पूर्णबहादुरको सत्तारोहण ; भट्टराईको स्नेह पात्रदेखि देउवाको दाहिने हातसम्म

हिमाल प्रेस १७ चैत २०७९ १६:०७
142
SHARES
पूर्णबहादुरको सत्तारोहण ; भट्टराईको स्नेह पात्रदेखि देउवाको दाहिने हातसम्म फाइल तस्बिर

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्काले नेतृत्व गरेका छन्। उनी शुक्रबार उपप्रधानमन्त्री तथा रक्षामन्त्रीमन्त्रीमा नियुक्त भएका हुन्। खड्का वर्तमान सरकारको दोस्रो वरीयतामा रहेका छन्।

कांग्रेस राजनीतिमा झन्डै पाँच दशकदेखि सक्रिय खड्कालाई पार्टी सभापति देउवाको दाहिने हातका रूपमा लिने गरिन्छ। पछिल्लो समयमा देउवाले लिने सबैजसो निर्णयमा खड्काको भूमिका रहने भएकाले उनलाई देउवाका रणनीतिक योजनाकार पनि भन्ने गरिन्छ। गठबन्धनको नीति तथा कार्यक्रम निर्माणमा पनि उनको सक्रिय भूमिका थियो।

देउवा समूहमा आउनुअघि पूर्णबहादुर खुमबहादुर खड्काको समूहमा थिए। खुमबहादुरको निधनपछि पूर्णबहादुरलाई देउवाले ०७५ वैशाखमा मा महामन्त्री मनोनीत गरेका थिए। चौधौँ महाधिवेशनमा खड्का पार्टीको उपसभापतिमा निर्वाचित भए।

पटकपटक मन्त्री भइसकेका खड्का दुईपटक गृहमन्त्री भइसकेका छन्। उनीसँग युवा तथा खेलकुदमन्त्री (दुईपटक), सञ्चारमन्त्री र उद्योग वाणिज्य मन्त्रालयको नेतृत्व सम्हालेको अनुभव पनि छ।

२०३१ सालबाट राजनीतिमा लागेका खड्का २०३४ सालमा सुर्खेत कांग्रेसको सभापति भएका थिए। पञ्चायतकालको प्रतिबन्धित अवस्थामा उनी निरन्तर राजनीतिमा सक्रिय रहे। उनलाई त्यति बेला सन्त नेता कृष्णप्रसाद भट्टराईको विशेष स्नेह थियो। भट्टराईलाई आदर्श मान्ने खड्का अहिले पनि ललितपुरको बाडेगाउँस्थित भट्टराईको कुटीमा पुगेर स्मरण गर्छन्।
पटकपटक मन्त्री भएका उनी विवादमा नपर्ने नेतामध्येमा पर्छन्।

२०४८, २०५१, २०५६ का संसदीय चुनाव जितेका खड्का २०६४ सालमा समानुपातिक सांसद बनेका थिए। २०७० सालमा चुनाव जितेका खड्का २०७४ सालको संसदीय चुनावमा भने पराजित भएका थिए। केपी ओली नेतृत्वको सरकारविरुद्ध गठबन्धन बनाउन सक्रिय भूमिका खेलेका खड्का २०७९ को चुनावमा विजयी भएका छन्।

२०१० सालमा सुर्खेतमा जन्मिएका खड्काका बुवा जिल्ला पञ्चायतको उपसभापति थिए। अर्थशास्त्रमा स्नातकोत्तर गरेका खड्का नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य एवम् पूर्वउपसभापति पनि हुन्। खड्का ०३६ सालको जनमतसंग्रह, ०४६ सालको आन्दोलन र २०६२/०३ को आन्दोलनमा पनि सक्रिय भूमिकामा थिए।

प्रकाशित: १७ चैत २०७९ १६:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =