राष्ट्रियसभाका सांसदको चिन्ता : राष्ट्रिय पुस्तकालय नाजुक भयो, सुधारौँ

हिमाल प्रेस १६ चैत २०७९ ११:५३
2
SHARE
राष्ट्रियसभाका सांसदको चिन्ता : राष्ट्रिय पुस्तकालय नाजुक भयो, सुधारौँ फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रियसभाका सांसदहरूले नेपाल राष्ट्रिय पुस्तकालय अव्यवस्थित बनेको र पुस्तकहरू नष्ट हुँदै गएको भन्दै सरकारले संरक्षण गर्नुपर्ने माग गरेका छन्।

आज राष्ट्रियसभाअन्तर्गत प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा सांसदहरूले यस्तो माग गरेका हुन्।

समितिद्वारा केही दिनअघि गरिएको पुस्तकालयको अवलोकन भ्रमणमा देखिएका विषयमाथि गरेको छलफलमा अधिकांश सांसदहरूले पुस्तकालयको सुधार गरी व्यवस्थित बनाउन माग गरे। समितिले यसै साता पुस्तकालयलको अवलोकन गरेको थियो।

पुस्तकालय अवलोकनमा पुस्तकालयको अवस्था नाजुक रहेको पाइएको सांसदहरूले बैठकमा बताए। उनीहरूले सरकारी स्वामित्वको राष्ट्रिय पुस्तकालयमा राखिएका पुराना पठन सामग्री पुस्तक तथा पत्रपत्रिकामा कीरा, धमिरा, ढुसी, ओस र धुलोको कारण नष्ट हुन थालेको देखिएको बताए।

सांसदहरूले पुस्तक तथा पत्रपत्रिकामा लागेको पत्रपत्रिकामा कीरा, धमिरा, ढुसी, ओस र धुलोको कारणको कारण रोग लाग्नसक्ने अवस्था रहेकाले सरकारले त्यसको तत्काल व्यवस्थापनका लागि काम गर्न समितिले ध्यानाकर्षण गराउनुपर्ने माग गरे।

बैठकमा समिति सभापति मायाप्रसाद शर्माले पुस्तकालयका पठन सामग्री बजेट अभावका कारण अव्यवस्थित भएको भन्दै व्यवस्थापनका लागि समितिबाट बजेटको सहजीकरण गरिदिन माग आएको बताए।

पुस्तकालयको दराज, भवनको छत, अध्ययन कक्ष, पुरिएर बसेका पुराना पुस्तकहरूको उत्खनन गर्नुपर्ने देखिएको उनको भनाइ थियो।

पुस्तकालयमा देखिएका समस्या हल गरी पुस्तकालयलाई व्यवस्थित र आधुनिक बनाउन ८५ लाख बजेट माग गरिएको उनले बताए। उनले सरकारको स्वामित्वमा रहेकाले पुस्तकालयलाई व्यवस्थित गरी बचाउन सबै मिलेर लाग्न आवश्यक रहेको औंल्याए।

सभापति शर्माले राज्यको सम्पत्ति पुस्तकालयमा रहेकाले यसको संरक्षणका लागि शिक्षा मन्त्रालय र सम्बन्धित निकायसँग छलफल गरी बजेट व्यवस्थापनका लागि पहल गर्नुपर्ने र भूकम्पका कारण पुस्तकालयका पुस्तक सामग्री अव्यवस्थित देखिएको भन्दै पुस्तकालयको संरक्षण गर्न सबै जिम्मेवार पक्षले पहल गर्न जरुरी रहेको बताए।

त्यस्तै छलफलमा सांसद तुलसाकुमारी दाहालले पुस्तकालयको समस्यामाथि तत्कालीन र दीर्घकालीन समाधानका उपाय पहिल्याएर सम्बन्धित पक्षसँग छलफल गरी सरकारले व्यवस्थापन गर्नुपर्ने बताइन्।

उनले पुस्तकालयमा भएको तत्काल नष्ट हुने पुस्तक,पत्रिका संरक्षण गर्न आवश्यक रहेको भन्दै स्थायी भवन निर्माणका लागि सम्बन्धित मन्त्रालय र निकायसँग सहकार्य एवं समन्वयन गर्न समितिले पहल गर्नुपर्ने बताइन्।

उनले सरकारको सम्पत्ति पुस्तकालय भएपनि निजी पुस्तकालय जस्तो पनि नभएको टिप्पणी गरिन्। त्यस्तै अर्का सांसद सुमित्रा बिसीले पुस्तकालय व्यवस्थित बनाएर जान तत्कालीन र दीर्घकालीन योजना बनाएर जानको लागि शिक्षामन्त्रीसँग नै छलफल गरेर जानुपर्ने बताइन्।
उनले पुस्तकालयको भवन अस्थायी भएको भन्दै सकेसम्म आगामी आर्थिक वर्षमा नै भवनको लागि आवश्यक बजेट व्यवस्थापन गर्न पहल गर्नुपर्ने बताइन्।

सांसद नरबहादुर बिष्टले सरकारले चाहेको खण्डमा ८५ लाख रुपैयाँ तत्काल दिनसक्ने अवस्था रहेको बताए। उनले चार महिनाभित्र व्यवस्थित बनाउने गरी समितिले निर्देशन गर्न आवश्यक रहेको बताए। पुस्तकालय भनिएको छ पढ्न जाँदा बिरामी हुने अवस्था रहेको उनको भनाइ थियो।

छलफलमा सांसद युवराज शर्माले पुस्तकालयमा बस्ने कर्मचारीले समेत पुस्तकहरू छुनसक्ने अवस्था नभएको र मुलुकको राष्ट्रिय पुस्तकालयको अवस्था व्यवस्थित हुन नसक्नु दुःखदायी रहेको बताए।

प्रकाशित: १६ चैत २०७९ ११:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =