सुनचाँदी कारोबार असुरक्षित रहेको व्यवसायीको गुनासो

हिमाल प्रेस १२ चैत २०७९ १७:२९
8
SHARES
सुनचाँदी कारोबार असुरक्षित रहेको व्यवसायीको गुनासो

काठमाडौँ- सुनचाँदी व्यवसायीले सुनचाँदी कारोबार असुरक्षित रहेको गुनासो गरेका छन्। काठमाडौँ सुनचादी व्यवसायी संघको २० औँ वार्षिक साधारणसभामा सहभागी व्यवसायीहरूले व्यवसाय सञ्चालनका लागि आवश्यक मापदण्ड तथा निर्देशिका नहुँदा आफूहरू समस्यामा परेको बताएका हुन्।

पारदर्शी र वैज्ञानिक मूल्यमा डिजिटल तराजुबाट जोखेर शुद्ध र गुणस्तरीय सुनचाँदीका गरगहना बनाई सेवा दिइरहे पनि अनेक समस्या भोग्नुपरेको उनीहरूले बताएर

विदेशबाट फर्कने नेपालीले सुविधामा ल्याउने गरगहना आवश्यकताअनुसार खरिदबिक्री गर्न मान्यता दिने व्यवस्था नहुनु र स्थानीय बजारमा पुराना गरगहना फिर्ता हुन आउने खरिदलाई आधिकारिक मान्यता प्रदान नगर्नु राज्यको कमजोरी रहेको उनीहरूको भनाइ छ।

सुनचाँदीलाई देवानी संहितामा उल्लेख भएजस्तै चल सम्पत्तिका रूपमा लगानी गर्न खरिद गर्ने वातावरण नहुनु, गरगहना निकासी गर्न नीतिनियम नहुनु उनीहरूले अघि सारेका अन्य समस्या हुन्।

यस्तै सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी आन्तरिक राजस्व विभागबाट बहुमूल्य धातु वा वस्तु कारोबार गर्ने व्यवसायीले सूचक संस्थाका रूपमा १० लाख वा सो भन्दामाथिको कारोबार गर्ने ग्राहकको केवाईसी र फाइनान्सियल इन्टेलिजेन्स युनिटमा १५ दिनभित्रमा प्रतिवेदन पठाउनुपर्ने व्यवस्थाले गर्दा व्यवसाय धरापमा परेको उनीरूले बताए।

राष्ट्रिय उपभोक्ता मञ्चका संयोजक प्रेमलाल महर्जनले सुनचाँदी व्यवसायीबाट राज्यले अर्बौँको राजस्व उठाइरहे पनि व्यवसायीको समस्यामा सुनुवाइ नभएको बताए। सरकारले १५ वर्षदेखि सुनमा लगाएको कोटा प्रणाली र बैंकहरुले मात्र आयात र विक्री गर्न पाउने नियन्त्रित बजारका कारण व्यवसायी अपमानित रहेको उनले बताए।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले सरकारबाट छिटो भन्दा छिटो नियन्त्रित बजारको व्यवस्था हटाउँदै खुला बजार नीति अनुसार निजी क्षेत्रलाई समेत प्रतिस्पर्धी बनाउनुपर्ने बताए।

व्यवसायीका अनुसार नेपाली बजारमा दैनिक ३० केजी सुन आवश्यक छ। तर नेपाल राष्ट्र बैंकबाट दैनिक १० केजी सुन मात्र उपलब्ध हुने गरेको छ।

शाक्यले आपूर्ति कम र माग बढी भएका कारण यस क्षेत्रमा विभिन्न दूषित मनसाय भएका व्यक्तिहरुको प्रवेश भई सुनचाँदीको कालोबजारी हुन थालेको बताए। उनले भने, ‘व्यवसायीको मागबमोजिम सिजनमा दैनिक ३० केजी र अफ सिजनमा २० केजी सुन बैंक तथा व्यवसायीमार्फत आपूर्ति गराउनुपर्छ।’

कार्यक्रममा बागमती प्रदेशकी सांसद हरिप्रभा खड्गी श्रेष्ठले नेपाली मौलिक परम्परागत गरगहना तयारीमा स्वदेशी कालिगढमा निर्भर हुने गरी प्रशिक्षण दिनका लागि सरकारका तर्फबाट सहयोगी भूमिका हुनुपर्ने बताइन्। उनले व्यवसायीलाई सहज हुने गरी व्यवस्था परिमार्जन गराउन संघीय सरकारलाइ सुझाव दिने दिलाएकी थिइन्।

प्रकाशित: १२ चैत २०७९ १७:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =