३८ हजार परिवार अझै टुकीको उज्यालोमा

हिमाल प्रेस ११ चैत २०७९ १६:२२
12
SHARES
३८ हजार परिवार अझै टुकीको उज्यालोमा

काठमाडौँ- नेपालमा ३८ हजारभन्दा बढी परिवार टुकीको उज्यालोमा बस्ने गरेको पाइएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको २०७८ सालको जनगणनाअनुसार ३८ हजार ९ सय ७ परिवारले उज्योलो बाल्न मट्टितेल (टुकी)को प्रयोग गर्ने गरेको पाइएको हो।

कार्यालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार मुलुकभर कुल ६६ लाख ६० हजार ८४१ घरपरिवार छन्। सोमध्ये ६१ लाख ३९ हजार १ सय ४१ परिवारमा बिजुली पुगेको छ। ४ लाख ३९ हजार २ सय ८२ परिवारले उज्यालोका लागि सौर्यबत्ती प्रयोग गर्छन्।

तथ्यांकअनुसार २ हजार ३२ परिवारले उज्यालोका लागि बायोग्यासको प्रयोग गर्छन्। ४१ हजार ४ सय ७९ परिवारले अन्य विभिन्न स्रोतबाट उज्यालो गर्ने तथ्यांक कार्यालयले जानकारी दिएको छ।

तराईमा उच्च

तथ्यांकअनुसार तराई क्षेत्रमा मट्टितेलको प्रयोग गर्ने परिवारको संख्या उच्च रहेको छ। कुल ३३ लाख ६ हजार ५ सय ५१ परिवार रहेको तराईमा २८ हजार ३ सय ३९ परिवारले उज्यालोका लागि मट्टितेलको प्रयोग गर्छन्। तराईमा ३२ लाख ७ सय ८५ परिवारमा विद्युत् पनि पुगेको छ।

६१ हजार ४ सय ३२ परिवारले उज्यालोको स्रोतका रूपमा सौर्यबत्ती प्रयोग गर्छन्। त्यस्तै १ हजार ३ सय ४९ परिवारले बायोग्यास र १४ हजार ६ सय ४६ परिवारले अन्य विभिन्न स्रोतबाट उज्यालो प्रयोग गर्छन्।

पहाडमा कुल २९ लाख ४५ हजार ३० परिवार छन्। सोमध्ये ८ हजार ९ सय ९६ परिवारले उज्यालोका लागि मट्टितेल प्रयोग गर्छन्। २६ लाख १७ हजार २ सय ९८ परिवारमा विद्युत् पुगेको तथ्यांक छ।

२ लाख ९६ हजार ४ सय ४९ परिवारले सौर्यबत्तीको प्रयोग गर्छन्। ४ सय ९७ परिवारले बायोग्यास तथा २१ हजार ७ सय ९० परिवारले अन्य स्रोतबाट उज्यालो बाल्ने गरेका छन्।

तुलनात्मक रूपमा न्यून घरपरिवार संख्या रहेको हिमाली क्षेत्रमा १ हजार ५ सय ७२ परिवारले मट्टितेलको प्रयोग गर्छन्। ४ लाख ८ हजार २ सय ६० परिवार हिमाली क्षेत्रमा बस्छन्। सोमध्ये ३ लाख २१ हजार ५८ परिवारमा विद्युत् पुगेको तथ्यांक छ।

हिमाली क्षेत्रमा ८१ हजार ४ सय १ परिवारले सार्यबत्ती प्रयोग गर्छन्। १ सय ८६ परिवारले मट्टितेल तथा ५ हजार ४३ परिवारले अन्य स्रोतबाट उज्यालो बनाउने गरेका छन्।

प्रकाशित: ११ चैत २०७९ १६:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =