कोशी प्रदेश : नामकरणको विषयले विराटनगर तनावग्रस्त, डीएसपीसहित २२ जना घाइते

विवेक विवश रेग्मी १४ चैत २०७९ १८:४४
288
SHARES
कोशी प्रदेश : नामकरणको विषयले विराटनगर तनावग्रस्त, डीएसपीसहित २२ जना घाइते

इटहरी– प्रदेश १ को नामकरण कोशी राखिएको भन्दै पहिचान पक्षधरहरूले मंगलबार पनि आन्दोलन गरेका छन्।  विराटनगरको रोडशेष चौकस्थित विग होटल अगाडि मुख्य राजमार्गमै पहिचान पक्षधरहरूले आन्दोलन गरेका हुन्। गत चैत ५ गते आन्दोलनका क्रममा लाठी लागेर घाइते भएका धरान १५ बस्दै आएका पदम लिम्बू लाजेहाङको चैत १० गते मृत्यु भएपछि पहिचान पक्षधरहरू थप आन्दोलित बनेका हुन्।

मंगलबार दिउँसो १ बजेबाट सुरु भएको आन्दोलन दिउँसो ३ः३० बजेसम्म जारी रह्यो। आन्दोलनका क्रममा प्रहरीले २९ राउण्ड हवाई फायर गरेको छ। आन्दोलनमा सूरक्षाकर्मीसहित १९ जना घाइते भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

नेपाल प्रहरीका डीएसपीसहित ६, सशस्त्र प्रहरी बल ३ र आन्दोलनकारी १३ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार झडपमा डीएसपी विजय क्षेष्ठसहितका सूरक्षाकर्मीहरू घाइते छन्। झडपमा परेर २२ जना घाइते भएका छन्।

घाइते हुनेहरूमा एन के दर्नाल, शिव आङ्देम्बे, उदय नेम्बाङ, ज्ञानप्रसाद राई र सुरज राई रहेका छन्। त्यस्तै, सरोज लिम्बू, अशोक राई, पदम लिम्बू, विशाल राई, रेसम राई, रोयल राई, बिमल किराँती र आस्था राई रहेका छन्। यीबाहेक सूरक्षाकर्मीहरू पनि घाइते भएका छन्।

उनीहरूको विराटनगरस्थित कोशी हस्पिटल र पारस हस्पिटलमा उपचार भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। प्रदर्शनमा उत्रिएका पहिचान पक्षधरका आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा विराटनगर तनावग्रस्त बनेको हो।

प्रदर्शनकारीले प्रहरीको घेरा तोडेर अगाडि बढेपछि झडपको अवस्था सृजना भएको थियो। प्रहरीले स्थिति नियन्त्रण लिन २९ राउण्ड हवाइफायर र ४४ राउण्ड अश्रुग्याँस प्रहार गरेको छ। जसमध्ये १७ राउण्ड हवाइफायर नेपाल प्रहरीले र १३ राउण्ड हवाइ फायर सशस्त्र प्रहरीले गरेको बताइएको छ।

प्रदर्शनकारीको भीड नियन्त्रण गर्न प्रदेश प्रहरी कार्यालयबाट आएको सवारी साधनबाट पानीको फोहरासमेत प्रहार गरिएको थियो। प्रदेश नं. १ पुनः नामांकन संयुक्त संघर्ष समितिले प्रदेशको नामकरण कोशी स्वीकार नहुने भन्दै आन्दोलन जारी राखेको जनाएको छ। यसैबीच झापाको दमक नगरपालिकामा पहिचान पक्षधरहरूले तालाबन्दी गरेका छन्। मंगलबार बिहान दमक नगरपालिकाको कार्यालय पुगेर पहिचान पक्षधरहरूले तालाबन्दी गरेका हुन्।

ताला लगाउने क्रममा प्रहरी र पहिचान पक्षधरबीच झडप हुँदा नगरपालिकाका झ्यालका सिसा समेत फुटेका छन्। यसअघि प्रदर्शनकारीहरुले मोरङको उर्लाबारी नगरपालिकाको प्रवेशद्वारमा पनि तालाबन्दी गर्दै एक वडाअध्यक्षमाथि कुटपिट गरेका थिए।

सबै तस्बिरहरू  सौजन्य : सुजता लिम्बू 

 

प्रकाशित: १४ चैत २०७९ १८:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =