कास्की : किसानलाई अनुदानमा कृषि उपकरण

हिमाल प्रेस ८ चैत २०७९ ७:२७
2
SHARE
कास्की : किसानलाई अनुदानमा कृषि उपकरण

कास्की- कास्कीको पोखरा महानगरपालिकाले कृषकलाई अनुदानमा कृषि उपकरण वितरण गरेको छ। महानगरले किसानलाई आधुनिक उपकरण वितरणका साथै उनीहरूलाई यसको प्रयोगबारे जानकारीसमेत दिएको छ।

चालु आर्थिक वर्ष २०७९/८० को बजेटबाट ५० प्रतिशत अनुदानमा विभिन्न उपकरण वितरण गरिएको पोखरा महानगरपालिकाका कृषि विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए। महानगरले हाते ट्र्याक्टर दुई सय ६१ थान, कम्बाइन मिल ६२ थान, थ्रेसर छ थान, ग्रास कटर एक सय आठ थान, पावर स्प्रे ३० थान, तेल पेल्ने मेसिन छ थान र ड्याङ बनाउने मेसिन २९ थान अनुदानमा उपलब्ध गराएको छ।

कृषि महाशाखाले पोखरा महानगरका २५ वडाका कृषकलाई मागका आधारमा ती उपकरण प्रदान गरेको हो। कृषिमा यान्त्रीकरण गरी उत्पादन बढाउने र लागत घटाउने उद्देश्यले महानगरले ती उपकरण अनुदानमा दिएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिए। किसानलाई खेती गर्न सहज होस् भनेर कृषि उपकरण प्रदान गरिएको हो।

‘किसानले गोरु पाल्न छाडे । परम्परागतरूपमा खेती लगाउँदा समय धेरै लाग्छ’, प्रमुख आचार्यले भने, ‘खेतीलाई सरल र सहज बनाउन कृषि उपकरण दिएका हौँ। यसले समय कम लाग्छ। खर्च पनि कम हुन्छ।’ कृषिमा यान्त्रीकरण, व्यावसायीकरण र बजारीकरण गर्नुपर्नेमा उनले जोड दिए। ‘कृषिमा यान्त्रीकरण गर्नसके लागत घट्छ, मुनाफा बढ्छ’, आचार्यले भने।

अनुदान सहयोगमा हाते ट्र्याक्टर प्राप्त गरेकी पोखरा महानगरपालिका–३३ की कृषक ज्योति गुरुङले समय र पैसा बचत हुने बताइन्। ‘गाउँमा हाते ट्र्याक्टर थिएन। पालो कुरेर अरूलाई बोलाउनुपर्ने अवस्था थियो। अनि एक घन्टाको एक हजार रुपैयाँसम्म तिरियो, अब पैसा र समय बचत हुने भयो’, उनले भने।

प्रकाशित: ८ चैत २०७९ ७:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + sixteen =