दिल्लीका फ्ल्याटमा यौनधन्दा, १० नेपाली किशोरीको उद्धार

हिमाल प्रेस ९ चैत २०७९ १५:३८
80
SHARES
दिल्लीका फ्ल्याटमा यौनधन्दा, १० नेपाली किशोरीको उद्धार

काठमाडौँ- भारतमा जबर्जस्ती देह व्यापारमा लगाइएका नेपाली किशोरीसहित १० जनाको बिहीबार उद्धार गरिएको छ। बिहीबार भारतको राजधानी दिल्लीको किसनगढ क्षेत्रमा फ्ल्याटमा राखेर यौनधन्दामा लगाइएका उनीहरूलाई उद्धार गरिएको हो। उनीहरूको उमेर १५ देखि २५ वर्षसम्मको छ।

उनीहरूलाई नेपाल प्रहरी, मानव बेचबिखनविरुद्धको अनुसन्धान ब्युरो, नेपाली दूतावास, कीन इन्डिया, शक्ति समूह र दिल्ली प्रहरीको संयुक्त कारबाहीमा उद्धार गरिएको हो।

यसलाई ‘मिसन फ्ल्याट’ नामक अभियान चलाएर उनीहरूको उद्धार गरिएको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ। उद्धार गरिएकामध्ये एक महिलाले आफूलाई राम्रो जागिर छ भन्दै दिल्ली पुर्‍याइएको र त्यहाँ पुगेपछि जबर्जस्ती यौनधन्दामा लगाएको बताइन्।

‘मिसन फ्ल्याट’का बारेमा बताउँदै नेपाली दूतावासमा खटिएका एसएसपी उमाकान्त चतुर्वेदीले पोखराबाट चार जना युवती हराएको भन्ने रिपोर्ट जिल्ला प्रहरी कार्यालय, प्रहरी प्रधान कार्यालय, मानव बेचबिखन अनुसन्धान ब्युरो र प्रहरी महानीरीक्षकको सचिवालय हुँदै दिल्ली दूतावासमा प्राप्त भएको बताए।

त्यसपछि कीन इन्डिया र स्थानीय प्रहरीसँग समन्वय गरेर शक्ति समूहले हराएका चारमध्ये एक जना युवतीलाई फेला पारेको थियो। ती युवतीले हराएका बाँकी तीन जनाको ठेगाना बताएकी थिइन्। ‘संयुक्त रूपमा गरिएको कारबाहीमा हराएकासहित थप ७ जना नेपालीहरू फ्ल्याटबाट फेला पार्‍यौँ,’ उनले भने।

कीन इन्डियाका प्रमुख नवीन जोशीले ४८ घण्टाको निरन्तरको खोजीपछि महिलाहरूको उद्धार गर्न सकिएको बताए।

प्रारम्भिक अनुसन्धानअनुसार भारतमा राम्रो तलब र राम्रो काम लगाइदिने बहानामा नेपाली किशोरीहरूलाई दिल्ली पुर्‍याउने गरेको देखिन्छ। त्यहाँ फ्ल्याटमा राखेर यौनधन्दा गराउने पनि नेपाली नै रहेको खुलेको छ।

प्रकाशित: ९ चैत २०७९ १५:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 4 =