मर्यादामा संसद्का महासचिवलाई सांसदभन्दा माथि राख्ने प्रयास विफल

हिमाल प्रेस २० चैत २०७९ ६:४८
6
SHARES
मर्यादामा संसद्का महासचिवलाई सांसदभन्दा माथि राख्ने प्रयास विफल

काठमाडौँ- संसद्का महासचिव र सचिववलाई सांसदभन्दा माथिल्लो मर्यादामाराख्ने प्रयास विफल भएको छ। प्रतिनिधिसभा नियमावलीको मस्यौदा प्रतिवेदनले प्रतिनिधिसभाका महासचिव र सचिवलाई पदाधिकारीमा राखेको थियो।

आइतबार पारित प्रतिनिधिसभा नियमावली २०७९ ले भने पदाधिकारीको परिभाषाबाटै संघीय संसद्का महासचिव र सचिवलाई हटाएको छ।

यसअघि नियमावलीको मस्यौदामा ‘पदाधिकारी भन्नाले सभामुख, उपसभामुख, प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका संसदीय दलका नेता, प्रतिनिधिसभामा विपक्षी दलको नेता, प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका संसदीय दलका उपनेता, मुख्य सचेतक, सभापति, सचेतक एवं संघीय संसदको महासचिव र सचिव सम्झनुपर्छ’ भन्ने उल्लेख थियो ।

नियमावली पारित गर्दा प्रतिनिधिसभाका पदाधिकारीबाट संघीय संसद् सचिवालयका महासचिव र सचिवलाई हटाइएको छ।

सांसदहरूको मर्यादाभन्दा पदाधिकारी माथि हुने तर महासचिव र सचिवहरू सांसदभन्दा माथि नहुने भएकाले उनीहरूलाई पदाधिकारीबाट हटाउनुपर्ने आवाज सांसदहरूले उठाएका थिए। सोही तर्कका आधारमा संसद्को पदाधिकारीबाट महासचिव र सचिवलाई हटाइएको हो।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकका अनुसार महासचिव र सचिवको परिभाषा छुट्टै खण्डमा राखिनेछ। महासचिव र सचिवको परिभाषा छुट्टै खण्डमा भनिएकाले पदाधिकारी खण्डबाट हटाइएको उनले बताएका छन्।

प्रतिनिधिसभाको आइतबारको बैठकले नियमावली बहुमतले पारित गरेको हो। १० माघ २०७९ मा प्रतिनिधिसभाले नियमावली मस्यौदा समिति गठन गरेको थियो। उक्त समितले ६ फागुन २०७९ को बैठकमा नियमावलीको मस्यौदा प्रतिवेदन पेस गरेको थियो। प्रतिवेदनउपर सैद्धान्तिक छलफल सकिएपछि विभिन्न राजनीतिक दलका १८ जना सांसदले ६५ वटा संशोधन प्रस्ताव दर्ता गरेका थिए।

संशोधन समेत परेकाले सोहीअनुसार प्रतिनिधिसभाको बैठकले नियमावली संशोधनसहित पारित गरेपछि सांसदभन्दा माथिल्लो मर्यादामा संसद्का महासचिव र सचिवलाई राख्ने प्रयास विफल भएको हो।

प्रकाशित: २० चैत २०७९ ६:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =