‘ओलीकै कारण’ प्रदेश सरकारबाट धमाधम बाहिरिँदै एमाले

हिमाल प्रेस १० चैत २०७९ १६:३९
24
SHARES
‘ओलीकै कारण’ प्रदेश सरकारबाट धमाधम बाहिरिँदै एमाले एमाले अध्यक्ष केपी शर्मा ओली।

काठमाडौँ- केन्द्रमा प्रतिपक्षमा सरेको नेकपा एमाले प्रदेशमा धमाधम सत्ता गुमाउँदैछ। सुदूरपश्चिम प्रदेशमा एमाले सत्ताबाट बाहिरिइसकेको छ। एमालेले माओवादीसँगको भागबन्डामा सुदूरपश्चिममा मुख्यमन्त्री पाएको थियो। विश्वासको मत नपाएपछि मुख्यमन्त्री राजेन्द्रसिंह रावल सत्ताबाट बाहिरिए। अहिले सुदूरपश्चिममा कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री बनेका छन्।

गण्डकी प्रदेशमा माओवादीले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। माओवादी केन्द्रले खगराज अधिकारी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो। अधिकारीले २९ पुसमा माओवादी केन्द्र र राप्रपाको मतले विश्वासको मत पाएका थिए।

माओवादीले समर्थन फिर्ता लिएसँगै अधिकारीको सरकार अल्पमतमा परेको छ। अधिकारीलाई एमालेका २२ मध्ये २१, माओवादी केन्द्रका ८ र राप्रपाका २ जना गरी ३१ सांसदले विश्वासको मत दिएका थिए।
६० सदस्यीय प्रदेशसभामा एमालेका २१ मात्र सांसद छन्। तर विश्वासको मत पाउन ३१ मत चाहिन्छ। यसका लागि राप्रपाका दुई सांसदबाहेक अधिकारीले अन्य मत पाउने देखिँदैन। अधिकारीको सरकार ढलेमा यहाँ कांग्रेसको सरकार बन्न सक्छ।

यस्तै बागमती प्रदेशमा पनि एमाले सरकारबाट बाहिरिएको छ। यद्यपि मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत पाएका छन्। एमालेका सांसदीय दलका नेतासमेत रहेका अर्थमन्त्री जगन्नाथ थपलियाले सरकारबाट बाहिरिएको र पदबाट राजीनामा दिएको घोषणा गरे।

यसअघि राप्रपाबाट मन्त्री बनेका तीन जनाले फागुन १३ गते नै राजीनामा बुझाएका थिए। बागमतीमा नेकपा माओवादी केन्द्र, एमाले र राप्रपा मिलेर पुस २६ गते सरकार गठन भएको थियो। एमालेबाट थपलिया आर्थिक मामिला तथा योजना मन्त्री, एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात, रामेश्वर श्रेष्ठ स्वास्थ्य र केशवप्रसाद पोखरेल कृषि तथा पशुपन्छी विकासमन्त्री थिए।

धरमरमा परेको अर्को सरकार हो, लुम्बिनी। यहाँ पनि एमालेले नै सरकारको नेतृत्व गरिरहेको छ। ८७ सांसद रहेको लुम्बिनी सभामा गठनका लागि ४४ जनाको समर्थन आवश्यक पर्छ। एमालेका सांसद २९ मात्र छन्।  मुख्यमन्त्री लीला गिरीलाई यसअघि मत दिएका माओवादी, नागरिक उन्मुक्ति, लोसपा, जसपा र स्वतन्त्र सांसदले मत नदिने बताउँदै आएका छन्।

गिरीले एमालेको २९, माओवादी केन्द्रको ९, नागरिक उन्मुक्तिको ४, राप्रपाको ४, लोसपाको ३, जसपाको ३ र स्वतन्त्र ३ गरी ५५ सांसदको समर्थन पाएका थिए।

अब मुख्यमन्त्री गिरीले एमाले र राप्रपाका गरी ३३ सांसदको साथ पाउने देखिन्छ। अन्य दलले समर्थन फिर्ता लिएमा सरकार अल्पमतमा पर्ने देखिन्छ। सत्तारुढ घटकले समर्थन फिर्ता लिएमा सरकार ढल्नेछ। यद्यपि माओवादीबाहेकका अन्य दल हालसम्म मौन छन्।

कांग्रेसले आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गर्न साना दललाई पनि सहयोग मागिरहेको छ। माओवादीसमेत सरकार गठनकै लागि साना दलसँग परामर्शमा लागेको छ। गत पुस २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका गिरीले माघ ५ मा विश्वासको मत पाएका थिए।

९३ सदस्यीय कोशी प्रदेशमा मुख्यमन्त्री कार्कीलाई ५९ सांसदले विश्वासको मत दिएका थिए। तर यहाँ एमालेका ४० सांसद मात्र छन्। कार्कीलाई माओवादी केन्द्रका १३, राप्रपाका ६ र जनता समाजवादी पार्टीका १ सांसद (एक अनुपस्थित) ले विश्वासको मत पाएका थिए।

कोसीमा माओवादीले सरकार छाड्दैछ। माओवादीले सरकार छाड्दा मात्र सरकार अल्पमतमा पर्दैन। तर वर्तमान सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टी (जसपा)ले पनि सरकार छाड्दा कार्की सरकार अल्पमतमा पर्छ।

माओवादी र जसपा सरकार छाड्ने प्रयत्नमै छन्। यद्यपि सरकारको नेतृत्व कसले गर्ने भन्ने विवाद गठबन्धनमा छ। तर कार्की अल्पमतमै परे पनि त्यसपछि ठूलो दलको हैसियतले पनि उनी आफैँ मुख्यमन्त्री बन्न सक्छन्। किनकि प्रदेश १ मा सबैभन्दा ठूलो पार्टी एमाले नै हो। ठूलो दलको हैसियतमा पनि विश्वासको मत नपाए सत्ता छाड्नुपर्छ।

केन्द्रदेखि प्रदेशसम्म एमाले सरकार भत्किनुको कारक एमाले अध्यक्ष केपी शर्मा ओली रहेको विपक्षी दलका नेताहरू बताउँछन्। संघीय सरकारमा पनि ओलीकै कारण दोस्रो पटक विश्वास मत लिनुपरेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका थिए। उनले चैत ६ मा विश्वासको मत लिँदै गर्दा आफूले एमाले अध्यक्ष ओलीकै कारण दोस्रो पटक विश्वासको मत लिनुपरेको बताएका थिए।

‘उहाँ (ओली)ले संसद् विघटन गर्ने अधिव्यक्ति दिएकाले झस्किए,’ प्रचण्डले भनेका थिए, ‘पहिलो संसद्बाटै विघटनको कुरा आएपछि मेरो कांग्रेससँग लभ पर्‍यो।’ माओवादीका दोस्रोस्तरका नेता पनि सोही कुरा बताउँदै आएका छन्। माओवादीका सचिव देवेन्द्र पौडेल ओली शैलीकै कारण गठबन्धन ब्युँताउनुपरेको सुनाउँछन्। ‘हामीमाथि बारम्बार हस्तक्षेप भयो। साना दललाई लिएर प्रधानमन्त्रीमाथि दबाब बढाएपछि सिफ्ट हुनुपर्‍यो’, उनले भने।

ओलीको प्रधानमन्त्रीको काममा समेत हस्तक्षेप गरेपछि परिवर्तन गर्नुपरेको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल बताउँछन्। एमाले नेताहरू भने प्रचण्डका कारण अस्थिरता छाएको बताउँछन्।

एमाले सचिव योगेश भट्टराई वाम एकतालाई लत्याएर प्रचण्ड अघि बढेकाले अहिलेको स्थिति आएको बताउँछन्।  नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल ओलीले संसद् विघटन गरेकै कारण अस्थिरता आएको सुनाउँछन्। ‘२०७७ पुुस ५ को संसद् विघटन र नेकपा विघटन नै कारक हो। मुख्य कारक ओली नै हुन्’, भुसाल भन्छन्।

प्रकाशित: १० चैत २०७९ १६:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − seven =