यी हुन् मन्त्रीका आकांक्षी कांग्रेस नेता

हिमाल प्रेस १४ चैत २०७९ १६:०५
168
SHARES
यी हुन् मन्त्रीका आकांक्षी कांग्रेस नेता

काठमाडौँ- नेपाली कांग्रेसका केही प्रभावशाली नेताहरू मन्त्री बन्न अनुच्छिक देखिए पनि सभापति शेरबहादुर देउवा निकट नेताहरू मन्त्री बन्न कसरत गरिरहेका छन्। यसका लागि उनीहरूले आफ्नो तर्फबाट लबिइङ गरिरहेको एक नेताले जानकारी दिए।

नेपाली कांग्रेसका पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह, विमलेन्द्र निधिलगायतका नेताहरू प्रचण्ड नेतृत्वको सरकार धेरै नटिक्ने भन्दै छोटो समयका लागि मन्त्री नबन्ने पक्षमा छन्।

सत्ता गठबन्धनमा कांग्रेसले कुनकुन मन्त्रालय पाउने भन्ने निश्चित भएको छैन। कांग्रेस कसको नेतृत्वमा सरकारमा जाने भन्ने टुंगो पनि लागेको छैन। तर नेताहरूले मन्त्री बन्न प्रयास जारी राखेका छन्।

कांग्रेसबाट मन्त्री बन्न चाहनेमा डा. प्रकाशशरण महत, डा. नारायण खड्का, विनोद चौधरीलगायत छन्। पार्टीले अर्थ मन्त्रालय पाएमा डा. महत र डा. खड्काले दाबी गर्ने भएका छन्।

अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका महत दुईपटक मन्त्री र एकपटक राज्यमन्त्री भइसकेका छन्। उनले अर्थ मन्त्रालयको नेतृत्व भने गरेका छैनन्। महतले अर्थशास्त्र पढेको, परराष्ट्र र ऊर्जा मन्त्रालय चलाएको हिसाबले आफू योग्य रहेको दाबी गर्दै आएका छन्।

यस्तै भारतको पुनाबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका खड्काले परराष्ट्र र सहरी विकास मन्त्रालयको नेतृत्व सम्हालिसकेकाले आफू अब अर्थको नेतृत्व गर्न तयार रहेको निकट नेताहरूसँग बताउने गरेका छन्।

व्यवसायीसमेत रहेका सांसद चौधरीको रुचि भने अर्थ मन्त्रालयमा छैन। अर्थको नेतृत्व लिँदा स्वार्थ बाझिने भएकाले परराष्ट्रको चाहना राखेको एक नेताले जानकारी दिए। ती नेताले भने, ‘अन्तर्राष्ट्रिय सञ्जाल तयार गरिसकेको व्यवसायी भएका कारण चौधरी कूटनीतिक विषय बुझेका व्यक्ति मानिन्छन्।’

चौधरीमा मन्त्रालयको नेतृत्व लिने क्षमता रहेको कांग्रेसकै केही नेताहरूको बुझाइ छ। उच्चस्तरीय भ्रमणमा नेपाली नेताले कुरा बुझ्न नसक्दा सल्टाइदिएर महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाले चौधरीले परराष्ट्रको दाबी गर्नु स्वाभाविक रहेको परराष्ट्र मन्त्रालयका एक पूर्वसचिवले बताए।

एउटा घटना स्मरण गर्दै ती पूर्वसचिवले भने, ‘भारतमा भएको एक उच्चस्तरीय भ्रमणमा प्रधानमन्त्रीलाई आईटीहब देखाउन लगिएको थियो। त्यहाँ भएको अन्तरक्रियामा नेताहरूले केही नबोलेपछि चौधरीले आईटीका विषयमा समेत प्रवचन दिएर प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको उद्धार गरेका थिए।’

मन्त्रीका आकांक्षीमा महामन्त्री गगन थापा पनि छन्। थापाले पनि अर्थ र परराष्ट्र दुवैको चाहना राखेको उनी निकट एक नेताले बताए। ती नेताले भने, ‘महामन्त्री थापा सबै विषयमा जानकारी राख्ने र अध्ययनशील व्यक्ति मानिनुहुन्छ। त्यसैले उहाँ दुवै मन्त्रालयको नेतृत्व गर्न उपयुक्त पात्र हुनुहुन्छ।’

थापा २०७३ सालमा प्रचण्ड नेतृत्वको सरकारमा ९ महिना स्वास्थ्यमन्त्री भएका थिए। छोटो अवधिमा पनि स्वास्थ्य सम्बन्धी केही महत्त्वपूर्ण निर्णय गरेकाले उनको कार्यकाललाई धेरैले सम्झने गर्छन्।

मन्त्रीका आकांक्षी महत र खड्का दुवै नेता सभापति देउवा निकट मानिन्छन्। यस्तै डा. आरजु राणा, उदयशमशेर राणा, धनराज गुरुङ, किशोरसिंह राठोर, जीवन परियार पनि मन्त्रीको आकांक्षी रहेको कांग्रेस नेताहरू बताउँछन्।

डा. आरजु र उदयशमशेर दुवैले परराष्ट्रमा दाबी गरेका छन्। अन्तर्राष्ट्रिय कूटनीतिमा भारत र अमेरिकाबाट स्नातकोत्तर गरेका उदयशमशेर राणा यसअघि अर्थराज्यमन्त्री भएका थिए।

प्रकाशित: १४ चैत २०७९ १६:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 7 =