी अधिकारी, आँचल शर्मालगायत कलाकार छन्। यीमध्ये कतिपयले म्युजिक भिडियोलाई नै प्राथमिकता दिएको बताए। म्युजिक भिडियो निर्देशक र निर्माताको रोजाइमा पनि मोडल र नयाँ अनुहारभन्दा चल्तीका कलाकार नै पर्ने गरेका छन्।

महानायक हमाल पछिल्लो समयमा फिल्ममा उतिसारो सक्रिय छैनन् तर म्युजिक भिडियोमा भने निकै व्यस्त छन्।

उनी अभिनीत ‘हजुर मुसुक्कै’ गीतको म्युजिक भिडियो खूब चल्यो। भिडियो नेपालमा युट्युबमा ट्रेन्डिङमा पनि परेको थियो। १५ मिनेट लामो सो म्युजिक भिडियोमा उनीसँग अभिनेत्री निरुता सिंह, प्रियाना आचार्य, प्रिन्स विश्वकर्मालगायत कलाकारले काम गरेका छन्।

मालिङ्गो’, ‘मन बूढो भएन’, ‘वरको छायाले’, ‘हल्का हल्का लजाएर’, ‘मञ्जरी’ ‘चट्ट बसम देउरालीमा’, ‘डाँडा पारी’, सल्लैको धुप राम्रो’, ‘नाच न कान्छी’लगायत थुप्रै म्युजिक भिडियोमा हमालको अभिनय छ। उनी अभिनीत गीतका म्युजिक भिडियो लाखाैँले हेरेका छन्।

‘जिन्दगी’ बोलको गीतमा त उनले पत्नी मधु भट्टराईसँग भिडियो खेलेका छन्। त्यस्तै हमालले अभिनय गरेका ‘आफ्नै नाम मन पर्‍यो’, ‘झ्याइँकुटी झ्याइँ’, ‘गुन्द्रुक तिउन’, ‘मुसुक्क हाँसिदेऊ’, ‘प्रेमको परिभाषा’, ‘सैलुङको’ लगायत म्युजिक भिडियो पनि निकै चर्चित छन्।

फिल्मसँगै म्युजिक भिडियोमा उत्तिकै व्यस्त हुने अन्यमा अभिनेता दयाहाङ राई हुन्। वैशाख १ मा उनको दुइटा फिल्म ‘जारी’ र ‘बिहे पास’ प्रदर्शनको तयारीमा छ।

उनका म्युजिक भिडियो पनि लगातार सार्वजनिक भइरहेका छन्। ‘पहराकी फूल’, ‘चंगा’ उनका पछिल्ला म्युजिक भिडियो हुन्। ‘तिमी तारे भीर’, ‘आउन माया’, ‘त्यो तिमी हौ’, ‘ज्यानले तिमीलाई’, ‘यसो हेरे’, ‘हुरुक्कै भएँ म’ लगायत म्युजिक भिडियोमा पनि अभिनेता राईलाई देख्न सकिन्छ।

‘परानै दिन्छु’ र ‘सुनन’ (परानै दिन्छु २) मा दयाहाङको अभिनय छ। त्यस्तै ‘दिल खोलेर कुरा गरन’, ‘जोगी’, ‘सधैँ सुनुँ सुनुँ लाग्ने’, ‘जहाजै’ लगायत उनका चर्चा पाएका म्युजिक हुन्।

प्रियंका कार्की म्युजिक भिडियोमा सक्रिय हुने अर्की कलाकार हुन्। केही दिनअघि सार्वजनिक ‘काउली’ बोलको गीतमा उनको अभिनय छ। म्युजिक भिडियोमा उनीसँगै कलाकार हरिवंश आचार्य र प्रकाश सपुत न्। चेलिबेटी बेचबिखनविरुद्व बनेको यो गीत यतिबेला निकै चर्चित छ।

यसअघि कार्की अभिनीत ‘टाढै भए पनि २’, ‘भीर माहुरी’, ‘पियार’, ‘चरी जस्तै’, ‘आमाले दिएको’, ‘बुट्टे रुमाल’, ‘कोही भन्छन’ ए ‘कालु’, ‘सपनीमा आउनेलाई’लगायत गीतले चर्चा कमाएका छन्।

अभिनेत्री वर्षा शिवाकोटी म्युजिक भिडियोमा बढी देखिने अर्की अभिनेत्री हुन्। शिवाकोटीका ‘पानी दर्केर’, ‘हरपल तिम्रो’, ‘एउटा मुटु कसलाई पुर्‍याउने’, ‘अनिदो रात’ हालसालै सार्वजनिक भए। उनको मुख्य भूमिका रहेको फिल्म ‘ए सुन साथी’ आगामी जेठ ५ मा प्रदर्शनमा आउने तयारीमा छ। शिवाकोटीका फिल्म खासै चर्चित नभए पनि गीतले भने राम्रै चर्चा पाउने गरेका छन्।

‘परानी’, ‘जुनी जुनी’, ‘दिलको चाबी’, ‘पिरतीको जाल’, ‘सरर हावा’, ‘लाखौँ सपना’, ‘घार्र घुर्र’लगायत गीत निकै चलेका छन्।

अभिनेत्री केकी अधिकारीको अभिनय रहेको ‘सान्बाबु’, ‘बसाइँ सरेर’, ‘पर-पर छु’, ‘जिउने चाहना’, ‘चाहिँदैन तिम्रो माया’ यस वर्ष निकै चले।

राजेश, दयाहाङ, प्रियंका, वर्षा, केकीमात्र होइन सिने जगत्का अन्य कलाकारले पनि म्युजिक भिडियोमा नाम कमाएका छन्।

यो सूचीमा नीता ढुंगाना, आँचल शर्मा, पूजा शर्मा, सलोन बस्नेत, वर्षा राउत, करिश्मा मानन्धर, निरुता सिंह, बेनिशा हमाल, दिलीप रायमाझी, शिल्पा पोखरेललगायत छन्।

हिन्दी गीतमा अभिनय गर्नेहरू

केही अभिनेत्रीले नेपालीमा मात्र नभएर हिन्दी गीतको भिडियोमा पनि अभिनय गरेका छन्। फेब्रुअरी ४ मा अभिनेत्री आँचल शर्मा अभिनीत ‘तेरी मेरी दास्तान’ बोलको हिन्दी गीत सार्वजनिक भएको थियो। भिडियोमा आँचलसँगै आरआर खड्काको अभिनय छ।

हिन्दी म्युजिक भिडियोमा काम गर्ने अर्की अभिनेत्री हुन् अदिति बुढाथोकी। हिन्दीमा मात्र नभई उनले पन्जाबी गीतको म्युजिक भिडियोमा पनि अभिनय गरेकी छन्। ‘परान्दा’, ‘इन्नी सि गल’, ‘तुम जहाँ रहो’, ‘फिजूल है’, ‘तू मेरा नहीं’, ‘मैं तेरी हो गई’लगायत गीतमा उनको अभियन छ।

अभिनेत्री तथा पूर्व मिस नेपाल सृष्टि श्रेष्ठले पनि २०१५ मा ‘कभी जो बादल बरसे’ बोलको गीतमा मोडलिङ गरेकी छन्। यसमा भारतीय गायक अरिजित सिंहको स्वर छ।

कलाकार नै किन?

पछिल्लो समय एक सातामै धेरै गीतका भिडियो युट्युबमा सार्वजनिक हुने गरेका छन्। एकातिर चलेका कलाकार अभिनीत म्युजिक भिडियोले राम्रो चर्चा कमाइरहेका छन् भने नयाँ मोडल रहेका भिडियो छायामा परेका छन्।

कम समयमा बढी पारिश्रमिक र सुविधा पाउने भएकाले म्युजिक भिडियोमा अभिनय गर्ने गरेको अभिनेत्री प्रियंका कार्कीले एक अन्तर्वार्तामा बताएकी छन्। ‘म्युजिक भिडियोमा काम गर्दा हामीजस्ता कलाकारलाई फाइदा नै हुन्छ,’ उनले भनेकी छन्। टिम हेरेर म्युजिक भिडियोको प्रस्ताव स्वीकार गर्ने उनले खुलाएकी छन्।

अभिनेता राजेश हमालले फुर्सदमा म्युजिक भिडियोमा काम गर्ने बताए। ‘समय पनि कम लाग्ने, आम्दानी पनि राम्रै हुने भएपछि किन छाड्नु र?’ उनले भने।

पैसाको लोभमा चर्चित कलाकारहरूले म्युजिक भिडियोमा काम गर्ने गरेको आरोप पनि लाग्ने गरेको छ। तर कुनै पनि काम सानो वा ठूलो नहुने हमालको तर्क छ।

०००

फुर्सदको समय सदुपयोग गर्न र छोटो समयमै राम्रो पारिश्रमिक पाइने भएकाले कलाकार म्युजिक भिडियोतर्फ आकर्षित भएको संगीतकार दीपक शर्माको भनाइ छ। ‘चर्चित कलाकार म्युजिक भिडियोमा आउँदा गीतको स्तर पनि बढ्छ,’ उनले भने, ‘कलाकारलाई आम्दानीका हिसाबले फाइदाजनक छ।’ उनका अनुसार फिल्मको सुटिङ, डबिङलगायत काम सकेपछि फुर्सदमा कलाकार यतातिर लाग्छन्।

फिल्म र म्युजिक भिडियोलाई छुट्याएर हेर्न नहुने शर्माको बुझाइ छ। ‘कलाकारले गीतमा खेल्न नहुने तर्क गर्नु गलत हो,’ उनले भने, ‘यी सबै अभिनयकै विधा हुन्।’

गीतकार एवम् संगीतकार वसन्त सापकोटा कोरोना महामारीले कारण ठप्प भएको फिल्म क्षेत्रमा कलाकार म्युजिक भिडियोतर्फ आकर्षित हुनुलाई स्वाभाविक ठान्छन्। ‘कोरोनापछि धेरै कलाकारको आर्थिक अवस्था खस्किएको छ,’ उनले भने, ‘विकल्पका रूपमा कलाकार म्युजिक भिडियोमा आकर्षित हुनु स्वाभाविक हो।’

भिडियोमा गीत चर्चाका लागि मात्र नभएर गीतको कथावस्तुअनुसार दर्शकको रुचि, व्यक्तिको अभिनय र विशेषताका आधारमा कलाकार छनोटमा पर्ने गरेको शर्माले बताए।

संगीतकार शर्माको भनाइप्रति वसन्त सापकोटा सहमत छन्। उनी भन्छन्, ‘कलाकार हुन् या अन्य मोडल, दर्शकको रुचि र व्यक्तिको अभिनय हेरेर भिडियोमा अफर गरिन्छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + nine =