चिनियाँ पर्यटकको नेपाल बसाइ लम्ब्याऔँ : पर्यटन व्यवसायी

हिमाल प्रेस १० चैत २०७९ १३:१९
12
SHARES
चिनियाँ पर्यटकको नेपाल बसाइ लम्ब्याऔँ : पर्यटन व्यवसायी फाइल तस्बिरः सिन्ह्वा।

काठमाडौँ- पर्यटन व्यवसायीहरूले मजबुत पर्यटन नीति बनाउन माग गरेका छन्। चिनियाँ पर्यटकको नेपाल बसाइ लम्ब्याउन, सडक पूर्वाधारको विकास गर्न र मजबुत पर्यटन नीति बनाउन उनीहरूले माग गरेका हुन्।

पर्यटन व्यवसायीहरूले चीन सरकारले नेपाललाई दोस्रो गन्तव्य देशको सूचीमा राखेकाले नेपाल घुम्न आउने चिनियाँ पर्यटकमा वृद्धि हुने भन्दै बसाइ लम्ब्याउन र पूर्वाधार निर्माणमा जोड दिन माग गरेका हुन्।

कोभिड–१९ महामारीको कारण चीन सरकारले चिनियाँ नागरिकलाई विदेश घुम्न रोक लगाएको थियो। तर केही दिनअघि मात्रै चीन सरकारले आफ्ना नागरिकका लागि नेपाललाई गन्तव्य मुलुकको दोस्रो सूचीमा राखेको छ।

चिनियाँ नागरिकका लागि गन्तव्य मुलुकको पहिलो सूचीमा थाइल्याण्डलगायत अन्य मुलुक परेका छन्। नेपालमा सन् २०१९ सम्म चिनियाँ पर्यटकको आगमन उल्लेख्य मात्रामा थियो। महामारीपछि चिनियाँ पर्यटकको आगमन कम हुँदै आएको छ।

पर्यटन व्यवसायीहरूले नेपाल आउने पर्यटकहरूलाई सेवा दिन भौतिक संरचनालगायत अन्य सेवाका लागि निजी क्षेत्र तयारी अवस्थामा रहेको बताएका छन्।

पर्यटन व्यवसायी सुदर्शन नेपालले चीन सरकारले नेपाललाई दोस्रो गन्तव्य देशको सूचीमा राखेकाले नेपालले हवाई उडानलाई नियमित सीधा उडान सेवा थप विस्तार गर्नुपर्ने बताए।

‘चिनियाँ पर्यटक आउँदा होटल, गाइडहरूले प्रत्यक्षरूपमा लाभ लिन सक्छन्। रेष्टुरेन्टमा खानामा बढी खर्च गर्ने तथा नेपाली उत्पादनहरू सबैभन्दा बढी खरिद गर्ने गर्छन्,’ उनले भने, ‘सरकारले चिनियाँ पर्यटक बढाउन चार्टर उडान पनि गर्न सक्नुपर्छ।’ उनले तिब्बत घुम्न आउने पर्यटकहरूलाई सडक मार्ग हुँदै धेरै पर्यटक भित्र्याउन सकिने सम्भावना रहेको बताए।

अर्का पर्यटन व्यवसायी अभिषेक साहले सरकारले चीनका पर्यटक ल्याउन नियमित रूपमा चीन–नेपाल हवाई उडानको व्यवस्था गर्नुपर्ने बताए। उनले कति चिनियाँ पर्यटक नेपाल ल्याउने भन्ने मुख्य भूमिका सरकारको भएको बताए। सरकारले सबैभन्दा पहिले पर्यटन नीति बनाउन आवश्यक रहेको उनको भनाइ छ।

प्रकाशित: १० चैत २०७९ १३:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =