गतवर्ष सञ्चय कोषको नाफा साढे ५ अर्ब, कर्मचारीलाई १० वर्षयताकै बढी लाभ

हिमाल प्रेस ६ चैत २०७९ २१:०५
928
SHARES
गतवर्ष सञ्चय कोषको नाफा साढे ५ अर्ब, कर्मचारीलाई १० वर्षयताकै बढी लाभ

काठमाडौँ- कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०७८/७९मा साढे ५ अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएको छ। गत आर्थिक वर्षमा ५ अर्ब ५६ करोड १६ लाख रुपैयाँ नाफा कमाएको हो।

सोमध्ये ४ अर्ब ६० करोड ४६ लाख रुपैयाँ सञ्चकर्तालाई वितरण गरिएको कोषले जानकारी दिएको छ। आर्थिक वर्ष २०६५/६६ देखि सञ्चयकर्तालाई मुनाफा वितरण गर्दै आएको कोषले सञ्चयकर्ताको बचत र कोषको नाफाको आधारमा मुनाफा वितरण गर्दै आएको छ।

कर्मचारीलाई दशकयताकै बढी लाभ

कोषमा रकम जम्मा गर्ने कर्मचारीलाई कोषले विगत १० वर्षयताकै बढी मुनाफा उपलब्ध गराएको छ। कोषले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफा बाँडफाँड कोषमार्फत आर्थिक वर्ष २०६८/६९ यताकै बढी मुनाफा दिएको हो।

सोबीचमा कोषले आर्थिक वर्ष २०७५/७६ मा मात्रै १.१५ प्रतिशत उच्च मुनाफा वितरण गरेको थियो। त्यस्तै आर्थिक वर्ष २०७४/७५ मा १.१ प्रतिशत र आर्थिक वर्ष २०७६/७७ मा १ प्रतिशत मुनाफा वितरण गरेको थियो।

उक्त वर्ष र गत आर्थिक वर्ष २०७८/७९ बाहेकका वर्षहरूमा कोषले कहिल्यै पनि १ प्रतिशतभन्दा बढी मुनाफा वितरण गर्न सकेको थिएन। गत आर्थिक वर्ष २०७८/७९ मा कोषमा रकम जम्मा गर्ने कर्मचारीले १.२ प्रतिशत मुनाफा पाएका हुन्।

उक्त मुनाफा विगत १० आर्थिक वर्षको तुलनामा अहिलेसम्मकै बढी हो। आर्थिक वर्ष २०६८/६९मा ०.७५ प्रतिशत मुनाफा वितरण गरेको कोषले गत आर्थिक वर्ष २०७८/७९ को उच्च मुनाफा १.२ प्रतिशत वितरण गरेको हो।

न्यून ब्याजदरमा कर्जा पनि

गत आर्थिक वर्ष २०७८/७९ मै कोषले कर्मचारीलाई एक दशकयताकै न्यून ब्याजदरमा सापट पनि उपलब्ध गराएको छ। विशेष सापटीअन्तर्गत कोषले विगत १० वर्षयताकै न्यून ब्याजदरमा सापट दिएको हो। गतवर्ष विशेष सापटीअन्तर्गत ७.६ प्रतिशत ब्याजदरमा सापटी उपलब्ध गराइएको छ। उक्त ब्याजदर विगत दशकयताकै न्यून हो।

सोभन्दा अघि विशेष सापटीमा आर्थिक वर्ष २०७७/७८, आर्थिक वर्ष २०७३/७४ र आर्थिक वर्ष २०७२/७३मा न्यूनतम ब्याजदरमा सापट उपलब्ध गराएको थियो। उक्त तीन आर्थिक वर्षमा कोषले ८.२५ प्रतिशत ब्याजदरमा सापट उपलब्ध गराएको कोषको विवरण छ।

उक्त तीन आर्थिक वर्षबाहेकका आर्थिक वर्षमा कहिल्यै पनि ९ प्रतिशतभन्दा कम ब्याजदरमा सापट उपलब्ध गर्न सकेको थिएन।

आर्थिक वर्ष २०६८/६९मा ९.२५ प्रतिशत ब्याजदरमा विशेष सापटी दिएको थियो। आर्थिक वर्ष २०७०/७१ मा र आर्थिक वर्ष २०७४/७५ देखि आर्थिक वर्ष २०७६/७७ सम्म विशेष सापटीको ९.५ प्रतिशत ब्याजदरमा सञ्चयकर्तालाई विशेष सापटी उपलब्ध गराइएको थियो।

कोषमा आबद्ध कर्मचारीहरूले पाउने मुनाफा सम्बन्धित कर्मचारीकै खातामा जम्मा गर्छ। कोषले सञ्चयकर्ताको खातामा रकम जम्मा गरेसँगै गत आर्थिक वर्ष २०७८/७९ का लागि कोषले सञ्चयकर्तासँग कर्जामा लिएको ब्याजभन्दा सञ्चयकर्तालाई कोषले दिएको ब्याज बढी भएको कोषले जानकारी दिएको छ।

गतवर्ष कोषले सञ्चयकर्तालाई विशेष सापटी योजनामा ७.६ प्रतिशत ब्याजदरमा कर्जा दिएको छ। सञ्चयकर्तालाई कोषले ६.५ प्रतिशत ब्याज दिँदै आएको छ। त्यसमा थप १.२ प्रतिशत मुनाफा दिएपछि सञ्चकर्ताले पाउने ब्याज बढी देखिन्छ।

औषधोपचारसहितका सुविधा

सञ्चय कोष ऐन २०१९ अनुसार कोष सञ्चालक समितिले प्रत्येक आर्थिक वर्षमा कमाएको नाफालाई सञ्चयकर्ता कल्याणकारी कोष, मुनाफा बाँडफाँड कोष, जगेडा कोषलगायतमा छुट्याउँदै आएको छ।

सञ्चयकर्ता कल्याणकारी कोषको रकमबाट औषधोपचार सोधभर्ना, सुत्केरी तथा स्याहार खर्च, काजकिरिया खर्च, दुर्घटना क्षतिपुर्तिलगायत रकम दिँदै आएको छ।

मुनाफा बाँडफाँड कोषमार्फत सञ्चयकर्ताको बचत र कोषले कमाएको नाफाको आधारमा मुनाफा रकम वितरण गरिन्छ। वितरण गरिने मुनाफा सम्बन्धित सञ्चयकर्ताको खातामा प्रत्येक वर्ष जम्मा गरिन्छ।

सोबाहेक कोषले सञ्चयकर्तालाई सुत्केरी तथा शिशु हेरचाह योजना उपलब्ध गराउँदै आएको छ। सो सुविधान प्रतिप्रसुती ७ हजार ५ सयका दरले वर्षमा २ पटक सम्म उपलब्ध गराउँदै आएको छ।

त्यस्तै काेषले काजक्रिया अनुदान खर्च पनि उपलब्ध गराउँदै आएको छ। सो खर्च सञ्चयकर्ताको मृत्यु भएमा मर्तकका हकवालालाई ४० हजार रुपैयाँ दिँदै आएको छ।

त्यस्तै दुर्घटना क्षतिपूर्ति योजनामा सेवाकालमा सञ्चयकर्ताको दुर्घटनामा परी मृत्यु भएमा वा अंगभंग भएमा २ लाख रुपैयाँ उपलब्ध गराउँदै आएको छ।

सञ्चयकर्तालाई औषधोपचार योजनामा सामान्य औषधोपचारमा वार्षिक १ लाख रुपैयाँ र घातक रोगको हकमा १० लाख रुपैयाँसम्म काेषले उपलब्ध गराउँदै आएको छ।

प्रकाशित: ६ चैत २०७९ २१:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 4 =