रित्तिँदै पहाड, तराईको कृषियोग्य जमिन भरिँदै

हिमाल प्रेस ११ चैत २०७९ २१:१५
10
SHARES
रित्तिँदै पहाड, तराईको कृषियोग्य जमिन भरिँदै

काठमाडौँ– पूर्वको ताप्लेजुङमा ०६८ सालमा १ लाख २७ हजार ४ सय ६१ जना बसोबास गर्थ्यो। पछिल्लो तथ्यांकअनुसार ताप्लेजुङमा बसोबास गर्ने मानिसको संख्या १ लाख २० हजार ५ सय ९० मा झरेको छ। यो ०७८ सालको जनगणनाको तथ्यांक हो। तथ्यांकअनुसार पाँचथरको जनसंख्या पनि विगत १० वर्षमा घटेको छ।

०६८ सालमा १ लाख ९१ हजार ८ सय १७ जना रहेकोमा ०७८ सालको जनगणनाको नतिजाअनुसार १ लाख ७२ हजार ४ सय जना छ। पूर्वी भुभागकै तराईको जिल्ला झापामा भने सो अवधिमा जनसंख्या बढेको छ। २०६८ सालमा कुल ९ लाख ६५ हजार ३ सय ७० जना रहेको झापाको जनसंख्या पछिल्लो समय ९ लाख ९८ हजार ५४ जना पुगेको छ।

पश्चिम बैतडीमा ०६८ सालको जनगणना तथ्यांकअनुसार २ लाख ५० हजार ८ सय ९८ जना बसोबास गर्थ्यो। १० वर्षपछि गरिएको पछिल्लो जनगणना नतिजाअनुसार बैतडीमा बसोबास गर्ने मानिसको संख्या २ लाख ४२ हजार १ सय ५७ जना छ।

यस्तै डडेल्धुरामा ०६८ सालको जनगणनाअनुसार १ लाख ४२ हजार ९४ जनाको बसोबास थियो। पछिल्लो जनगणना ०७८को नतिजाअनुसार डडेल्धुरामा १ लाख ३९ हजार ६ सय २ जनाको बसोबास छ। सोही क्षेत्रको तराई कैलाली र कञ्चनपुरमा भने जनसंख्या बढेको छ।

कैलालीमा ०६८अनुसार ७ लाख ७५ हजार ७ सय ९ जना रहेकोमा पछिल्लो जनगणना ०७८ अनुसार जनसंख्या ९ लाख ४ हजार ६ सय ६६ पुगेको छ। यस्तै कञ्चनपुरमा अघिल्लो जनगणनाअनुसार ४ लाख ५१ हजार २ सय ४८ जनाको बसोबास रहेकोमा पछिल्लो जनगणनाको नतिजाअनुसार ५ लाख १३ हजार ७ सय ५७ जना पुगेको छ।

राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको जनगणना ०७८ को नतिजाअनुसार हिमाली र पहाडी क्षेत्रको तुलनामा तराईको जनसंख्यामा बढोत्तरी देखिएको छ।

पछिल्लो तथ्यांकअनुसार तराईमा १ करोड ५६ लाख ३४ हजार ६ रहेको छ। उक्त संख्या कुल जनसंख्याको तुलनामा ५३.६१ प्रतिशत हो। शुक्रबार सार्वजनिक तथ्यांकअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको छ। त्यसको ४०.३१ प्रतिशत जनसंख्या पहाडमा र ६.०८ प्रतिशत हिमालमा बसोबास गरिरहेका छन्।

राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको बसाइसराइसम्बन्धी तथ्यांक।

तराईमा बसोबास गर्नेको संख्या पछिल्लो १० वर्षमा ३ प्रतिशतभन्दा बढीले बढेको छ। हिमाल र पहाडमा बसोबास गर्नेको संख्या घटेको छ। ०६८ सालमा कुल जनसंख्याको ६.७३ प्रतिशत जनसंख्या हिमालमा बसोबास गथ्र्यो। त्यो बेला पहाडमा कुल जनसंख्याको ४३.०१ प्रतिशत जनंख्या बसोबास गर्थ्यो।

बसाइसराइ रोक्न आवश्यक

राष्ट्रिय योजना आयोगका पूर्वअध्यक्ष पुष्प कँडेल पहाड र हिमाली क्षेत्रभन्दा तराईमा सुविधा बढी हुने भएकाले तराईको जनसंख्या बढेको बताउँछन्।

यातायात, बिजुली, अस्पताललगायतका पूर्वाधार तराईमै केन्द्रित भएकाले तराईको जनसंख्या बढेको उनको भनाइ छ। मुलुक संघीयतामा गएपछि प्रदेशका अधिकांश राजधानीसमेत तराईमै राखिएकाले पहाड र हिमाली क्षेत्रबाट तराईमा बसाइसराइ गर्नेको संख्या बढेको उनी बताउँछन्।

उनकाअनुसार तराईमा जनसंख्या थुप्रिनु मुलुकको दीर्घकालीन हितका लागि राम्रो संकेत होइन। ‘तराई कृषिभुमि पनि हो। तराईमा जनघनत्व बढ्दा कृषिभुमि खण्डीकरण झनै बढ्छ,’ उनी भन्छन्, ‘उब्जनीमा समस्या आउँछ नै। समाजिक विभाजनको जोखिम पनि हुन्छ।’

तराईतिर बसाइसराइ रोक्न आवश्यक रहेको उनको भनाइ छ। हिमाली र पहाडी क्षेत्रमा पूर्वाधार बनाउने र तराईतिरको बसाइसराइ रोक्नु अनिवार्य भइसकेको उनले बताए।

सरकारले मुलुकको समिष्टिगत विकास लागि त्रिवर्षीय तथा पञ्चवर्षीय योजना कार्यान्वयन गर्दै आए पनि बसाइसराइ रोक्नसम्बन्धी स्पष्ट योजना समावेश छैन। पछिल्लो समय आर्थिक वर्ष ०७६/७७ देखि आर्थिक वर्ष ०८०/८१ सम्मका लागि कार्यान्वयनमा रहेको १५औं योजनामा पनि बसाइसराइ रोक्ने तथा बसाइसराइको सन्तुलन मिलाउने स्पष्ट योजना छैन।

प्रकाशित: ११ चैत २०७९ २१:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − two =