कोशी नामकरणविरुद्व आन्दोलनमा घाइते भएका लिम्बूको मृत्यु

हिमाल प्रेस १० चैत २०७९ ८:१५
36
SHARES
कोशी नामकरणविरुद्व आन्दोलनमा घाइते भएका लिम्बूको मृत्यु

इटहरी- कोशी प्रदेश नामकरणविरुद्व आन्दोलनमा घाइते भएका एक युवकको मृत्यु भएको छ। गत चैत ५ गते विराटनगरस्थित मुख्यमन्त्री कार्यालय अगाडि कोशी प्रदेश खारेजीको माग राख्दै आन्दोलनमा सहभागी भएका पदम लिम्बू घाइते भएका थिए।

घाइते भएका लिम्बूको उपचारको क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी राजकुमार राईले पुष्टि गरे। डीएसपी राईले भने, ‘आज राति निधन भएको भन्ने कुरा आएको छ, हामी पनि घटनाबारे थप बुझ्ने प्रयत्न गरिरहेका छौँ।’

लाजेहाङ नामले परिचित रहेका लिम्बूको आज बिहान २ः३० बजे निधन भएको हो। लिम्बूवान भोलन्टियर्स केन्द्रीय सिनियर कमान्डर लिम्बूको आन्दोलनमा सशस्त्र प्रहरीको कुटाइबाट गम्भीर घाइते भएका थिए।

प्रदेश १ सरकारले कोशी प्रदेश नामाकरण राखिएपछि पहिचान पक्षधर दलहरू आन्दोलनरत छन्। मोरङको लालभित्ती घर भएका लिम्बू धरान १५ मा बस्दै आएका थिए। विराटनगरको प्रदर्शनमा सशस्त्र प्रहरीले आन्दोलनकारी माथि निषेधित क्षेत्र नजिक अश्रुग्याँस प्रहार गरेको थियो।

लगत्तै हवाई फायर गरेको प्रहरीसँग दोहोरो भिडन्तका बेला लाठी चार्जमा घाइते लिम्बुको टाउकोमा गम्भीर चोट परेको हो । टाउकोमा चोट लागेका उनले बान्ता गरेपछि अचानक बेहोस भएपछि उपचारार्थ बीपी प्रष्तिठान पुर्याइएको थियो चिकित्सकहरूले लिम्बूलाई तत्काल आइसियुमा भर्ना गराएपनि उनको होस खुल्न सकेको थिएन ।

सहिद घोषणा गर्न माग, घटनाको छानबिन आयोग गठन गर्न माग
यसैबीच प्रदेश नं १ को पुनः नामांकन संयुक्त संघर्ष समितिले आज (शुक्रबार) बिहान एक विज्ञप्ती जारी गर्दै सहिद घोषणा गर्न माग राखेको छ।
थप उपचारका लागि हेलिकोप्टर चार्टर गरी काठमाडौँ लैजाने तैयरी गरिरहेको अवस्थामा वीरता पूर्ण मृत्यु वरण गरेको विज्ञप्तीमा छ।

‘लाजेहाङको हत्याको जिम्मा प्रदेश १ लाई षडयन्त्रमूलक ढंगले कोसी नाम राख्ने ८२ जना सांसदहरू, पर्टीहरू, मुख्यमन्त्री हिक्मत कार्की र वर्तमान प्रधानमन्त्री एवं नेपाल प्रहरीले लिुन पर्दछ।’ विज्ञप्तीमा उल्लेख छ। लिम्बुको हत्याको अनुसन्धान गर्न छानविन आयोग गठन गर्न समेत माग गरिएको छ।
लाजेहाङलाई सहिद घोषणा गर्न माग गर्दै विज्ञप्तीमा लाजेहाङको हत्याको राजनीतिक बद्ला लिइछाड्ने, हत्याराहरूलाई कानुनी कठघरामा उभ्याउने, कोशी प्रदेश नाम खारेज गराउने प्रतिबद्धता जनाउँदै संयुक्त संघर्ष जारी रहने जनाइएको छ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जिल्ला अध्यक्ष अमर इजमका अनुसार अन्तिम संस्कार दिवंगतको परिवार तथा पार्टीको निर्णय अनुसार गरिने भएको छ।

प्रकाशित: १० चैत २०७९ ८:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 11 =