महासंघ र जिल्लाका व्यवसायीबीच सेतुको रूपमा काम गर्छु : अन्जन श्रेष्ठ

हिमाल प्रेस ९ चैत २०७९ १५:०९
6
SHARES
महासंघ र जिल्लाका व्यवसायीबीच सेतुको रूपमा काम गर्छु : अन्जन श्रेष्ठ

काँकरभिट्टा- नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका अन्जन श्रेष्ठले आफूले वरिष्ठ उपाध्यक्ष भएपछि महासंघका अध्यक्ष र जिल्लाका उद्योगी व्यवसायीहरूबीच सेतुको रूपमा काम गर्ने बताएका छन्।

कोशी प्रदेशको काँकरभिट्टामा आयोजित ‘लथालिङ्ग अर्थतन्त्र किन, कसरी, को जिम्मेवार?’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले आफूले महासंघका अध्यक्ष र जिल्लाका उद्योगी व्यवसायीहरूबीच सहयोगी र सेतुको रूपमा काम गर्ने बताएका हुन। ‘मैले वरिष्ठ उपाध्यक्ष भएपछि अहिलेको जस्तो नभइ अध्यक्ष र जिल्लाका उद्योगी व्यवसायीहरूबीच सेतुको रूपमा काम गर्नेछु,’ उनले भने, ‘विधानमा वरिष्ठ उपाध्यक्षको कामको बारेमा व्याख्या नगरे पनि आफूले सक्रियरूपमा उद्योगी व्यवसायीहरूको समस्या समाधानमा काम गर्नेछु।’

उद्योगी व्यवसायीहरूको समस्या समाधान गर्र्दै अर्थतन्त्रलाई सुधार गर्न र सक्रियरूपमा सहकार्य गर्ने उनको भनाइ थियो। ‘हामी आफैँले एसएमसईबाट व्यवसाय सुरु गरेर अहिलेसम्म यहाँ आएको हुँ। त्यसैले व्यवसायका समस्याहरूबारे पनि परिचित छु,’ उनले भने, ‘अहिले बजारमा समस्या छ र हामी सबै ऋण र ब्याज तिर्न कठिनाई भोगिरहेका छौँ। त्यसलाई कसरी समाधान गर्नेमा पनि उत्तिकै चिन्तित छु।’

कार्यक्रममा पूर्वअर्थसचिव शिशिर ढुंगानाले अर्थतन्त्र प्रणाली कमजोर हुँदा अहिले समस्या आएको भन्दै नीजिक्षेत्रसँग समेत सल्लाह नगर्दा यसले थप असर पारेको बताए। ‘अहिले राजस्व आम्दानी माइनसमा गयो। जसले सरकारको सार्वजनिक खर्च संकुचित बनायो,’ उनले भने, ‘यसले बजारमा पैसा जान सकेन र सबैतिर समस्या भयो।’

बैंक तथा वित्तीय क्षेत्रलाई कोभिडपछि सबै छाडिएको तर अहिले सबै एकैपटक कस्ने नीतिले समस्यामा पारेको उनको भनाइ थियो। ‘नीति बनाउँदा पर्याप्त सल्लाह नभएको देखिन्छ,’ उनले भने, ‘सामुहिक सल्लाह समेत गरिएन र निजीक्षेत्रसँग समेत सरसल्लाह भएन्। मौद्रिक नीतिमा समीक्षा भएन र प्राइभेट सेक्टरसँग छलफल नै गरिएन।’

प्रकाशित: ९ चैत २०७९ १५:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + sixteen =