प्रधान सेनापति शर्मालाई ‘एकाडेमी हल अफ फेम’ सम्मान

हिमाल प्रेस १३ चैत २०७९ २०:३८
6
SHARES
प्रधान सेनापति शर्मालाई ‘एकाडेमी हल अफ फेम’ सम्मान

काठमाडौँ– प्रधान सेनापति प्रभुराम शर्मा ‘एकाडेमी हल अफ फेम’ सम्मानबाट सम्मानित भएका छन्। सोमबार खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा आयोजित अधिष्ठापन समारोहमा प्रतिष्ठानका शिक्षाधिकृत सहायक रथी अनुपजंग थापाले उनलाई ‘सर्टिफिकेट अफ अनर प्रदान गरेका हुन्।

प्रतिष्ठानबाट अधिकृत क्याडेट आधार तालिम पुरा गरी सेनाको सर्वोच्च पदमा पुगेका शर्मालाई सो सम्मानबाट सम्मानित गरिएको हो।

कार्यक्रममा मन्तव्य राख्दै सेनापति शर्माले सैनिक जीवनको प्रारम्भिक दिनहरूमा प्रतिष्ठानका शिक्षकवर्गबाट प्राप्त हुने सैनिक मूल्य र मान्यतासहितको पेशागत ज्ञानले दुरगामी प्रभाव पार्ने उल्लेख गरे।

प्रतिष्ठानमा प्रदान गरिने तालिमले कठिनाइहरूसँग जुध्न, चुनौतीको सामना गर्न, अभावसँग खेल्न, साहस र धैर्यतासँग मितेरी गाँस्न, दृढता, जिम्मेवारी, संकल्पलाई सारथी बनाउन तथा बौद्धिक विकासको लागि अध्ययनशील हुन ठूलो भूमिका खेल्ने उनले बताए।

वर्तमान समयमा प्रविधिको विकाससँगै जटिल बन्दै गएको अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा आन्तरिक सुरक्षा परिवेशसँग जुध्न बहुआयामिक विज्ञताको आवश्यकता रहेको उनको भनाइ छ।

विभिन्न शिक्षण संस्थाहरूबाट तालिम प्राप्त गरेका शिक्षार्थीमध्ये विशेष नियुक्ति र पद हासिल गर्नेहरूलाई सम्मान गर्ने र उनहरूको तस्बिर विशेष कक्षमा राखी सम्मान प्रकट गर्ने प्रचलन अनुरूप नेपाली सैनिक प्रतिष्ठानमा एकाडेमी हल अफ फेम अधिष्ठापन समारोह आयोजना गरिएको हो।

समारोहमा प्रधान सेनापतिले सि.सं. २० अधिकृत क्याडेट तालिमका गुरुवर्गलाई सम्मान गरे। नेपाली सेनाको इतिहासमा नेपाली सैनिक प्रतिष्ठानबाट अधिकृत क्याडेट आधार तालिम पुरा गरेका शिक्षार्थीमध्ये सेनापतिको नियुक्ति पाउने शर्मा तेश्रो छन्। यस अघि यस्तै अवसर राजेन्द्र क्षेत्री (अ.प्रा.) र पूर्णचन्द्र थापा (अ.प्रा.) ले प्राप्त गरेका थिए।

उक्त समारोहमा पूर्वप्रधानसेनापति, त्रि.वि.का उपकुलपति तथा प्राध्यापक, नेपाली सेनाका बहालवाला एवम् अवकाशप्राप्त रथीबृन्द, नेपाली सैनिक प्रतिष्ठानका पूर्वशिक्षाधिकृत तथा डीनलगायत सेनाका अधिकृतहरू उपस्थित थिए।

अधिष्ठापन कार्यक्रमअघि सोमबार नै आयोजित दीक्षान्त समारोहमा सि.सं. ६० अधिकृत क्याडेट तालिमका शिक्षार्थी अधिकृतहरूलाई त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाले प्रमाण पत्र र सेनापति शर्माले चारित्रिक प्रमाण पत्र प्रदान गरे।

त्रिभुवन विश्वविद्यालयसँग नेपाली सैनिक प्रतिष्ठान सम्बन्धनको २५ औं वर्ष पुगेको अवसरमा आयोजित समारोहमा जाम्बियाका १, महिला ११ गरी जम्मा ८६ क्याडेटहरूले मानविकीतर्फ कलाशास्त्रीबाट दीक्षित भएका छन्। हालसम्म सैनिक प्रतिष्ठानबाट विदेशी २३ जना सहित जम्मा २,८५५ जना स्नातकोपाधिसहित दीक्षित भइसकेका छन्।

प्रकाशित: १३ चैत २०७९ २०:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 10 =