राष्ट्रिय फुटबल टिममा छ नयाँ खेलाडी

हिमाल प्रेस ७ चैत २०७९ १५:०२
16
SHARES
राष्ट्रिय फुटबल टिममा छ नयाँ खेलाडी राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिस र कप्तान किरण कुमार लिम्बु मंगलबार प्रि–म्याच कन्फ्रेन्समा।

काठमाडौँ- नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले प्रधानमन्त्री त्रिदेसीय कपका लागि २३ सदस्यीय टिमको घोषणा गरेका छन्। दशरथ रंगशालामा बुधबारबाट सुरु हुने प्रतियोगिताका लागि राष्ट्रिय टिम घोषणा हुँदा छ नयाँ अनुहार परेका छन्।

पहिलो पटक राष्ट्रिय टिममा पर्ने खेलाडीमा गोलरक्षक अभिषेक बराल, रक्षक रन्दिप पौडेल, पदम भट्टराई र सनिस श्रेष्ठ, मिडफिल्डर मणिकुमार लामा, सुमित श्रेष्ठ र विंगर दीपकराजसिंह ठकुरी छन्।

अभिषेक सातदोबाटो युथ क्लबाट सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलिरहेका छन् भने सनिस र मणि नेपाल एपीएफ क्लबका हुन्। मनाङ मर्स्याङ्दी क्लबका तीव्र गतिका फरवार्ड सुमितलाई पनि टिममा बोलाइँदा सातदोबाटोकै दीपकले पनि पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका छन्। मनाङका फुलब्याक रन्दीप र एफसी खुमलटारका पदम भट्टराई पनि एनिसको नजरमा परेका छन्।

राष्ट्रिय टिमबाट खेलेका र घरेलु फुटबलमा स्थापित अन्य स्टार गरी दर्जनौँ खेलाडी विदेश पलायन भएपछि नयाँ मुख्य प्रशिक्षक एनिसको काँधमा नयाँ स्वरूपको राष्ट्रिय टिम निर्माण गर्नुपर्ने चुनौती आएको थियो। राष्ट्रिय टिममा एकैपटकमा धेरै खेलाडी परिवर्तन गर्न नसकिने भएकाले उपलब्ध अनुभवी खेलाडीसँगै नयाँ अनुहारलाई अवसर दिने बताएका थिए।

नियमित गोलरक्षक तथा कप्तान किरणकुमार लिम्बुले पनि टिममा पुनरागमन गरेका छन्। गत नोभेम्बरमा पाकिस्तानसँगको मैत्रीपूर्ण खेलमा किरण टिममा थिएनन्। भारतको घरेलु लिग आई–लिगमा व्यस्त रहेकाले दीप कार्कीले गोलपोस्ट सम्हालेका थिए। त्यसबेला दीपसँगै टिममा परेका विकेश कुथु र विशाल श्रेष्ठलाई बोलाइएको छैन।

एनिसले रक्षापंक्तिमा सनिस र पदमसँगै अनुभवी अनन्त तामाङ, विकास खवास, निशान खड्का र आदित्य चौधरीलाई स्थान दिएका छन्। यो सिजन लिगमा जावलाखेल युथ क्लबको कप्तानी गरिरहेका आदित्यले केही वर्षको अन्तरालमा टिममा पुनरागमन गरेका हुन्। देवेन्द्र तामाङ घाइते रहेकाले टिममा बोलाइएका छैनन्। नियमति रुपमा रक्षापंक्ति सम्हाल्ने गरेका दिनेश राजवंशी बिदेसिएकाले आदित्यसँग उनको स्थान लिने अवसर छ।

सेन्ट्रल मिडफिल्डमा रोहित चन्द, पुजन उपेरकोटी र एरिक विष्टसँगै मणिले स्थान सुरक्षित गरेका छन्। मणिले यो सिजन लिगमा दुई गोल गरिसकेका छन्। त्यसैगरी अट्याकिङ मिडफिल्डमा नवीन लामा, कमल थापा र भरत खवासलाई राखिएको छ। त्रिभुवन आर्मी क्लबका कप्तान भरतले पनि टिममा पुनरागमन गरेका हुन्।

अग्रपंक्तिमा नयाँ अनुहार दीपक र सुमितबाहेक आशिष चौधरी, आयुष घलान, नवयुग श्रेष्ठ, मनिष डाँगी र अन्जन विष्ट छन्। जारी लिगमा दीपकले चार गोल गरिसकेका छन् भने आशिषका नाममा दुई गोल छ। अन्जनले भने लिगमा खेल्न बाँकी छ।

नेपालले उद्घाटन खेलमा बुधबार लाओस र आउँदो मंगलबार भुटानसँग खेल्नेछ। लाओस र भुटानबीचको खेल शनिबार हुनेछ। फाइनल भने मार्च ३१ (शुक्रबार) हुनेछ।

नेपाली टिम 

गोलरक्षक : किरणकुमार लिम्बु (पञ्जाव एफसी), दीप कार्की (मनाङ मर्स्याङ्दी  क्लब), अभिषेक बराल (सातदोबाटो युथ क्लब)

रक्षक : सनिस श्रेष्ठ (एपीएफ फुटबल क्लब), विकास खवास (त्रिभुवन आर्मी फुटबल क्लब), अनन्त तामाङ (चर्च ब्वाइज क्लब), पदम भट्टराई (एफसी खुमलटार), आदित्य चौधरी (जावलाखेल युथ क्लब), निशान खड्का (संकटा क्लब)

मिडफिल्डर : पुजन उपेरकोटी (मछिन्द्र फुटबल क्लब), एरिक विष्ट (चर्च ब्वाइज युनाइटेड), नवीन लामा (एपीएफ फुटबल क्लब), रोहित चन्द (पेरसिक केडिरी), कमल थापा (मनाङ मर्स्याङ्दी  क्लब), मणिकुमार लामा (एपीएफ फुटबल क्लब)

फरवार्ड : आयुस घलान (संकटा क्लब), नवयुग श्रेष्ठ (त्रिभुवन आर्मी फुटबल क्लब), दीपकराज सिंह ठकुरी (सातदोबाटो युथ क्लब), अन्जन विष्ट (चर्च ब्वाइज युनाइटेड), आशिष चौधरी (चर्च ब्वाइज युनाइटेड), सुमित श्रेष्ठ (मनाङ मर्स्याङ्दी क्लब) र मनिष डाँगी (संकटा क्लब)

*यसअघि प्रकाशित समाचारको शीषर्कमा सात भएकाले सच्याइएको छ।

प्रकाशित: ७ चैत २०७९ १५:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =