बारा २ : मंसिर ४ का चार पराजित उम्मेदवार एकै ठाउँमा

हिमाल प्रेस १७ चैत २०७९ १३:१०
8
SHARES
बारा २ : मंसिर ४ का चार पराजित उम्मेदवार एकै ठाउँमा

काठमाडौँ- आगामी वैशाख १० गते  तीन निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुँदैछ। उपचुनाव हुने निर्वाचन क्षेत्र हुन्- बारा २, चितवन २ र तनहुँ १ मा निर्वाचित प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपतिमा विजयी बनेपछि उपनिर्वाचन गर्नुपरेको हो। बारा २ मा निर्वाचित सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन तोकिएको हो।

चितवन २ मा भने नागरिकता विवादका कारण निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पद गुमेपछि उपनिर्वाचन गर्नुपरेको हो।

यसपटक यी सबै क्षेत्रमा रोचक प्रतिस्पर्धा हुँदैछ। रोचक यसकारण कि यी सबै क्षेत्रमा प्रभावशाली नेता भिड्दैछन्। यसमध्ये पनि बारा २ भने भिन्न किसिमले अहिले चर्चामा छन्। बारा २ मा प्रतिस्पर्धा गर्न लागेका अधिकांश पात्र पुराना छन्।

मंसिर ४ को निर्वाचनमा हार व्यहोरेकै पात्रको भेट पुन: एक पटक हुने भएको छ। हालसम्म रास्वपाबाट रमेश खरेल, जनमत पार्टीबाट शिवचन्द्र कुशवाह, जनता समाजवादी पार्टीबाट उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादीबाट राजेन्द्र महतोले प्रतिस्पर्धा गर्न निश्चित भइसकेको छ।

रमेश खरेल 

मंसिर ४ को निर्वाचनमा काठमाडौँ १ बाट प्रतिनिधिसभा सदस्यमा लडेका व्यक्ति हुन्, रमेश खेरल। सुशासन पार्टीका अध्यक्षसमेत रहेका खरेलले ३ हजार १२४ मत मात्र पाएका थिए। कांग्रेसका नेता प्रकाशमान सिंह ७ हजार १४३ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी राप्रपाका रवीन्द्र मिश्रले ७ हजार १८ मत पाएका थिए।

राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले ४ हजार ११५ र एमालेका किरण पौडेलले ३ हजार ५३२ मत  पाएका छन् ।  खरेललाई त्यसैबेला  रास्वपाबाट उठ्न प्रस्ताव गरिएको थियो। उनले मानेनन्। उनी सुशासन पार्टीसहितका केही दलको मोर्चाबाट उम्मेदवार बनेका थिए।

शिवचन्द्र कुशवाह

बारा २ बाट लड्ने तयारी गरिरहेका शिवचन्द्र कुशवाह नयाँ अनुहार  होइनन्। उनी मंसिर ४ को निर्वाचनमा सोही क्षेत्रमै उपविजेता बनेका थिए।अबको निर्वाचनमा कुशवाहको क्षेत्र सोही परे पनि पार्टी भने फरक हुनेछ। त्यसबेला माओवादी केन्द्रबाट लडेका उनी अब जनमत पार्टीबाट लड्दैछन्।

मंसिर ४ को निर्वाचनमा जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादवले १३ हजार आठ सय २२ मत ल्याएर निर्वाचित हुँदा कुशवाहले १३ हजार चार सय ६८ मत प्राप्त गरेका थिए। उनीहरूबीच तीन सय ५४ मतान्तर थियो। कुशवाह केही दिनअघि माओवादी परित्याग गर्दै जनमत प्रवेश गरेका हुन्। माओवादी केन्द्रले गठबन्धनमा रहेर जनता समाजवादीलाई समर्थन गर्ने भएपछि असन्तुष्ट हुँदै उनले पार्टी छाडेका थिए।

उपेन्द्र यादव 

मधेशका ‘मसिहा’ मानिने उपेन्द्र यादव मंसिर ४ को चुनावमा जनमत पार्टीका अध्यक्ष सीके राउतसँग १८ हजारभन्दा बढी मतान्तरले  पराजित भएका थिए। यादव उपनिर्वाचनमार्फत संसद् भवन छिर्ने दाउमा छन्।

संसद् छिर्ने रणनीतिकै रूपमा उपेन्द्रले बारा २ मा निर्वाचित रामसहायप्रसादलाई उपराष्ट्रपति बनाएका हुन्।  उनलाई अबको निर्वाचनमा वर्तमान गठबन्धनको साथ रहनेछ।

राजेन्द्र महतो 

अघिल्लो २०७४ को निर्वाचनमा झिनो मतले जितेर प्रतिनिधिसभा छिर्न सफल भएका राजेन्द्र महतोलाई मंसिर ४ को निर्वाचन फापेन। २०७४ को निर्वाचनमा धनुषा ३ बाट महतोले ३० हजार ७२५ मत ल्याएर विजयी हुँदा कांग्रेसका विमेलेन्द्र निधिले २७ हजार ८४७ मत पाएका थिए। यसपटक धनुषा ३ छाडेर सर्लाही २ पुगेका महतो मा‌ओवादी केन्द्रको चुनाव चिह्न लिएर उठेका नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादवसँग पराजित भएका थिए।

यादवले २३ हजार ५२९ मत प्राप्त गर्दा निकटतम् प्रतिस्पर्धी महतोले २१ हजार ५१८ मत प्राप्त गरे। महतोले पनि संसद् छिर्ने अभिलाषा छाडेका छैनन्। उनले आफूलाई बारा २ का मतदाताले उम्मेदवार बन्न आग्रह गरिरहेको बताएका छन्।

यस्तो थियो मंसिर ४ को नतिजा

प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत बारा क्षेत्र नं २ मा जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार रामसहायप्रसाद यादव १३ हजार ८२२ मत ल्याई विजयी भएका थिए। यादवले निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहलाई ३५४ मतान्तरले पराजित गरेका हुन्। पराजित शिवचन्द्रप्रसाद कुशवाहले १३ हजार ४६८ मत ल्याएका थिए।

स्वतन्त्र उम्मेदवारहरू रामकिशोरप्रसाद यादवले ११ हजार ४३ मत, रवीन्द्रप्रसाद यादवले १० हजार ७५० मत,अरुणकुमार ज्ञवालीले सात हजार ६९८ मत पाएका थिए भने जनमत पार्टीका राजेश साहले दुई हजार ७२५ मत र नागरिक उन्मुक्ति पार्टीका तेजबहादुर भगतले एक हजार १११ मत ल्याएका थिए।

प्रकाशित: १७ चैत २०७९ १३:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =