सरकारको प्राथमिकता स्थायी शान्ति कायम गर्ने हो : उपप्रधानमन्त्री खड्का

हिमाल प्रेस १८ चैत २०७९ १३:५६
2
SHARE
सरकारको प्राथमिकता स्थायी शान्ति कायम गर्ने हो : उपप्रधानमन्त्री खड्का

काठमाडौँ- उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकारले मुलुकको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्दै स्थायी शान्ति कायम गर्ने बताएका छन्।

आज ललितपुरको बाँडेगाउँस्थित भट्टराई आश्रमको अवलोकन एवं निरीक्षण गर्दै उनले भने, ‘निर्वाचनपछि एकखालको दुर्घटना भयो, प्राकृतिकरूपमा जुन गठबन्धनको सरकार बन्नुपर्थ्याे, बन्न सकेन।’

खड्काले थपे,‘त्यसपछि विकसित घटनाक्रमले अहिले यो सरकार बनेको छ, हिजो निर्वाचनका बेला जनतासामु जेजे एजेन्डा लिएर गएका थियौँ, ती एजेन्डामा सहमत हुने दल एक ठाउँमा आइपुगेका छौँ।’

उनले अहिलेको सरकारको प्राथमिकता मुलुकको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्दै स्थायी शान्ति कायम गर्नु, शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिनु, स्थायी शान्तिको जगमा आर्थिक समृद्धि हासिल गर्नु रहेको बताए।

उनले नेपाल राष्ट्र र नेपाली जनताको आर्थिक वृद्धि गर्दै निश्चित वर्षभित्रै नेपाललाई विकसित राष्ट्रका रूपमा पुर्‍याउनु वर्तमान सरकारको प्राथमिकता भएको बताए। उपप्रधानमन्त्री खड्काले संसद्मा रहेका सबै दल र संसद् बाहिर रहेका दललाई समेत समेटेर एकताबद्ध गराउने प्रतिबद्धता जनाए।

उनले सबै दललाई न्यूनतम साझा कार्यक्रमभित्र समेटेर मुलुकको स्वाभिमान, सुरक्षा, नेपाली जनताको हितमा एकताको भाव बोकेर वर्तमान सरकार अगाडि बढ्नेमा जोड दिए।

उनले आश्रममा रहेको नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको पूर्णकदको सालिक अगाडि दीप प्रज्वलन गर्दै सालिकमा माल्यार्पण गरे।

प्रकाशित: १८ चैत २०७९ १३:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =