ललितपुरमा अव्यवस्थित तार हटाउन कार्यदल

हिमाल प्रेस ६ चैत २०७९ १२:३०
6
SHARES
ललितपुरमा अव्यवस्थित तार हटाउन कार्यदल

ललितपुर– ललितपुर महानगरपालिकाभित्र अव्यवस्थित तार व्यवस्थापन गर्न महानगरका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यको संयोजकत्वमा कार्यदल गठन गरिएको छ। ललितपुर महानगरले तार व्यवस्थापनका लागि सरोकारवालासँग आइतबार आयोजना गरेको बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको हो।

कार्यदल सदस्यमा विद्युत् प्राधिकरण, नेपाल टेलिकम, इन्टरनेट सेवा प्रदायक संस्था, नेपाल प्रहरी, दूरसञ्चार प्राधिकरणका प्रतिनिधि संलग्न थिए।

कार्यदलको सदस्य सचिवको जिम्मेवारी नगर प्रहरी बललाई दिइएको छ। कार्यदलले मछिन्द्रनाथको रथ जात्रा हुने स्थान र कुपण्डोलदेखि सातदोबाटोसम्मको मूल सडकको अव्यवस्थित तार एक महिनाभित्र हटाउनेछ।

यसअघि महानगरको चारवटा अशोक स्तूप क्षेत्र वरपर, कुम्भेश्वर मन्दिर परिसर, पाटन दरबार क्षेत्र र रातो मछिन्द्रनाथको रथ निर्माण गरिने ठाउँमा रहेका तार व्यवस्थापन भइसकेको छ। नगर प्रमुख चिरीबाबु महर्जनले गुजुल्टिएको तारमा आगो लागेको घटना धेरै सुनेको बताउँदै नगर र नगरबासीको सुरक्षाका लागि तत्काल हटाउनुपर्ने बताए।

तारका कारण सहर कुरुप भएको बताउँदै उनले भने, ‘नगर र नगरवासीको सुरक्षा पहिलो हो। यी तारले स्मार्ट सिटी बनाउने हाम्रो अभियानमा बाधा पु¥याएको छ।’ महर्जनले पहिलो चरणअन्तर्गत तोकिएको समयअघि नै तार व्यवस्थापन गरेकोमा धन्यवाद दिए।

प्रकाशित: ६ चैत २०७९ १२:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =