बालेनलाई प्रधानमन्त्रीको जबाफ : यो सरकार पाँचै वर्ष टिक्छ

हिमाल प्रेस १५ चैत २०७९ १३:४४
4
SHARES
बालेनलाई प्रधानमन्त्रीको जबाफ : यो सरकार पाँचै वर्ष टिक्छ

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार पाँच वर्ष नै टिक्ने बताएका छन्। न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनलाई बुधबार सम्बोधन गर्दै यस्तो दाबी गरेका हुन्।

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले सरकार फेरबदल भइरहँदा स्थानीय तहलाई पनि काम गर्न कठिनाइ हुने गरेको कुराको जवाफ दिँदै दाहालले सरकार पाँच वर्ष टिक्नेमा ढुक्क हुन आग्रह गरे।

उनले भने, ‘कामनपा प्रमुख बालेन्द्र साहज्यूले सरकार फेरबदल भइरहँदा कतिपय कठिनाइ आएको कुरा गर्नुभयो। तर स्थानीय तहको निर्वाचनपछि संघ र प्रदेशको निर्वाचन भइसकेर यहाँसम्म आइसक्दा म नै सरकारमा छु। तपाईँ ढुक्क हुनुहोस्, यो सरकार ५ वर्ष नै टिक्छ भन्ने मलाई विश्वास छ।’

प्रधानमन्त्री दाहालले सरकार अब बिस्तारै लयमा आइरहेको भन्दै देश विकासका काममा लाग्ने बताए। उनले सम्मेलन नेपालको संघीय प्रणाली एवं स्थानीय तहमा न्याय निरूपणका दृष्टिले निकै महत्त्वपूर्ण रहेको बताए।

प्रधानमन्त्री दाहालले संविधानले राज्यको अग्रगामी पुनर्संरचनासहित अधिकारको व्यवस्थित बाँडफाँट गरेको बताउँदै यसको ठिक ढंगले प्रयोग र अभ्यास गर्न सकेमा नेपालको संघीय प्रणाली विश्वकै निम्ति अनुपम उदाहरण बन्न सक्ने बताए।

संविधान, संघीय कानुन र प्रदेश कानुनसँग नबाझिने हदसम्म कानुन निर्माण गर्ने स्थानीय तहहरूको अधिकार विश्वका लागिसमेत प्रेरणादायी रहेको प्रधानमन्त्रीले दाबी गरे।

यस्तै उनले सरकार संघीय शिक्षा ऐन, संघीय निजामती ऐन लगायत महत्वपूर्ण ऐनहरू निर्माण गर्न सक्रियताका साथ लागिरहेको जानकारी दिए।

उनले भने, ‘कतिपय संघीय कानुनहरूसमेत एकाअर्कासँग बाझिएको परिस्थितिमा त्यसको समाधानका निम्ति केन्द्र सरकारले समन्वयकारी भूमिका खेलिरहेको छ। उल्लिखित ऐनहरूले निर्माण र संशोधनको प्रक्रिया पूरा हुँदा हाम्रो संघीय व्यवस्था र अभ्यासले नयाँ फड्को मार्नेछ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + six =