यी हुन् आज मन्त्रीको शपथ लिने सम्भावित अनुहार

हिमाल प्रेस १७ चैत २०७९ १०:२४
20
SHARES
यी हुन् आज मन्त्रीको शपथ लिने सम्भावित अनुहार

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज ‍‍(शुक्रबार) सातौँपटक मन्त्रिपरिषद् विस्तार गर्दैछन्। नेकपा एमाले र राप्रपाले सरकार छाडेपछि भने मन्त्रिपरिषद् विस्तार हुन लागेको यो पहिलोपटक हो। यद्यपि भागबन्डा मिल्न बाँकी छ।

बालुवाटारमा पटकपटक मन्त्रिपरिषद् विस्तारका लागि छलफल भएको थियो। तर, टुंगो भने लाग्न सकेको थिएन। तर बालुवाटारमा भएको बिहीबारको बैठकले मोटामोटी खाका तय गरेको छ। जसमा कांग्रेस ८, एकीकृत समाजवादी र जसपा २–२, लोसपा, नागरिक उन्मुक्ति, नेसपा र आजपा १–१ मन्त्रालय लिएर सरकारमा जाने भएका छन्।

यसअघि नै सरकारमा रहेका माओवादीले ५ र जनमतले १ मन्त्रालय पाएका छन्। सहमतिलाई शुक्रबार बिहानसम्म अन्तिम रूप दिएर अपराह्नमा नयाँ मन्त्रीहरूलाई शपथ गराउने तयारी छ।

सम्भावित अनुहार

कांग्रेस

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले उपप्रधानसहित रक्षामन्त्री बनेर सरकारमा दलको नेतृत्व गर्ने तयारी छ। अर्का उपसभापति धनराज गुरुङ सामान्य प्रशासनमन्त्री बन्दैछन्। कांग्रेस सभापति देउवाले प्रकाशशरण महतलाई अर्थमन्त्री बनाउने निर्णय गरेका छन्।

रमेश रिजाललाई परराष्ट्र, एनपी साउदलाई सहरी विकास, सीता गुरुङलाई भूमि व्यवस्था, डिगबहादुर लिम्बूलाई न्याय, कानुन तथा संसदीय मामिला र मोहनबहादुर बस्नेतलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री बनाउने तयारी छ।

कांग्रेसबाट शेखर कोइराला समूहले तीन मन्त्रालय माग गरे पनि हालसम्म दुई मात्र पाएको छ। गुरुङ र लिम्बू कोइरालानिकट हुन्। कांग्रेसबाट मन्त्री बन्न अन्तिम समयमा  बस्नेत थपिएका छन्। उनी देउवा निकट नेता हुन्।

माओवादी केन्द्र 

माओवादी केन्द्रको भागमा प्रधानमन्त्रीबाहेक गृह, ऊर्जा, सञ्चार, पर्यटन र महिला तथा बालबालिका मन्त्रालय परेका छन्। अहिले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रहेका नारायणकाजी श्रेष्ठले गृह मन्त्रालय पाउने भएका छन्।

अहिले नै सञ्चारमन्त्रीमा रेखा शर्मा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा सुदन किराती छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय कांग्रेसको भागमा परेकाले वर्तमान मन्त्री अमनलाल मोदीले महिला तथा बालबालिका मन्त्रालय पाउने भएका छन्।

शक्ति बस्नेतलाई ऊर्जा मन्त्रालय दिने तयारी रहेको माओवादी स्रोत बताउँछ। माओवादीबाटै सुशीला सिर्पाली ठकुरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री छिन्।

अन्य दल

एकीकृत समाजवादीका उपाध्यक्ष वेदुराम भुसालले कृषि मन्त्रालय पाउने भएका छन्। पार्टी उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री बन्ने भएका छन्। यसअघि भुसाललाई शिक्षामन्त्री बनाउने भनिए पनि अन्तिममा परिवर्तन गरिएको छ।

जसपाले शिक्षा मन्त्रालय लिने भएको छ, अर्को मन्त्रालय भने टुंगो लाग्न बाँकी छ। लोसपाबाट वरिष्ठ नेता शरतसिंह भण्डारी श्रममन्त्री बन्ने भएका छन्। नेसपाबाट महिन्द्रराय यादव खानेपानीमन्त्री बन्ने तयारी छ। नागरिक उन्मुक्तिबाट अध्यक्ष रञ्जिता श्रेष्ठले युवा तथा खेलकुद मन्त्रालय लिने भएकी छन्।

हाल खानेपानीमन्त्री रहेका जनमतका अब्दुल खानले उद्योग मन्त्रालय खोजेका छन्। यद्यपि एकीकृत समाजवादीलाई एक राज्यमन्त्री थप हुन सक्छ।

प्रकाशित: १७ चैत २०७९ १०:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =