गृहसहितका तीन मन्त्रालय माग्दै नेकपा (एस)का नेताहरू बालुवाटारमा

हिमाल प्रेस १४ चैत २०७९ ११:१९
6
SHARES
गृहसहितका तीन मन्त्रालय माग्दै नेकपा (एस)का नेताहरू बालुवाटारमा

काठमाडौँ- सरकार विस्तारमा आफूलाई महत्त्वपूर्ण हिस्सा चाहिने अडान लिएर नेकपा एकीकृत समाजवादीका शीर्ष नेता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्। उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर तीन महत्त्वपूर्ण मन्त्रालय चाहिने बताइरहेका छन्।

पार्टीका सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल र नेता प्रकाश ज्वालालाई सँगै लिएर पार्टी अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार पुगेका हुन्। यतिबेला प्रधानमन्त्री प्रचण्ड र नेकपा एसका नेताहरूबीच मन्त्रालय भागबन्डा, मन्त्रिपरिषद् विस्तारलगायत विषयमा छलफल भइरहेको छ।

सरकारमा सहभागी हुने तयारीमा रहेको नेकपा एकीकृत समाजवादीले गृहसहित तीन मन्त्रालय पाउनुपर्ने माग गर्दै आएको छ। तर गृह मन्त्रालय आफैँले राख्ने माओवादी केन्द्रको अडान छ।

भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठलाई गृहमा सार्ने प्रधानमन्त्रीको योजना छ। यता नेकपा (एस) भने गृह आफूलाई दिनुपर्ने अडान लिइरहेको छ।

उसले गृहसहित अन्य मालदार मन्त्रालय चाहिने अडान लिएको छ। तर प्रधानमन्त्रीले धेरै पार्टीको सरकार भएकाले अहिले सबै आवश्यकता पूरा गर्न नसक्ने बताएको एकीकृत समाजवादीनिकट स्रोतको भनाइ छ। यद्यपि गृहकै कारण गठबन्धनभित्र अविश्वास बढाउन नहुने बताएर नेकपा एसले आफ्नो दाबीलाई अन्य मन्त्रालयतिर सहमतिमा जान सकिने बताएको छ।

आजै अपराह्न ४ बजे सत्ता गठबन्धनको बैठक बस्ने भनिएको छ। बैठकमा मन्त्रालय भागबन्डा टुंग्याएर मन्त्रिपरिषद् विस्तारको तयारीमा प्रधानमन्त्री प्रचण्ड लागेको बताइन्छ। नेकपा एसले केन्द्रमा तीन मन्त्रालय र एउटा प्रदेशमा मुख्यमन्त्री पाउनुपर्ने दाबी गर्दै आएको छ।

प्रकाशित: १४ चैत २०७९ ११:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + thirteen =