कर्मले दिएको नाम ‘तरकारी काका’

हिमाल प्रेस १९ चैत २०७९ १०:३६
4
SHARES
कर्मले दिएको नाम ‘तरकारी काका’

ढोरपाटन- घर्कँदो उमेर। सेताम्य दारी-जुँगा र कपाल फुलेको भए पनि अझै हट्टाकट्टा छन्, टीकाराम सापकोटा। बागलुङ नगरपालिका–४ कुँडुलेका सापकोटा बिहान उठेदेखि राति नसुतुन्जेलसम्म बारीकै धन्दामा व्यस्त हुन्छन्।

कहिले आफ्नै त कहिले अरूका तरकारी फार्ममा देखिने सापकोटा उमेरले ६७ वर्ष नाघिसके। उमेरले सात दशक लाग्न थालेका उनीमा जोस र जाँगर भने २० वर्षे युवाको भन्दा कम देखिँदैन। उनी यसरी बारीमै दिन बिताउन थालेको ३५ वर्षभन्दा बढी भयो।

साढे तीन दशकदेखि निरन्तर कृषि कर्ममा क्रियाशील सापकोटा अहिले पनि माटोप्रतिको माया र तरकारी उब्जाउ गर्ने काममा कमी कत्ति पनि आएको छैन। व्यावसायिकरूपमा गोलभेँडा, काउली बन्दा, सिमीलगायतका तरकारी उत्पादनमा तल्लीन उनी थुप्रै कृषकका उत्प्रेरणाका स्रोत र सारथि बनेका छन्। पानी, प्रविधिलगायतका थुप्रै सामग्रीको अभावका बीच पनि कुँडुलेमा व्यावसायिक कृषि कर्ममा खटिरहने सापकोटाको प्रेरणाबाट धेरै व्यावसायिक कृषि कर्म थालेका छन्। कृषि कर्मबाट निकै सन्तुष्ट देखिने उनलाई नेपाली माटोमा सुन फलाउन सकिने विश्वास छ।

सामान्य परिवारका सापकोटालाई व्यावसायिक तरकारी खेती गर्नुपूर्व बिहानबेलुकीको गर्जो टार्न गाह्रो हुन्थ्यो। ज्याला–मजदुरी र निमेक गरेर परिवार पाल्नुपर्थ्यो। तर तरकारी खेतीमा लागेपछि तीन छोरी र चार छोरालाई राम्रोसँग पढाउनुका साथै परिवार पालेर पनि करिब दुई करोडको जग्गा किन्न सफल भएका छन्। उनले आजको यो सफलता सहजै पाएको भने होइन। थुप्रै हन्डर र ठक्कर खाँदै यहाँसम्म आइपुगेको उनको भनाइ छ। सुरुका वर्ष व्यावसायिक तरकारी उत्पादन गर्दा बिक्री नै नभएको उनको तितो अनुभव छ।

‘जिन्दगीमा के काम गरिएन र, सबै काम गरियो तर, तरकारी खेतीबाट मलाई सुख र खुसी मिल्यो, विसं २०४८–४९ तिर गोलभेँडा, काउली र मसला बिक्रीका लागि बागलुङ बजारतिर लग्यौँ तर बिक्री भएन,’ उनले भने, ‘सबै फाल्नुपर्छ कि भन्नेजस्तो लाग्यो, त्यतिबेला निकै दुःख लागेको थियो, तर पछिपछि राम्रो भयो, यहाँको माटो अत्यन्त उब्जाउ हुने खालको छ, जे लगाए पनि राम्रो फल्छ, त्यसैले यहाँको माटोमा सुन फलाउन सकिन्छ।’

सुरुका दिनमा बारीमा धेरै काँक्रा तथा फलफूल उत्पादन भएको र बिक्री नभएपछि बजारमा निःशुल्कसमेत बाँडेको उनले सुनाए। सुरुआतीका केही समयबाहेक पेसालाई पछि फर्केर हेर्न नपरेको उनी बताउँछन्।

सुरुको आर्थिक अवस्था अत्यन्त दयनीय रहेका सापकोटाले कृषि पेसाबाटै आफ्नो आर्थिक अवस्था बदल्न सफल भएका छन्। त्यो बाहेक महत्त्वपूर्ण उपलब्धि आज थुप्रै किसानलाई समस्या पर्दा कृषकसँगै समाधानमा लाग्दै आएका छन्। तरकारी खेतीले आर्थिक अवस्थासँगै आफ्नो परिचयसमेत बदलिएको सापकोटाको भनाइ छ। उनलाई ‘तरकारी काका’ पनि भनेर चिन्ने गर्छन्। रासस

प्रकाशित: १९ चैत २०७९ १०:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =