रुजबेल्टले सात दशकअघि नेपालमा पाएको त्यो सम्मान

सन्तोष खडेरी ६ चैत २०७९ १८:४३
1.4k
SHARES
रुजबेल्टले सात दशकअघि नेपालमा पाएको त्यो सम्मान नेपालका राजारानीका साथमा श्रीमती रुजबेल्ट र दी रोयल गजेट बमुृडा (२० मार्च १९५२ को अंक) मा प्रकाशित उनी नेपाल आएको समाचार।

१९५२ मार्च १९ मा पूर्वअमेरिकी प्रथम महिला इलेनोर रुजबेल्ट नेपाल भ्रमणमा आएकी थिइन्। उनी लोकप्रिय अमेरिकी राष्ट्रपति फ्र्यान्क्लिन डिल्यानो रुजबेल्टकी पत्नी हुन्। पूर्वअमेरिकी प्रथम महिलाका साथै उनी मानवअधिकारकर्मीका रूपमा समेत परिचित थिइन्।

संयुक्त राष्ट्रसंघको मानवअधिकार संस्थाको अध्यक्षका रूपमा उनले नै विश्वव्यापी मानवअधिकार घोषणापत्र जारी गरेकी थिइन्। उनी संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद्को संस्थापक अध्यक्षसमेत हुन्। यस्तै उनी संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद्‌मा संयुक्त राज्य अमेरिकाको प्रथम प्रतिनिधिसमेत भएकी थिइन्। त्यही समयमा सन् १९५१ को डिसेम्बर ३१ देखि सन् १९५२ को १ अप्रिलसम्म उनी विश्व भ्रमणमा निस्किएकी थिइन्।

रुजबेल्ट २७ फेब्रुअरीमा भारत आइपुगेकी थिइन्। भारतमा ओर्लिएदेखि उनले नेपाल आउने इच्छा व्यक्त गरेकी रहिछन्। अमेरिकासँग नेपालको कूटनीतिक सम्बन्ध स्थापना भए पनि नेपाल संयुक्त राष्ट्रसंघको सदस्य भएको थिएन। उनको भारत भ्रमणको संयोजन विजयालक्ष्मी पण्डितले गरेकी थिइन्।

नेपालमा अमेरिकी दूतावास खुलिसकेको थिएन। दिल्लीमा रहने अमेरिकी राजदूत नेपालका लागि समेत गैरआवासीय अमेरिकी राजदूत हुन्थे। नेपालमा अमेरिकी सहायता परियोजना ‘पोइन्ट फोर’ कार्यक्रमअन्तर्गत केही काम हुँदै थियो। युनाइटेड स्टेट्स अपरेसन मिसन प्रमुखका रूपमा पल रोज नेपालमा कार्यरत थिए। उनीहरूको कार्यालय रविभवनमा थियो। पल रोजले श्रीमती र छोरीलाई समेत नेपालमा ल्याएका थिए।

दिल्लीमा चेस्टर बउल्स अमेरिकी राजदूत थिए। श्रीमती रुजबेल्ट नेपाल आउनुभन्दा करिब एक महिनाअघि नै ती राजूतले ओहदाको प्रमाणपत्र बुझाएर फर्किएका थिए। अमेरिकामा पनि नेपाली दूतावास थिएन। नेपाली राजदूतबास लन्डनबाटै अमेरिका पनि हेरिन्थ्यो। लन्डनस्थित नेपाली राजदूत जनरल शंकरशमशेर जबरा थिए। दिल्लीस्थित नेपाली राजदूतमा लेफ्टिनेन्ट जनरल विजयशमशेर जबरा थिए। नेपालमा मातृकाप्रसाद कोइराला नेतृत्वको सरकार थियो।

रुजबेल्टको नेपाल भ्रमणको कार्यक्रम नेपालसमेत हेर्ने जिम्मेवारी पाएको दिल्लीस्थित अमेरिकी दूतावासले तयार पारेको थियो। श्रीमती रुजबेल्टले नयाँदिल्लीमा पहिले राजनीतिक भेटघाट गरिन्। त्यसपछि उनको भ्रमण भारतीय राज्यहरूको शैक्षिक संस्था, पर्यटकीय क्षेत्र र विश्वविद्यालय केन्द्रित थियो।

त्यसै क्रममा भारतको अलाहबाद हुँदै उनी काठमाडौँ ओर्लिएकी थिइन्। १९ मार्च १९५२ बुधबार सूर्यास्तको समयमा उनी सवार जहाज गौचर हवाईअड्डामा अवतरण भएको थियो। (दी रोयल गजेट बर्मुडा, २० मार्च १९५२) उनलाई स्वागत गर्न प्रधानमन्त्री मातृकाप्रसाद कोइराला, मन्त्रिपरिषद्का अन्य सदस्यसहित नेपाली अधिकारीहरू विमानस्थल पुगेका थिए।

राजा त्रिभुवनका तर्फबाट उनका सैनिक सचिव योगविक्रम राणा हवाईअड्डा पुगेका थिए। त्यतिन्जेलसम्म बेलायत, अमेरिका, भारत र फ्रान्ससँग मात्र नेपालको दौत्य सम्बन्ध थियो। बेलायत र भारतका नेपालमा आवासीय दूतावास थिए भने अमेरिका र फ्रान्सले दिल्लीबाट नेपाल हेर्थे।

रुजबेल्टलाई स्वागत गर्न हवाईअड्डामा भारतीय राजदूत सीपिनएन सिंह र ब्रिटिस राजदूत क्रिस्टोफर समरथेस पुगेका थिए। नेपालमा कार्यरत अमेरिकी सहायता परियोजना प्रमुख पल रोज श्रीमतीसहित स्वागतमा पुगेका थिए। श्रीमती रुजबेल्ट हवाईअड्डाबाट सोझै पल रोजको आवास रविभवन पुगेकी थिइन्। उनलाई बस्ने प्रबन्ध पनि त्यहीँ गरिएको थियो।

बेलुकी ७ बजे नेपालस्थित ब्रिटिस राजदूत क्रिस्टोफर समरथेस श्रीमती रुजबेल्टलाई भेट्न रविभवन पुगेका थिए। ८ बजे त्यहाँबाट राजदूत र श्रीमती रुजबेल्ट राजा त्रिभुवनलाई भेट्न गए। त्यसपछि राजा त्रिभुवनका साथ उनीहरू सिंहदरबारस्थित ग्यालरी बैठकमा जम्मा भएका थिए। जहाँ उनको सम्मानमा प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले रात्रिभोज आयोजना गरेका थिए। त्यहाँ नृत्य पनि देखाइएको थियो। सैनिकहरूले तरबारसहित प्रदर्शन गरेको विशेष नृत्यबाट आफू साह्रै प्रभावित भएको रुजबेल्टले उल्लेख गरेकी थिइन्। (ह्यान्फोर्ड मोर्निङ जनरल, ५ अप्रिल १९५२)

२० मार्चको बिहान उनले राणाकालीन भवन रविभवनको अवलोकन गरिन्। त्यसपछि उनी काठमाडौँका स्वयम्भू, पाटन र भक्तपुरका विभिन्न ठाउँ अवलोकन गर्न पुगेकी थिइन्। बिहानको खानाको व्यवस्था रोज दपम्तीले रविभवनमा गरेका थिए। दिउँसो रुजबेल्टको सम्मानमा नेपाल महिला संघले चियापान समारोह आयोजना गरेको थियो। त्यहाँ उनले नेपालका महिलाहरूसँग साक्षात्कार गरेकी थिइन्। रुजबेल्टलाई महिला संघकी अध्यक्ष मंगलादेवी सिंहले मानपत्र र केही उपहारसमेत अर्पण गरेकी  थिइन्। ती उपहारमा पस्मिनाको ओढ्ने, बुट्टा भएको सुन्दर हस्तीहाडको बट्टा र एउटा सानो खुकुरी थियो।

नेपाल महिला संघका प्रतिनिधिसँगको कुराकानीका क्रममा श्रीमती रुजबेल्टले आफ्नो देशका तर्फबाट नेपालका महिलाको उन्नतिमा यथासक्य सहायता दिलाउने आश्वासन दिएकी थिइन्। साथै नेपालका महिला शीघ्र प्रगति मार्गमा अग्रसर होऊन् भन्ने शुभकामना व्यक्त गरेकी थिइन्। (गोरखापत्र, २४ मार्च १९५२)

रोज दम्पतीले दिवाभोजमा केही युवा विद्यार्थीसँग समेत साक्षात्कार गरेकी थिइन्। तीमध्ये केही वैदेशिक सहायता परियोजनाअन्तर्गत पश्चिमा मुलुकहरूमा अध्ययनका लागि जान लागेका थिए। उनले आफ्नो नेपाल भ्रमणबारे डायरीमा सानो टिपोट गरेकी थिइन्। त्यसमा प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाप्रति उनको टिप्पणी थियो, ‘उनी असाध्यै सरल र सहज तरिकाले प्रस्तुत भए जसको व्यक्तित्वबाट मैले उनलाई एकदमै सक्षम र प्रगतिशील पाएँ।’ (ह्यान्फोर्ड मर्निङ जनरल, ५ अप्रिल १९५२)

उनी सोही २० मार्चको दिउँसो ३ बजे नेपाल भ्रमण सम्पन्न गरी गौचर हवाईअड्डाबाट कलकत्तातर्फ उडेकी थिइन्। रुजबेल्टलाई बिदाइ गर्न प्रधानमन्त्री मातृकाप्रसाद कोइरालासहित मन्त्रिपरिषद्का अधिकांश सदस्य हवाईअड्डा पुगेका थिए। नेपालका उच्च पदस्थ कर्मचारी, ब्रिटिस र भारतीय राजदूत पनि बिदाइमा सहभागी थिए। राजा त्रिभुवनका प्रतिनिधिका रूपमा उनका सैनिक सचिव योगविक्रम राणा उनलाई बिदा गर्न हवाईअड्डा पुगेका थिए।

श्रीमती रुजबेल्टले  त्यतिबेला पाकिस्तानको पनि भ्रमण गरेकी थिइन्। उनको भ्रमणलाई सबै मुलुकले निकै महत्त्व दिएका थिए। भारतमा उनलाई दिल्लीबाट अलाहबादतर्फ बिदा गर्दा प्रधानमन्त्री नेहरू आफैँ रेल्वे स्टेसनमा पुगेका थिए। अमेरिकाको कुनै कार्यकारी भूमिकामा नरहेकी ती महिलालाई प्रधानमन्त्री मातृकाप्रसाद कोइराला स्वागत र बिदाइ गर्न आफैँ हवाईअड्डा पुग्नु आफैँमा महत्त्वपूर्ण थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =