दर्शक पर्खिरहेको इटहरी रंगशाला

विवेक विवश रेग्मी ८ चैत २०७९ ९:११
410
SHARES
दर्शक पर्खिरहेको इटहरी रंगशाला

इटहरी- प्यारापिटसहित वरिपरिका घरका छतबाट दर्शकले नियाल्दा कुनै बेला इटहरी गोल्डकप रोमाञ्चक हुन्थ्यो। इटहरीबाहिरबाट पनि उत्साहित हुँदै गोल्डकपमा दर्शकहरू सहभागी हुन्थे।

विगतका वर्षहरूमा देखिएका यी दृश्य अहिले बिरलै देख्न पाइन्छ। पहिले दर्शकको अभाव नझेलेको इटहरी रंगशालाले यसपटक भने दर्शक पर्खिरहेको छ।

इटहरीमा चार दिनअघिबाट सुरु भएको १३ औँ अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको क्वार्टरफाइनल समीकरण पूरा हुँदा प्यारापिटमा दर्शकको अभाव देखिएको छ।

क्वार्टरफाइनलमा अपेक्षित दर्शक नआए पनि सेमिफाइनल संस्करणबाट भने दर्शक आउने अपेक्षा आयोजकको छ।

यसअघिका वर्षहरूमा एकैदिन २ हजार ५ सयभन्दा बढी दर्शक आउने इटहरी रंगशालामा यसपटक भने एक हजारदेखि १ हजार ५ सयसम्म दर्शक आएको १३ औँ अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोडकपका संयोजक अनुरोध थापाले बताए।

‘पहिलाको तुलनामा दर्शक कम भए पनि अन्तिम क्वार्टरफाइनल खेलमा केही हदसम्म बढेका छन्,’ थापाले भने, ‘सेमिफाइनल खेलदेखि दर्शक बढ्छन् भन्ने आशा छ, यो बीचको तीन दिन झरीका कारण पनि समस्या भयो।’

उनका अनुसार इटहरी रंगशालामा कुल आठ हजार दर्शक अट्छन्। जसअन्तर्गत भीआईपी प्यारापिटमा ३ हजार ४ सय र नर्मल प्यारापिटमा ४ हजार ६ सय बढी दर्शक अट्छन्। ‘हामीले अर्को वर्षदेखि रात्रिकालीन फुटबल समेत गर्ने तयारी गरेर काम गरिरहेका छौँ,’ थापा भन्छन्, ‘इटहरीमा हुने अबका प्रतियोगितामा दर्शकको अभाव हुन नदिन पनि सोहीअनुसारको प्रचारप्रसार गरिरहेका छौँ।’ उनले धेरैजसो दर्शकलाई आयोजकले पास दिनुपरेका कारण पनि टिकट नै काटेर फुटबल हेर्ने दर्शक कम भएको हुन सक्ने बताए।

खेलकुद क्षेत्रमै रिपोर्टिङ गरिरहेका पत्रकार नमीन ढकालले कोशी प्रदेशका झापा र इलाममा मात्रै अपेक्षित दर्शक आउने बताए। ‘पछिल्ला खेलकुद प्रतियोगितामा पूर्वका झापा र इलाम बाहेकका अन्य ठाउँमा दर्शक कम हुँदै गएको पाइन्छ,’ ढकालले भने, ‘राष्ट्रियस्तरका खेलाडी टोल कपमा सहभागी हुँदा पनि दर्शकको अभाव भएको हो।’

नाम चलेका र राष्ट्रिय स्तरका खेलाडीहरू टोलमा भएका स-साना प्रतियोगितामा समेत सहभागी हुँदा दर्शक रंगशाला धाउन छाडेको उनको तर्क छ।

‘प्रायजसोः फुटबल सहर केन्द्रित पनि भयो, सहरमा मानिस व्यस्त हुने भएका कारण र टेलिभिजनबाटै लाइभ हुने भएकाले दर्शकले त्यहीँबाट मनोरञ्जन लिन्छन्,’ उनी भन्छन्, ‘गाउँ केन्द्रित खेल हुँदा दर्शक बढ्छन्, र खेलाडीले पनि आफ्नो स्तरलाई ‘मेन्टेन’ गर्न नसक्दा सहरमा भएका फुटबल प्रतियोगितामा दर्शक घट्दै गएका छन्।’

इटहरी रंगशालामा फुटबल हेर्न आएका स्थानीय जीपी तिवारीले आर्थिक मन्दी र व्यवसायीमा आएको निराशाले दर्शक अभाव भएको हुन सक्ने बताए। ‘अहिले व्यवसायीहरूको व्यवसाय राम्रो छैन, अधिकांश मानिसले फुटबल मनोरञ्जनका लागि हेर्छन्,’ तिवारीले भने, ‘आयोजकको व्यवस्थापन त राम्रो छ, सबैतिर सिटी रिक्सामार्फत प्रचार पनि पुगिरहेकै छ, तर आम मानिसमा उत्साह नै छैन।’

यसअघिका वर्षहरूमा गोल्डकप चल्दैछ भनेर सुन्नेबित्तिकै धेरैजसो मानिस टिकट काटेरै हेर्न जाने गरेको उनले बताए। उनले भने, ‘दर्शक अलिक कम हुनुमा हामीले पनि एक किसिमको विश्लेषण गर्दा बजारमा आर्थिक मन्दीका कारण पनि हुन सक्छ, यसपटक पहिलाजस्तो उत्साह नभएको हो कि भन्ने पनि छ।’

राष्ट्रिय जागृति क्लब इटहरीको आयोजनामा चैत ११ गतेसम्म हुने प्रतियोगितामा दर्शकका लागि एक सय रुपैयाँ र दुई सय रुपैयाँ टिकट दर तोकिएको छ। दुई विदेशीसहित आठ टिम सहभागी भएको प्रतियोगिताको विजेता टिमले नगद १० लाख र उपविजेता टिमले नगद ५ लाख रुपैयाँ हात पार्ने आयोजकले जनाएको छ।

प्रकाशित: ८ चैत २०७९ ९:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 4 =