सबै मन्त्रालयमा साइबर विज्ञ राख्न माग

हिमाल प्रेस ७ चैत २०७९ १६:५७
12
SHARES
सबै मन्त्रालयमा साइबर विज्ञ राख्न माग

काठमाडौँ- सांसदहरूले प्रत्येक मन्त्रालयमा साइबरसम्बन्धी विज्ञ राख्‍न माग गरेका छन्। मंगलबार संसद्को दिगो विकास तथा सुशासन समितिको बैठकमार्फत सांसदहरूले सबै मन्त्रालयमा साइबरसम्बन्धी विज्ञ राख्न माग गरेका हुन्।

प्रविधिको प्रयोगमार्फत अपराध बढिरहेकाले सरकारले हरेक मन्त्रालयमा साइबरसम्बन्धी प्राविधिक राख्नुपर्ने सांसदहरूको तर्क थियो। प्रविधिको प्रयोगले अपराधिक गतिविधि बढेकाले त्यसको न्यूनीकरणका लागि सचिवसरहको साइबर विज्ञ राख्नुपर्ने सांसदहरूले बताएका हुन्।

साइबर अपराधलाई समयमा नै निर्मुल पार्न आवश्यक जनशक्ति पूर्ति गर्न पनि सरकारसँग माग गरेका छन्। समितिको बैठकमा बोल्दै सांसद बामदेव गौतमले साइबरसम्बन्धी विज्ञ प्रत्येक मन्त्रालयमा राख्नुपर्ने बताए।

पाठ्यक्रममा नै सुरक्षा व्यवस्थाबारे समावेश गरी अध्ययन, अध्यापन गराउनुपर्ने उनले बताए। सांसद गौतमले सुरक्षा व्यवस्था अवलम्वन नगरे कुनै पनि बेला देशलाई क्षति हुने बताए। ‘साइबरसम्बन्धी विज्ञ प्रत्येक मन्त्रालयमा राख्नुपर्छ। सरकारले ख्याल गर्नुपर्छ। प्रशासनिक र अन्य विषयलाई हेर्नका लागि हरेक मन्त्रालयमा एकजना सचिव हुन्छ। सचिवसरहकै प्राविधिक विज्ञ हुनुपर्छ,’ उनले भने, ‘जति पैसा तिरेर भए पनि राख्नुपर्छ। त्यसरी मात्रै साइबर सुरक्षा गर्न सकिन्छ। हामीले अब बौद्धिक क्षमतासँग सम्बन्धित विषयमा लैजान कक्षागत तहमा नै पाठ्यक्रममा नै सुरक्षा व्यवस्थाबारे समावेश गर्नुपर्छ।’

त्यस्तै नेकपा (माओवादी केन्द्र)का सांसद भुवनबहादुर सुनारले सरकारी निकायमा प्रयोग हुने सूचनाप्रविधिका उपकरण खरिदका लागि मापदण्ड बनाउन जरुरी रहेको बताए। प्रविधिको प्रयोग सम्बन्धमा समयसापेक्ष नीति तर्जुमा गर्नुपर्ने पनि उनले बताए।

सांसद सुनारले सरकारी निकायमा आवश्यक्ताका आधारमा वेबसाइट बनाएर प्रयोगमा ल्याउनुपर्ने, सरकारी वेबसाइट जस्तो महत्त्वपूर्ण विषयमा निश्चित मापदण्ड र नीति तर्जुमा गर्नुपर्ने र राष्ट्रिय सूचना नीति २०७३ लाई परिमार्जन गर्नुपर्ने बताए।

प्रकाशित: ७ चैत २०७९ १६:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =