फेवातालमा पुराना डुंगा : थप्दै चुनौती, मास्दै सुन्दरता

हिमाल प्रेस ५ चैत २०७९ २०:२३
6
SHARES
फेवातालमा पुराना डुंगा : थप्दै चुनौती, मास्दै सुन्दरता

पोखरा- पर्यटकीय नगरी पोखराको गहनाको रूपमा लिइने फेवातालका सन्दर्भमा निकै सुन्दर गीत तथा साहित्य सिर्जना भएका छन्। आन्तरिक तथा बाह्य पर्यटकको उत्कृष्ट गन्तव्यको रूपमा रहेको फेवातालमा डुंगा सयर गरेर पर्यटकले निकै आनन्द लिने गर्छन्। जति हेरे पनि नथाकिने फेवातालको सुन्दरतामा माछापुच्छ्रेको छाँया प्रकृति प्रेमीका लागि निकै लोभलाग्दो दृश्य हो।

फेवातालमा डुंगामा सयर गर्दै माछापुच्छ्रेलगायत हिमशृंखलाको सुन्दर दृश्य तालमा हेरेर फर्कन पर्यटक निकै लालायित हुने गर्छन्। यद्यपि पछिल्लो समय भने यही सुन्दर ताल छेउमा अस्तव्यस्त पुराना डुंगाले फेवातालको सुन्दरतालाई घटाइरहेको छ।

लामो समय भएका काठका डुंगा ताल किनारमा बेवारिसे अवस्थामा रहँदा तालको सुन्दरतामा असर परिरहेको लेकसाइड निवासी साहित्यकार लक्ष्मण थापा बताउँछन्। ‘फेवातालको सुन्दरता बेचेर धेरै बाँचेका छन्, पोखराको गहना फेवातालको छेउछाउमा पुराना डुंगालाई बेवारिसे छोडिनु गैरजिम्मेवारपन हो,’ उनी भन्छन्।

पछिल्लो समयका गतिविधि हेर्दा फेवातालको सुन्दरतासँगै ताल पुरिने जोखिम पनि बढेको उनी बताउँछन्। ‘यसरी नै पुराना डुंगा अस्तव्यस्त छाड्ने हो भने कालान्तरमा फेवातालले आफ्नो अस्तित्व जोगाउन सक्दैन,’ उनी भन्छन्।

फेवाताल किनारमा रहेका डुंगा वर्षायाममा पानीको सतह बढ्दा तालभित्र हराउने हुँदा ताल पुरिने जोखिम पनि बढ्दै गएको उनको भनाइ छ। योसँगै थापाले फेवातालसँगै जोडिएको भक्कल भन्ने ठाउँमा सिमपानीको चिसा खोलाले बगाएर ल्याएको माटो फेवातालमा मिसिँदा पनि ताल पुरिने जोखिम बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरे।

फेवा डुंगा व्यवसायी संगठनका अध्यक्ष बलराम गिरीले बेवारिसे अवस्थामा ताल किनारमा रहेका डुंगालाई वैशाखभित्र व्यवस्थापन गरिने बताए। ‘हामीले हालै बैठकबाट यही विषयमा निर्णय गरेका छौँ,’ उनले भने, ‘चैत २० गतेबाट अनुगमन गर्छौं र वैशाखभित्र ताल किनार र तालभित्र रहेका डुंगाको व्यवस्थापन गर्नेछाैँ।’

उनका अनुसार अहिले फेवा तालमा आठ घाटबाट (बाराही घाट, स्वीमिङ घाट, गौरीघाट, अम्मटघाट, फिस्टेलघाट, फेवाघाट, बङ्लादी घाट, पारिघाट) डुङगा सञ्चालन हुँदै आएको छ।

फेवातालका लागि सात सय ६७ डुंगा सञ्चालित छन्। बाराही घाटबाट धेरै डुंगा सञ्चालन हुने गर्छ। फेवाताल किनारमा बेवारिसे अवस्थामा रहेका करिब एक सय पचासदेखि दुई सयसम्म डुंगा हुन सक्ने उनको अनुमान छ।

अनुगमनबाट सम्बन्धित डुंगाधनीलाई त्यसको उचित व्यवस्थापनका लागि पहल गर्न लगाउने तयारी भएको उनले बताए। ‘हामीले डुबाएर राखेका डुंगालाई निकाल्ने मर्मतपछि प्रयोगमा ल्याउन मिल्नेलाई त्यहीअनुसार र नमिल्नेलाई तालबाहिर सम्बन्धित डुंगा धनीलाई नै व्यवस्थापन गर्न लगाउने गरी निर्णय गरेका छौँ,’ गिरीले भने।

पोखरा महानगरपालिका-६ का वडाध्यक्ष विष्णुप्रसाद भट्टराईले फेवाताल किनारमा देखिएका पुराना डुंगा व्यवस्थापनका लागि सम्बन्धित डुंगा व्यवसायीलाई एक महिनाको समय दिइएको बताए। ‘फेवाताल किनारका बेवारिसे डुंगाको विषयलाई लिएर कुरा आएको छ,’ उनलेभने, ‘हामीले त्यसको व्यवस्थापनका लागि एक महिनाको समय दिएका छौँ। त्यो समयभित्र उहाँहरूले त्यसको व्यवस्थापन गर्नुभएन भने वडाले नै व्यवस्थापन गर्छ।’

व्यवसायीले आफ्नो प्रयोगविहीन डुंगा ताल छेउमा राख्दा तालको सुन्दरतामा असर परेकोप्रति वडाले चासो दिएको पनि उनको भनाइ थियो। फेवातालको मुख्य स्थानमा सरसफाईका लागि दुई कर्मचारी राखेर नियमित सफाइ कार्य गरेको र ताल छेउका व्यवसायीलाई पनि ताल र आसपास क्षेत्रमा फोहर नफाल्न सचेत गराइएको अध्यक्ष भट्टराईको भनाइ थियो। रासस

प्रकाशित: ५ चैत २०७९ २०:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − five =