प्रधानमन्त्रीले विश्वासको मत लिँदै, यी दलले दिँदैछन् मत

हिमाल प्रेस ६ चैत २०७९ ७:१०
4
SHARES
प्रधानमन्त्रीले विश्वासको मत लिँदै, यी दलले दिँदैछन् मत

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन्। प्रचण्ड प्रधानमन्त्री बनेपछि आज दोस्रो पटक विश्वासको मत लिँदैछन्। यसअघि २६ पुसमा पनि संसद्बाट विश्वासको मत लिएका थिए।

नेकपा एमालेसहित राप्रपाले सरकारलाई दिएको आफ्नो समर्थन फिर्ता लिए पछि उनले विश्वासको मत लिन लागेको हुन्।

विश्वासको मतमा प्रधानमन्त्री प्रचण्डलाई ११ दलले समर्थन जनाउने यसअघि नै घोषणा गरेका छन्। आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीले पनि विश्वासको मत दिने जनाएपछि दलको संख्या ११ पुगेको छ।

जसअनुसार १० दलीय गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी, स्वतन्त्र सांसद अमरेश सिंहलगायतले विश्वासको मत दिने जनाएका हुन्। उता, गठबन्धन बाहिरको रास्वपाले पनि विश्वासको मत दिने आइतबार निर्णय गरिसकेको छ।

प्रधानमन्त्रीले विश्वासको मतका लागि १३८ सांसदले पक्षमा मतदान गर्नुपर्नेछ। अहिलेसम्म माओवादीका ३२, कांग्रेसका ८८, रास्वपाका १९, जसपाका १२, नेकपा एसका १०, जनमतका ६, नागरिक उन्मुक्तिका ४, लोसपाका ४, जनमोर्चाका १, नेसपाका १, आम जनताका १ सांसदले विश्वासको मत दिने सम्भावना छ।

नेकपा एमाले, राप्रपा, मजदूर किसान पार्टी (नेमकिपा)का सांसद भने प्रतिपक्षमा छन्। एमालेसँग ७९, राप्रपासँग १४ र मजदुर किसान पार्टीसँग १ सांसद छन्।

संविधानको धारा १०० (२) मा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने उल्लेख छ। १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले यसअघि २६ पुसमा संसद्को विश्वास लिएका थिए।

प्रकाशित: ६ चैत २०७९ ७:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − three =