पुटिन र सीबीच युक्रेनमा युद्ध रोक्ने विषयमा छलफल

हिमाल प्रेस ७ चैत २०७९ १९:५४
32
SHARES
पुटिन र सीबीच युक्रेनमा युद्ध रोक्ने विषयमा छलफल मस्कोमा मंगलबार भेटवार्ता गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन

काठमाडौँ- रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका चिनियाँ समकक्षी सी चिनफिङबीच युक्रेनमा युद्धविराम गर्ने विषयमा कुराकानी भएको छ। सोमबार रुसी राजधानी मस्को पुगेका सीले त्यही दिन पुटिनलाई भेटेका थिए। तर औपचारिक वार्ता भने मंगलबार भएको हो। जहाँ चीनले केही समयअघि रुसले युक्रेनमा युद्धविराम गर्नुपर्छ भनेर राखेको प्रस्तावबारे छलफल भएको हो।

रुसले युक्रेनमाथि हमला थालेको एक वर्ष नाघिसक्यो। तर अहिलेसम्म रुसले युक्रेनमा भनेजस्तो सफलता हासिल गर्न सकेको छैन। न त युद्ध रोकिने नै छाँटकाट छ। हमलाको विरोधमा अमेरिका लगायतका पश्चिमा देशले रुसमाथि आर्थिक प्रतिबन्ध जारी राख्दा चीन पुटिन सरकारका लागि बलियो साझेदार बनेको छ। यहीबेला सी मस्को पुग्नुलाई रुसको कूटनीतिक सफलता मानिएको छ।

चीनले सीको रुस भ्रमणलाई युद्ध रोक्ने प्रयासका रुपमा प्रचार गरिरहेको छ। तर पश्चिमाहरू भने सीको भ्रमणलाई चीन र रुसको सन्देश मान्छन्। यो सन्देश हो, यी दुई ठूला पश्चिमाविरुद्ध एक कित्तामा उभिएका छन्।

पुटिन र सी सोमबार चार घण्टा गफिएका थिए। त्यसपछि सी र प्रतिनिधिमण्डलका लागि ‘डिनर’ आयोजना गरिएको थियो। यी दुई नेताले एकअर्कालाई प्रिय मित्र भनेर सम्बोधन गरेको रुसी सञ्चारमाध्यमले लेखेका छन्। सोमबारको अनौपचारिक भेटवार्तापछि मंगलबार पुनः दुई नेताको भेट भएको हो।

रुसमा छँदै सीले युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीलाई टेलिफोन गर्ने अनुमान गरिएको छ। युद्धविराम र शान्तिवार्ताको प्रस्ताव बोकेका सी मस्कोमा व्यस्त हुँदा जापानी प्रधानमन्त्री फुमियो किशिदा मंगलबार नै युक्रेनको राजधानी किभ पुगेका छन्।

मंगलबार दिभनर शान्तिवार्ताको सम्भावनाबारे बहस भइरहँदा रुस नियन्त्रित क्रिमियामा विष्फोट भएको छ। युक्रेनी रक्षा मन्त्रालयको दाबी अनुसार क्रिमियाको जानखोइमा रुसी क्षेप्यास्त्र विस्फोट भएको हो। यो क्षेप्यास्त्र रुसले युक्रेन हमलामा प्रयोग गर्न भनेर भण्डारण गरेको युक्रेनी दाबी छ।

युक्रेनको पूर्वी भागमा रुसी हमला जारी छ। रुसी युद्धकविमानले बम खसाल्न नछाडेको युक्रेनी सेनाले बताएको छ। रुसी फौज आजको दिनमा पनि डोनेस्क र लुहान्स्कसँग सीमा जोडिएका क्षेत्रमा प्रवेश गर्न प्रयासरत रहेको युक्रेनको भनाइ छ। डोनेस्क र लुहान्स्क प्रान्तका धेरैजसो क्षेत्रमा रुसी कब्जा छ।

कब्जा गर्न नसकेको केही क्षेत्रमध्ये एक हो, बाख्मुत। जहाँ रुसी फौजले फेरि एकपल्ट हमला सुरु गरेको छ।

अस्पष्ट योजना
रुसी प्रशासनिक केन्द्र क्रेमलिनका प्रवक्ता डिमिट्री पेस्कोभले पुटिन र सीबीच हमला कम गर्ने र आखिरमा युद्धविराम गर्ने विषयमा छलफल भएको पुष्टि गरे। ‘दुई नेताले आआफ्ना विचार राख्नुभयो। जे होस् यद्ध रोक्नेबारे गम्भीर छलफल भयो,’ पेस्कोभले भने।

पेस्कोभले थप जानकारी भने दिन मानेनन्। मंगलबार नै दोस्रो चरणको वार्ता भएपछि सबैकुरा विज्ञप्तिमात्र बाहिर आउने उनको भनाइ थियो।

चीनले युक्रेनमा युद्ध रोक्न १२ बुँदामा सुझाव दिए पनि स्पष्ट मार्गचित्र भने प्रस्तुत गर्न सकेको छैन। पश्चिमाहरूले चीनले यस्तो प्रस्ताव पुटिनसँग सल्लाह गरेर राखेको दाबी गरिरहेका छन्। युद्धमा अनपेक्षित नोक्सान भइरहेकाले पुटिन आफ्नो फौजलाई एकत्रित गर्दै नयाँ चरणको युद्धको तयारीमा लाग्न चाहेको र त्यसो गर्न समय लाग्ने भएकाले त्यतिन्जेलसम्मका लागि चिनियाँ प्रस्तावले विश्वलाई भुल्याउने रणनीति रहेको पश्चिमाहरुको दाबी छ।

रुसले गत फेब्रुअरीबाट युक्रेनमाथि हमला सुरु गरेको थियो। अहिले युद्धविराम भइहाले पनि युद्धमोर्चामा शान्ति छाउनेमा युक्रेन र अमेरिकाको शंका छ।

सीको रुस भ्रमणलाई लिएर अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले टिप्प्णी गरेका छन्। ‘रुसले युक्रेनमा युद्धअपराध गरेको छ। तर चीनलाई केही मतलब छैन,’ ब्लिन्केनले भनेका छन्, ‘रुसको आलोचना गर्न छाडेर चीन उसलाई कूटनीतिक साथ दिइरहेको छ।’

प्रकाशित: ७ चैत २०७९ १९:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 7 =