सैनिक कल्याणकारी कोष पारदर्शी छ : प्रधानसेनापति शर्मा

हिमाल प्रेस २० चैत २०७९ १८:००
38
SHARES
सैनिक कल्याणकारी कोष पारदर्शी छ : प्रधानसेनापति शर्मा प्रधानसेनापति प्रभुराम शर्मा।

काठमाडौँ- प्रधान सेनापति प्रभुराम शर्माले सैनिक कल्याणकारी कोषको रकम पारदर्शी रूपमा सदुपयोग भइरहेको बताएका छन्। सोमबार महोत्तरीको बर्दिबासमा ‘भूतपूर्व सैनिक सम्मेलन २०७९’ उद्घाटन गर्दै प्रधान सेनापति शर्माले कोषको रकम पारदर्शी रूपमा सदुपयोग भइरहेको बताएका हुन्।

सिमित स्रोत साधनका बाबजुद शिक्षा, स्वास्थ्य, स्वरोजगार र सहुलियतमार्फत हिताधिकारीहरूलाई सुविधा उपलब्ध गराउँदै आइरहेको कोषको रकमबाट थप सेवा विस्तारमा नेपाली सेना प्रयत्नशील रहेको उनको भनाइ थियो।

त्यस्तै उनले राष्ट्र सेवा तथा नेपाली जनताको सुख दुःखमा साथ रहनु नै नेपाली सेनाको मूलमन्त्र रहेको बताए। नेपाली सेना बलियो भएमा नेपालको राष्ट्रिय सुरक्षा, हित तथा राष्ट्रिय स्वार्थहरूको संरक्षण र सम्बोधन प्रभावकारी हुने उनले बताए।

नेपाली सेनाले महोत्तरी, धनुषा, सर्लाही, सिराहा, बारा, पर्सा, रौतहट र सप्तरी गरी आठ जिल्लामा बसोबास गर्ने भूतपूर्व सैनिक तथा सैनिक एकल महिलाहरूको सहभागितामा सोमबार सम्मेलन आयोजना गरेको थियो।

सो क्रममा प्रधान सेनापति शर्माले भूतपूर्व सैनिकहरूको जीवनलाई सरल, सहज र सुखी बनाउन नेपाली सेना प्रयत्नशील रहेको बताए। त्यस्तै उनले मधेस प्रदेशका बासिन्दालाई नेपाली सेनामा भर्नाको लागि आकर्षण बढाउन सिराहा, पर्सा र सर्लाहीमा तैनाथ नेपाली सेनाका युनिटहरूमा भर्ना छनौट भइरहेको भन्दै भविष्यमा अन्य जिल्लाहरूमा पनि भर्ना छनौट केन्द्र तोकिने बताए।

मधेश प्रदेशका प्रत्येक जिल्लाबाट सर्वसाधारण नागरिकका जेहेन्दार १ छोरा र १ छोरी गरेर जम्मा १६ जनालाई सैनिक विद्यालय बर्दिबासमा पूर्ण छात्रवृत्तिमा अध्ययनको अवसर प्रदान गर्ने प्रधान सेनापति शर्माको भनाइ थियो। सम्मेलनमा सभागीहरूलाई सम्मान पनि गरिएको नेपाली सेनाले जानकारी दिएको छ। सेनाले मंगलबार सिन्धुली, दोलखा र रामेछापमा पनि भूतपूर्व सैनिक सम्मेलन गर्ने भएको छ।

प्रकाशित: २० चैत २०७९ १८:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − nine =