तीन महिनापछि सत्तामा फर्कियो कांग्रेस, मन्त्रिपरिषद् १८ सदस्यीय

हिमाल प्रेस १७ चैत २०७९ १६:००
36
SHARES
तीन महिनापछि सत्तामा फर्कियो कांग्रेस, मन्त्रिपरिषद् १८ सदस्यीय

काठमाडौँ- पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार विस्तार भएपछि मन्त्रिपरिषद् १८ सदस्यीय भएको छ। संघीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस सत्तामा सहभागी भएसँगै मन्त्रिपरिषद् १८ सदस्यीय भएको हो। प्रधानमन्त्री प्रचण्डको सिफारिसमा शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

पुस १० सम्म सत्तामा रहेको कांग्रेस त्यति बेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री नदिँदा प्रतिपक्षीमा पुगेको थियो। तीन महिनापछि माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वकै सरकारमा कांग्रेस सहभागी भएको हो।

कांग्रेससँग कुरा नमिलेर नेकपा एमालेसँग सत्ता साझेदारी गर्न पुगेका प्रचण्ड पनि एमालेसँग तीन महिना नटिकी कांग्रेससँग नजिकिन पुगेका छन्। राष्ट्रपति निर्वाचनमा आइपुग्दा प्रचण्डले एमालेसँगको सहकार्य टुटाएका थिए।

शुक्रबार विस्तारित मन्त्रिपरिषद्‌मा दुई उपप्रधानमन्त्री, १४ मन्त्री र एक राज्य मन्त्री छन्। प्रधानमन्त्री प्रचण्डले कानुन न्याय तथा संसदीय मामिला, परराष्ट्र, युवा तथा खेलकुद, वन तथा वातावरण र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आफैँसँग राखेका छन्।

माओवादीबाट प्रधानमन्त्री, उपप्रधानमन्त्रीसहित पाँच मन्त्री र एक राज्यमन्त्री, कांग्रेसबाट उपप्रधानमन्त्रीसहित चारमन्त्री, नेकपा एकीकृत समाजवादीबाट दुई मन्त्री, लोकतान्त्रिक समाजवादी, नेपाल समाजवादी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र जनता समाजवादीबाट एक मन्त्री नियुक्त भएका छन्।

सरकारको दोस्रो वरीयतमा रहेका कांग्रेसका पूर्णबहादुर खड्कालाई उपप्रधानमन्त्रीसहित रक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ। यस्तै तेस्रो वरीयतामा रहेको माओवादीका नारायणकाजी श्रेष्ठले उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयको जिम्मेवारी पाएका छन्। उनले नेतृत्व गर्दै आएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नेकपा एकीकृत समाजवादीले पाएको छ।

यसैगरी एकीकृत समाजवादीका वेदुराम भुसाल कृषि तथा पशुपन्छी विकास, जसपाका अशोककुमार राई शिक्षा, विज्ञान तथा प्रविधि र लोसपाका शरतसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री भएका छन्।

अर्थ मन्त्रालयको जिम्मेवारी कांग्रेसका प्रकाशशरण महतले पाएका छन् भने नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादव महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री बनेका छन्। माओवादीका शक्तिबहादुर बस्नेत ऊर्जा, जलस्रोत तथा सिँचाइ र रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि मन्त्री भएका छन्।

यस्तै माओवादीकै सुदन किराँती संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासन बनेका छन्। नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा नियुक्त भएका छन्।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बनेकी छन्। कांग्रेसका रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति, सीता गुरुङ सहरी विकासमन्त्री र माओवादीकी सुशीला सिर्पाली ठकुरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री भएका छन्।  खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका जनमत पार्टीका अब्दुल खानले भने  शुक्रबार नै राजीनामा दिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =