धरानका मेयर र वडाध्यक्षबीच बढ्दो टकराव

हिमाल प्रेस ९ चैत २०७९ ११:३६
18
SHARES
धरानका मेयर र वडाध्यक्षबीच बढ्दो टकराव

इटहरी- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र वडाध्यक्षसहित २८ जना कार्यपालिका सदस्यबीच विवाद बढ्दै गएको छ। यसैबीच धरानमा रहेका सातवटा विभिन्न राजनीतिक दलले प्रेस विज्ञप्ती जारी गर्दै मेयरले दम्भ देखाएको आरोप लगाएका छन्।

मेयरकै स्वेच्छाकारी प्रवृत्तिका कारण विगतदेखि नै वडाध्यक्ष र कार्यपालिका सदस्यबीच असमझदारी बढ्दै गएको ठहर गर्दै सात दलले अहिले पनि त्यस्तै प्रवृत्ति दोहोरिएको बताएका हुन्।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले संयुक्त विज्ञप्ति जारी गर्दै मेयर साम्पाङले अमर्यादित र अश्लील गाली, गलौज गर्नु अशोभनीय भएको बताएका हुन्।

मेयर साम्पाङका निजी सचिवालयका कर्मचारीमार्फत वडाध्यक्षलाई पत्र लेखेर निर्देशन दिइएको र त्यो स्वीकार नभएको भन्दै पछिल्लो पटक धरानका वडाध्यक्षसहित कार्यपालिका सदस्यहरू मेयर साम्पाङप्रति असन्तुष्ट छन्।

सम्बन्धित महाशाखाबाट पत्राचार गरेर भूल सुधार गर्न र गल्ती ‘रियलाइज’ गर्न तथा सेवाग्राही सन्तोष लिम्बूमाथि भएको घटनामा उनले माग गरेको सिफारिस दिई आत्मालोचना गर्न र वडाध्यक्ष विवेक राईलाई सोधिएको स्पष्टीकरण फिर्ता लिई आँफूबाट भएको भूल स्वीकार गर्दै सम्पूर्ण जनप्रतिनिधिबीच आपसी एकता, सद्भाव र सहकार्य गरी सबैले ससम्मान काम गर्ने वातावरण निर्माण गर्न आग्रह गरेका हुन्।

‘त्यतिमात्र होइन केही युट्युव च्यानल तथा सञ्चार माध्यम प्रयोग गरी कार्यपालिका सदस्यहरूको विचारलाई काँटछाँट गरी अतिरन्जित गराउने तथा प्रोपोगाण्डा गर्ने गरेको कुुरामा हाम्रो असहमति छ,’ विज्ञप्तिमा भनिएको छ, ‘जनप्रतिनिधिबीच आपसी असमझदारी, बेमेल द्वन्द्व, स्वेच्छाचारी प्रवृत्ति, भ्रष्टचारका कारण धरानको विकास र समृद्विमा आँच आएमा दलहरू चुप लागेर नबस्ने समेत प्रष्ट पार्न चाहान्छौँ।’

नगर प्रमुख राईको ‘हर्क साम्पाङ ए रिभोलुसन’ नामक फेसबुक पेजमा विगतदेखि नै निरन्तर वडाअध्यक्ष, कार्यपालिका सदस्य, राजनीतिक दलहरूमाथि झुटो, कपोकल्पित र भ्रामक विषयहरू पोष्ट गर्ने र आफ्ना फेक आइडी र फलोअर्सहरूबाट अशिष्ट, अमर्यादित र अश्लील गाली गलौज गर्ने गराउने गरेको तथ्य रहेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ९ चैत २०७९ ११:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 2 =